
काठमाडौं : एउटा विवादित संस्थाको सम्मेलन काठमाडौंमा आइतबार सकियो। सम्मेलन सकिनु अगाडि एउटा अनौठो दृश्य देख्न पाइयो।
क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले युनिफिकेसन चर्च स्थापना गरे। यही चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चा माताले आशिर्वाद दिँदै एक लाख डलर राशीको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्ड प्रदान दिइन्।
युनिफिकेशन चर्चका संस्थापक मुनले सन् २००५ मा ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ नामको संस्था बनाए जुन विवादास्पद आइएनजिओ हो।
कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मुनको सन् २०१२ मा निधन भयो। उनको निधनपछि उनकी श्रीमती हक जा हान मुन ‘म्याडम डाक्टर मुन’ले युनिफिकेशन चर्च र युपीएफको नेतृत्व गर्दै आएकी छिन्।
‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ भन्ने दाबी गर्ने मुनले आफ्ना अनुयायीहरुको जीवन सार्थी चुन्ने अधिकार आफूले राखेका थिए। उनको आर्शिवादविना विवाह सम्पन्न नहुने प्रचलन छ। विवाह पनि उनीहरुको अनुमतिविना हुँदैन। मुन ‘म्याचिङ’ विना विवाहसमेत हुन सक्दैन।
उनले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दावी उनको थियो।
विवाह गरे हुन्छ भनेर मुनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मुनको युनिफिकेसन चर्चको निर्देशन छ। जसमध्ये एउटामा नवविवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ।
कसैले विवाह गरिसकेका छन् भने पनि उनीहरुले मुनसँग आर्शिवाद लिएपछि मात्र यो विवाहले मान्यता पाउने प्रावधान आफ्ना अनुयायीहरुलाई लगाइएको छ। युनिर्भसल चर्चले आयोजना गर्ने हरेक कार्यक्रमको मुख्य पाटो भनेको ‘सच्चा आमाको आर्शिवाद’ हो।
यसका हरेक कार्यक्रममा विवाह हुनु वा विवाह गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शिवाद दिनु हो। ‘होली वाइन’ खाएर सच्चा आमाको आर्शिवाद लिएपछि उनीहरु पापमुक्त हुन्छन् र यसरी पापमुक्त भएका जोडीबाट जन्मेका सन्तान असल र शान्तिका अग्रदुत हुन्छन् भन्ने विश्वास आफ्ना अनुयायीहरुलाई दिलाइएको छ।
काठमाडौंमा होली वाइन खानेको लर्को


कार्यक्रममा ८ जोडी जनप्रतिनिधिहरु मञ्चमा पुगेर आर्शिवाद लिए भने सयौँ सर्वसाधरण आफ्नो स्थानबाट आर्शिवाद थापे।
यसरी ‘सच्चा माताको आर्शिवाद’ दिन अगाडि सबैलाई ‘पवित्र जल’ खुवाइयो। जसलाई होली वाइन भनिन्छ। त्यसपछि श्रीमतीलाई अघि सारेर पवित्र जल अभिषेक गरियो। र सबैलाई ‘डक्टर म्याडम मुन’ले आर्शिवाद दिइन। यसरी आर्शिवाद लिनु युनिफिकेशन चर्चमा सामेल हुनु पनि हो।
के हो होली वाइन?
युनिफिकेसन चर्चले आफ्ना अनुयायीहरुलाई निर्देशन नै बनाएको छ। त्यस निर्देशनको आर्शिवाद तथा आदर्श परिवार खण्डमा वैवाहिक समारोहलाई राखिएको छ।
युनिफिकेशन चर्चका अनुयायीहरुका लागि विवाहका तीन चरण उल्लेख छ। ‘इन्गेजमेन्ट’, ‘होली वाइन समारोह’ र विवाह समारोह।
इन्गेजमेन्टको समयमा ‘आदम’ र ‘इभ’लाई राखिएको छ। बाइबलअनुसार सृष्टिका पहिला पुरुष 'आदम' र महिला 'इभ' थिए। 'इभ'ले नखानू भनेको स्याउ टिपेर 'आदम'सित बाँडेर खाएको हुन्छ। त्यही पापमा उनीहरुलाई 'गार्डेन अफ इडन'बाट निष्कासन गरिन्छ।
आफ्ना पाप पखाल्नका लागि ‘होली वाइन’ समारोहमा सरिक हुनुपर्छ भन्ने मान्यता खडा गरिएको छ। यो समारोहमा सरिक नभए आफ्नो पाप पखाल्न सकिँदैन्। यदि यो पाप नपखालिए सच्चा सन्तान प्राप्त गर्न सकिँदैन। यो समारोहलाई ‘सैतान’ (राक्षस) बाट भगवानमा परिवर्तन हुने समारोहको रुपमा लिइएको छ।

होली वाइन समारोहमा नयाँ जीवन पद्धती अपनाउने र सच्चा अभिभावक (ट्रु प्यारेन्ट) बन्ने पाटो तर्फ लाग्ने वाचा पनि हो।
‘मलाई जन्म दिने अभिभावक मेरा सच्चा अभिभावक होइनन् र मेरा भाइहरु पनि मेरा सच्चा भाइहरु होइनन्। भगवानले जे चाहेका छन् त्यसलाई प्राप्तिका लागि म पुरानो धरातललाई त्यागेर एउटा नयाँ धरातलमा व्यूझिनु आवश्यक छ। यो हाम्रो विश्वासबाट मात्र आउँदैन्। त्यसका लागि हामीले एउटा प्रतिवद्धता पूरा गर्नुपर्छ। जुन होली वाइन सेरेमोनी हो,’ युनिफिकेशन चर्चको निर्देशनमा भनिएको छ।
के बाट बन्छ होली वाइन?

होली वाइनमा हरेक बस्तु र तहको प्रतिनिधित्व गर्ने २१ वटा तत्वहरु समावेश गरिएका हुन्छ। 'अभिभावकको मायाको सांकेतिक तत्वहरु समावेश हुन्छन्। त्यस्तै रगतको संकेतसमेत भएको केही बस्तु हुन्छ। जब तपाईँले यसलाई पिउनुहुन्छ। तपाई तपाईँ आफ्ना अभिभावकको माया र अभिभावकको रगतसँगै एक शरीर हुन सक्नुहुन्छ,' निर्देशनमा भनिएको छ, ‘होली वाइनमा पृथ्वी, समुन्द्र र स्वर्गको सांकेतिक तत्वका साथै सम्पूण जगतको सांकेतिक तत्व समावेश हुन्छ।'
होली वाइनमा तीन प्रकारका रक्सी हुन्छन्। यसभित्र सबै तत्वको सांकेतिक बस्तुहरु समावेश हुन्छन्। यो पिउनका तत्विक अर्थ शरीरसँगै आत्ममा पनि जन्म लिनु हो।
जो व्यक्तिले होलीवाइन पिउन अस्वीकार गर्छ त्यो व्यक्ति राक्षसभन्दा पनि खतरनाक स्थानमा पुग्ने दाबी गरिएको छ। ‘होली वाइन’मा अभिभावकको मासु र रगत पनि मिसाइएको भनेर दाबी युनिफिकेशन चर्चको निर्देशनमा भनिएको छ।
त्यस्तै ‘होली वाइन’ ‘वाइन अफ लव’, ‘वाइन अफ हेभन’ र ‘आमाको दूध’को रुपमा पनि प्रस्तुत गरिएको छ।
नेपालमा कसले दिन्छ आर्शिवाद?
युनिफिकेशन चर्च र विवादित आइएनजिओ युपिएफमा आवद्ध सबैले विवाह अगाडि यो होली वाइन खानै पर्छ। नेपालमा पनि यसको शाखा छ। यो चर्चसँग आवद्ध नेपालीहरुले पनि अरुले जस्तै आफू खुसी विवाह गर्न पाउँदैनन्। युनिफिकेशन चर्चमा आवद्ध सबैले विवाहपूर्व आफ्ना ‘लिडर’ले म्याचिङ गरेपछि मात्र विवाह गर्न पाउँछन्। पहिला विवाहका लागि म्याचिङको काम मुनले नै गर्दै आएका थिए।
शाखा विस्तार र संगठन ठूलो हुँदै गए पनि यो काम मुनले मात्र नभ्याएपछि ‘लिडर’ बनाइए। नेपालमा दुई जना लिडरहरु छन्। एक हुन पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता एक नाथ ढकाल र अर्का सन्तोष पौडेल। नेपालमा युनिफिकेशन चर्चमा आवद्धहरुको जोडी यी दुई जनाले म्याचिङ गर्दै आएका छन्।
उनीहरुले म्याचिङ गरिदिएपछि विवाहित जोडीलाई व्लेसिङ पनि यिनीहरुले नै दिन्छन्। उनीहरुले म्याचिङ नगरी विवाह भए पनि यसलाई मान्यता दिइँदैन।