- किशोर नेपाल -
क्या गजब भो! साथीहरुले गहतको झोलमा जनै डुबाए।
कसो उनको आगमनमा राष्ट्रिय धुन बजेन।
चार दिन देशमा के त्यस्तो धन्दा भयो जसको प्रचार ठूलो भए पनि त्यसको उद्देश्यका बारे कसैले केही थाहा पाएन। अन्तिममा स्वर्गबाट ल्याइएको मुनको वीर्यको कुरा घनिभूत भयो। असली घरपालुवा रक्सीले बनेको तथा मानव रक्त र वीर्य मिश्रित त्यो तत्वको सेवनपछि भक्तहरु खुशी भए। प्रम ओलीले एकलाख अमेरिकी डलरको खुशी भेटे। उनी भए बिन्दास बिन्दास। माधवजीले खुलेआम केही भेटेको देखिएन। मानिसहरु भन्दै थिए- 'इज्जतको डरले खुलामा नलिएका होलान्। बुढाबुढी दुबैं बैंकका क्यासियर थिए। क्यासको महत्व नबुझेको कहाँ होलान र?'
मुनको आगमनसँगै एमालेका केही नेताहरुले मुख बिगारेका थिए। उनले अन्तत: के कसो गरे थाहा भएन। ट्विटरमा लेखेर धर्म ‘फराक’ गरे : “कुनै ब्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्यो। शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्दछ। नभने सरकारले खोजेर भन्नु पर्दछ।”
यसमा त रावलजी पनि चिप्लिएर डयाङ्गै पछारिए। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कसरी ल्याए? भन्ने प्रश्नमा भीम रावलले यति पनि भन्न सकेनन् - यो सरकारले उठान गरेको विषय भएकाले यसको जवाफ सरकारले नै दिनु पर्दछ जनतालाई। होइन भने, कुन सरकारले जवाफ दिनु? त्यो धार्मिक तमासाको आयोजक सरकार त यही नै थियो। पहिले आयोजक र अहिले सह–आयोजक। रकम–कलमको हिसाब–किताव त यही सरकारसँग हुनुपर्ने हो। नभए, माधव नेपालजीसँग त पक्कै होला। सम्मेलनमा भएको खर्चको हिसाबकै लागि हो भने यत्रो दुई तिहाई बहुमतको सरकार ढालेर कताको फिष्टे सरकार ल्याउनु? रहँदा बस्दा यही सरकारको रुपान्तरण फिष्टोमा भै हाल्दछ।
उता, घनश्यामजीको पनि चर्कै ट्विट आयो। उनले लेखे, “विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ।”
घनश्यामको यो दिव्य वचनमाथि सत्र–अठार सय जनताको नजर पर्यो। मानिसहरुले सह्राए। यी मान्छे राम्रा छन्।
घनश्यामजी साँच्चै राम्रा छन्। त्यसैले अहिलेसम्म वैकल्पिक भनिने पार्टी खोलेका छैनन्।
अन्तिम परिणाम के भो त?
चर्मचक्षुले हेर्दा केही भएन। आत्मचक्षुले हेर्दा नेपाली राजनीतिका धेरै कुराको गुह्य जान्न पाइयो- पैसा पाउनुपर्दछ देशमा जे पनि गराउन सकिन्छ। लोक लाज र मर्यादा भर्सेलामा नै परोस्। अघिल्लो दिनसम्म बिजुलीका पोलमा भेटिएका प्रम ओली भोलिपल्टदेखि सोल्टी होटलको हलमा देखिए। उनी चार दिन चार रातसम्म सोल्टीमा नै सुते। त्यही खाए। त्यही निदाए। कतै गएनन्। उनको विकास र समृध्दिको नारा पनि त्यहीँ पसारियो। मुनको सम्मेलनमा जुनहरुको आगमन भयो कि भएन? उनले केही थाह पाएनन्। प्रचण्ड आएनन् भनेको सुने। नारायणकाजी उम्किएको पनि सुने। झलनाथ र वामदेव? ती दुई आए कि आएनन्? उनलाई कसैले बताएनन्। उनको मनमा नमीठो चिसो पस्यो। छाती चसक्क चस्कियो। उनले काठमाडौंको गाउँघरमा सुनिने झ्याउरे गीतको एक पंक्ति मात्रै गुनगुनाए, ‘मर्छु क्या रे, चय नै नगरी।’ अर्को पंक्ति उनलाई आउँदैनथ्यो।
त्यसपछि प्रम ओली निदाउने प्रयासमा लागे।
उनी अलिकति झकाउँथे। झल्याँस्स बिउँझन्थे। उनले बलात्कारपछि मारिएकी कन्चनपुरकी केटी निर्मलालाई पोष्टरमा पनि राम्ररी देखेका थिएनन्। तिनै निर्मला अहिले उनको निद्रा बिथोली रहेकी थिइन्। उनी भन्दै थिइन- म त मरी हालेँ। मलाई केही दिन परेन। मेरा आमाबालाई न्याय देऊ।
यो लघु सपनापछि प्रम ओली झस्याङ्ग बिउँझिए। उनी फेरि निदाउने प्रयासमा लागे। पहिलो झमकको निद्रामा उनले देखे – निख्खुर कालो जामा लगाएको एउटा ठिटो येश पुत्री मुनको बिछ्यौनातिर बढ्दैछ, बढदैछ...यस्तो लाग्दैछ उ येशु पुत्री मुनलाई बलात्कार गर्ने धूनमा छ। “त्यस्तो कसरी होला र?” प्रम ओली चिच्याउँदै उठछन्, “त्यस्तो कहाँ होला र। खबरदार।”
आखिर बलात्कारीको देशका रुपमा नेपालको दुर्नाम भएकै छ।