
काठमाडौँ : कुपण्डोलको एनआइबीएल फ्रेण्ड्स क्लबले पल्सर सहिद स्मारक लिग-२०७५ मा पहिलो जित हात पारेको छ।
सुरुवाती तीन खेलसम्म अंकविहिन रहेको फ्रेण्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँड्दै पहिलो अंक जोडेको थियो। तैपनि फ्रेण्ड्स जितविहिन थियो।
पाँचौ चरणको खेलमा आइतवार मछिन्द्रलाई ३-० ले पराजित गर्दै फ्रेण्ड्सले पहिलो जित हात पारेको हो। मछिन्द्र भने अझै जितविहिन छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमाको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपनि फ्रेण्ड्सले दोस्रो हाफमा दुई गोल गर्यो। ६६औँ मिनेटमा फोफाना ब्राहिमनले फ्रिकिक मार्फत गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाए। ८४औँ मिनेटमा संजोग महर्जनले गोल गर्दै फ्रेण्ड्सको अग्रता दोब्बर पारे। इन्जुरी टाइमको छैटौँ मिनेटमा अनिल महर्जनले गोल थपेपछि फ्रेण्ड्सले पहिलो जित हात पार्यो।
मछिन्द्रलाई हराएपछि पाँच खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स अंकतालिकामा नवौँ स्थानमा यक्लेको छ। पाँच खेलबाट २ अंक रहेको मछिन्द्र १२औँ स्थानमा छ।
लिग अन्तर्गत आजै त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ। यी दुई खेलपछि पाँचौ चरणको सबै खेल सकिनेछ।