
'मेरो रहर ब्युँझिएर, तिम्रो छेउ आई हाँसे,
केही रहर बिन्ती छ, तिमीले पनि सम्हाली राख्नु'
यो गीतसँगै एकल साँझमा गुञ्जिए संगीतकार प्रकाश गुरुङ। सांगीतिक यात्राको ५० वर्ष पुरा भएको अवसरमा प्रकाशले 'स्वर्णिम सन्ध्या' आयोजना गरेका थिए।
उनले गाएको 'मेरो रहर'मा शिवशंकर थापाको शब्द छ। आफूले संगीत भरेका गीतहरुमा प्रकाशलाई यो गीत निकै मनपर्छ। त्यसैले त उनी जहाँ पनि गाउन बसिहाल्छन् 'मेरो रहर ब्युँझिएर'। गीतको असली गायक भने ओमबिक्रम विष्ट।
स्वर्णिम सन्ध्यामा उनको दोस्रो प्रस्तुति थियो, 'तिमीलाई फूलको उपमा'। उनले गीत गाउँदै गर्दा पछाडी स्क्रिनमा घुमिरहन्थ्यो प्रकाशका नयाँ/पुराना तस्वीर। गायनभन्दा संगीतममै रुचि बढी रहेको उनी बताउँछन्, 'म गायक होइन। आफूलाई संगीतकार भन्न रुचाउँछु। तर गाउन छोड्दिन।'
'आवाजले साथ दिएको छैन, प्रयास हो' दर्शकदीर्घ केन्द्रीत हुँदै गाए अर्को गीत 'केहि ल्याउन सकिन'। हार्मोनियमतर्फ हात अघि सार्दै उनले पुराना दिन सम्झे, 'त्योखेर यो स्टेजमा 'रमाइलो साँझ' भन्ने कार्यक्रम चल्दै थियो। एकजना भाइले गीत गाए। खुब जम्यो। दर्शकले 'वान्स मोर' भन्दै थिए। गायन सकेर ती भाइले मेरो अघि आएर घमण्ड गर्यो। हेरौं कसले जमाउन सक्छ यसरी। त्यसपछि जुर्मुरिँदै गितार लिएर स्टेजमा मैलै यो गीत गाएको थिएँ। आज यहि स्टेजमा फेरि गाउँदैछु।'
शब्द शिव शंकरकै हो। त्यसपछि प्रकाशले 'सबै आफ्नो भन्नु मात्रै', 'म सम्झन्थें', 'जोवन यसै बितिगयो', 'मेरी मायालु', 'बिन्ती छ है ओठमा अल्झिएको', 'कहिले छायाँसँग बसें', 'यस्तो पनि के जिन्दगी'लगायत अन्य गीतहरु गाए। कार्यक्रममा उनलाई तमु कलाकार संघ र साधना कला केन्द्रले सम्मान गर्यो। साधनामा प्रकाशले २६ वर्ष प्रशिक्षणमा विताएका थिए।
बुबाको एकल साँझका लागि अमेरिकादेखि आएकी छोरी रीमा गुरुङले पनि प्रकाशसँग स्टेजमासँगै गाइन्। त्यस्तै कार्यक्रममा साधना कला केन्द्रमा संगीत सिकाउँदै आएकी गायत्री त्रिपाठीले 'मग मग' बोलको गीत गाइन्। रीमाले कार्यक्रममा आफ्नो नयाँ गीत पनि सार्वजनिक गरिन्। कार्यक्रममा कुन्ती मोक्तान, सुक्मित गुरुङ, शीलाबहादुर मोक्तान उपस्थित थिए।
देउसी भैलोमा गीत गाउँदा विक्रम सुब्बाको नजरमा परेर गायन क्षेत्रमा पसेका हुन् प्रकाश। विक्रमले नै उनलाई हिमालयन कला मन्दिरमा गोपाल योञ्जन कहाँ पुर्याइदिएका थिए। त्यहाँबाट सुरु भएको उनको यात्रा स्वर्णिम गन्तव्यमा पुगेको छ।