PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ए डिभिजन लिग : थ्री स्टार र च्यासलको पुनरागमन जित, हिमालयन शेर्पालाई आत्मघाती गोल महँगो



पहिलोपोस्ट

ए डिभिजन लिग : थ्री स्टार र च्यासलको पुनरागमन जित, हिमालयन शेर्पालाई आत्मघाती गोल महँगो
थ्री स्टार क्लब

काठमाडौँ : थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बुधवार पुनरागमन जित हात पारेका छन्।

दुवै क्लबले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ३ अंक जोडेका हुन्।

एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले आत्मघाती गोलको मद्दतमा शेर्पालाई पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ।

उता हलचोकमा भएको खेलमा थ्री स्टारले खेलको सुरुमै पछि परेर पनि पहिलो हाफमै दुई गोल गर्दै सरस्वती युथ क्लबलाई २-१ ले हरायो। जितपछि ६ खेलबाट संकटा समान १५ अंक जोडेको थ्री स्टार गोल अन्तरमा अगाडी रहँदै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। संकटा भने तेस्रोमा झरेको छ।

६ खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ।

खेलको चौथो मिनेटमा भिक्टो एमोबीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिकने। १६औँ मिनेटमा थ्री स्टारको लागि रन्जित धिमालले बराबरी गोल फर्कायो। निराजन खड्काले ३६औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई पहिलो हांफमै २-१ को अग्रता दिलाए। निराजनको गोल नै निर्णायक हुँदा थ्री स्टारले सिजनको पाँचौ जित हात पारेको हो। थ्री स्टारले यस सिजन मनाङसँग मात्र हारेको छ।

यस्तै च्यासले पनि एक गोलले पछि परेको स्थिती उल्टाउँदै हिमालयन शेर्पालाई २-१ ले नै हरायो। एक गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको हिमालयन शेर्पालाई आत्मघाती गोल महँगो सावित भयो।

त्रिदेव गुरुङले १५औँ मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता कायम राखेपनि शेर्पाले दोस्रो हाफमा गोल खायो। च्यासलका लागि सन्तोष साउखलले ५६औँ मिनेटमा बराबरी गोल गरे। ७३औँ मिनेटमा शेर्पाका निरज बस्नेतले आत्मघाती गोल गरेपछि च्यासलाई जित हात पार्न सजिलो भएको थियो।

जितपछि ६ खेलबाट ७ अंक जोडेको च्यासल सातौँ स्थानमा उक्लेको छ। एपीएफको पनि ७ अंक नै छ तर गोलअन्तरमा च्यासल अगाडी रहेको हो। हारपछि शेर्पा १० अंकसहित छैटौँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell