PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुर्खेतका जनप्रतिनिधि हुइकिन्छन् स्कारपियोमा, भन्छन् ‘एम्बुलेन्स किन्न बजेट छैन’



पी बी खड्का

सुर्खेतका जनप्रतिनिधि हुइकिन्छन् स्कारपियोमा, भन्छन् ‘एम्बुलेन्स किन्न बजेट छैन’

सुर्खेतः जनताको सेवा, सुविधा र हितमा काम गर्ने भन्दै कसम खाएर निर्वाचित भएका जनप्रतिनिधि आफ्नै सेवासुविधा बढाउन लागी परेका छन्। अधिकांश जनप्रतिनिधि यसका उदाहरण बनेका छन्। 

स्थानीयस्तरमा एम्बुलेन्स छैन। जसका कारण समयमा उपचार नपाएर कतिपयको मृत्यु भएको छ। निर्वाचित भएको डेढ वर्ष नाघ्दा पनि जनप्रतिनिधिले भने यी समस्यामा चासो दिएको देखिँदैन।   

१०–१५ लाखको एम्बुलेन्स किन्न बजेट छुट्ट्याउन नसक्ने स्थानीय तह लाखौँ रकम खर्चेर गाडी किनिरहेका छन् भने कार्यालयकै नाममा रहेका २÷४ वटा मोटरसाइकलसमेत प्रयोग गरिरहेका छन्। 

सुर्खेतका सबै स्थानीय तहले कार्यालयका लागि एक एक वटा गाडी किनिसकेका छन् भने अझै एउटा गाडी थप्ने योजनामा छ पञ्चपुरी नगरपालिका। पञ्चपुरीका प्रमुख र उपप्रमुख ४२ लाखको स्कारपियो चढ्छन्। गाडी अपुग भएको भन्दै अर्काे गाडी किन्न सूचनासमेत निकालिसकेको छ नगरपालिकाले।  गाडी किन्न करिब ४५ देखि ५० लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले बताइन्। 

‘नगरपालिकामा हामी नआउँदै पिएजसी सालकोटमा र वावियाचौरमा एक एक गरी दुई वटा एम्बुलेन्स थियो,’ उनले भनिन्, ‘अहिले ४२ लाखको एउटा स्कारपियो प्रयोग गर्दै आएका छौ। अर्काे नयाँ खरिदका लागि ४५–५० लाख रुपैयाँ विनियोजन गरिएको छ। सूचनामा पनि निकालिसकेका छौँ। अव केही समयमा ल्याउँछौँ।’ नगरपालिकामा गाडीबाहेक मोटरसाइकल समेत छन्। 

लाखौँ रकम खर्चेर गाडी किन्ने प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको ध्यान जनताको स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन जान सकेको छैन। कतिपय गाउँपालिका र नगरमा २÷२ वटा गाडी हुँदा पनि जनताका लागि चाहिने एम्बुलेन्स किन्ने कुनै योजना छैन। 

लेकबेशी नगरपालिकाका जनप्रतिनिधिलेसमेत टाटा कम्पनीको गाडी प्रयोग गर्दै आएका छन्। गत आर्थिक वर्षमा नै लेकबेशीले करिब ३५ लाख मूल्य बराबरको गाडी खरिद गरेको नगरप्रमुख गगनसिंह सुनाले बताए। अहिले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेको भन्दै बजेटले भ्याए अर्काे गाडी खरिद गर्ने योजनामा रहेको उनको भनाई छ। ‘नगरपालिकामा टाटा कम्पनीको करिब ३५ लाख मूल्यको गाडी ल्याएका हौँ। प्रमुख प्रशासकीय अधिकृत, म, उपप्रमुखले आवश्यक परेको खण्डमा प्रयोग गर्छौ।’ उनले भने, ‘अहिले बिग्रेर हैरान बनाएको छ। बजेटले भ्याए अर्काे अलि राम्रो किन्नेकी भन्ने सोचमा हो। तर अहिले निर्णय भैसकेको छैन।’

नगरपालिकाले एउटा एम्बुलेन्स किन्ने योजनामा रहेको बताए। दश लाख रुपैयाँ विनियोजन गरेको भन्दै यसै वर्ष सम्म एम्बुलेन्स किन्ने उनले बताए। 

यता, भेरीगंगा नगरपालिकामा भने पुरानै गाडी प्रयोग गर्दै आएका छन् जनप्रतिनिधि। ‘जनप्रतिनिधि आउनुभन्दा पहिले नै एउटा गाडी थियो त्यो नै प्रयोग गरेका छौँ।’ नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले भने, ‘ एम्बुलेन्स किन्न १५ लाख रुपैयाँ विनियोजन गरेको छ। यो बजेटमा थप गरेर दुई वटा एम्बुलेन्स किन्ने योजनामा छौँ।’

चिंगाड गाउँपालिकालेसमेत ३५ लाख बढीको गाडी किनेको छ। ‘टाटा कम्पनीको करिब ३५÷३६ लाख मूल्य बराबरको गाडी किनेका छौँ।’ गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले भने, ‘गाउँपालिका भित्रै अहिले एउटा एम्बुलेन्स छ त्यो भएर न किन्ने योजनामा छौँ। बजेट पनि विनियोजन गरिएको छैन। हामीले यस पटक सबै विकासे योजनामा खर्च गरेका छौँ।’

सिम्ता गाउँपालिकालेसमेत जनताको लागि आवश्यक एम्बुलेन्स नकिन्ने भएको छ। गाउँपालिकामा ३३ लाख मूल्य बराबरको टाटा कम्पनीको गाडी प्रयोग गर्दै आइरहेका छन् अध्यक्ष र उपाध्यक्ष। ‘नगरपालिकामा ३३ लाख बराबरको टाटा कम्पनीको गाडी किनेका छौँ। अर्काे गाडी हामीले गिफ्ट पाएका छौँ।’ उपाध्यक्ष चन्द्रा शाहीले भनिन्, ‘रेडक्रसको एम्बुलेन्स छ। हामीले गाउँपालिकामा ल्याउने प्रयास गरिरहेका छौँ।’ 

त्यस्तै, बराह ताल गाउँपालिकाले टाटा कम्पनीको करिब ३५÷३६ लाखको गाडी किनेको छ भने विभिन्न वडामा गरी १० वटा नयाँ मोटरसाइकल किनेको छ। ‘नगरपालिकामा टाटा कम्पनीको करिब ३५÷३६ लाखको गाडी प्रयोग गर्दै आएका छौँ।’ गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भने,‘साबिक गाविसका ५ वटा मोटरसाइकल र थप १० वटा नयाँ खरिद गरेका छौँ।’

गाउँपालिकाले एम्बुलेन्स किन्न ५ लाख मात्रै विनियोजन गरेको बताए। प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै सहयोग नभए आगामी हिउँदे अधिवेशन बाट बजेट विनियोजन गर्ने उनले बताए। 

वीरेन्द्र नगरको प्रशंसनीय काम

वीरेन्द्र नगर नगरपालिकाले नगर प्रमुख र उपप्रमुखका लागि गाडी किनेको छैन। साटोमा दमकल, फोहोर उठाउनका लागि टिप्पर, ढुङगा माटो बोक्ने टिप्पर, ब्याहोल्डरलगायतको गाडी किनेको छ। 

‘जनप्रतिनिधि आईसकेपछि मेयर, उपमेयरलाई नयाँ गाडी कुनै पनि किनेको छैन।’ नगरपालिकाका जिन्सी शाखाका उपप्रमुख खड्गबहादुर केसीले भने, ‘मेयरले चढ्ने गाडी पहिले हाकिमको हो। उपमेयरले चढ्ने गाडी जिल्ला समन्वय समितिले दिएको छ। जनताको आवश्यकता र माग बमोजिम दमकल, फोहोर उठाउने टिप्पर, ढुङगा माटो बोक्ने टिप्पर, ब्याहोलोडर जस्ता गाडी खरिद गरिएको छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell