
पिएरे एमरिक ओवामेयाङको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरलाई पराजित गरेको छ।
दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको टोटनहमलाई आर्सनलले घरेलु मैदानमा ४-२ ले पराजित गरेको हो।
एतिहाड स्टेडियममा खेलको दशौँ मिनेटमा ओवामेयाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ३०औँ मिनेटमा एरिक डायरले टोटनहमका लागि बराबरी गोल फर्काए भने त्यसको चार मिनेटपछि हेयारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्दै तीन गोल गर्यो। ५६औँ मिनेटमा औवामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए।
७५औँ मिनेटमा वैकल्पिक खेलाडी अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३-२ को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै यसै सिजन लण्डन भित्र्एका लुकास टोरेइराले आफ्नो पहिलो लिग गोल गरेपछि आर्सनलले ४-२ को अग्रता बनायो। ८५औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै जान भर्टोनगन मैदान बाहिरिएपछि टोटनहम दश खेलाडीमा जरेको थियो।
यस जितपछि टोटनहमलाई नै गोलअन्तरमा पछि पार्दै आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। १४ खेलबाट आर्सनल र टोटनहमको समान ३० अंक छ। तर गोलअन्तरमा आर्सनल अगाडी छ। आजै भएको अघिल्लो खेलमा फुलहमलाई हराउँदै चेल्सी तेस्रो उक्लेपछि टोटनहम चौथोमा झरेको थियो। अब टोटनहम पाँचौमा झरेको छ।