
काठमाडौँ : नेपालका नम्वर वान ब्याडमिन्टन खेलमी रत्नजित तामाङ काठमाडौँमा भइरहेको 'योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज-२०१८' को क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
काठमाडौँको हलचोकस्थित एपीएफको हलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन मेन्स सिंगल्सतर्फ दुई खेल जित्दै रत्नजित अन्तिम आठमा पुगेका हुन्। उनले अन्तिम ३२ मा मौरिससका तेजराज पुल्टुलाई २-० ले पराजित गरे भने अन्तिम १६ मा भारतका नभिनलाई २-१ ले हराए। पहिलो सेट २०-२२ ले गुमाएपनि त्यसपछि पुनरागमन गर्दै रत्नजितले २१-१४, २१-१६ ले जिते।
रत्नजितले अब सेमिफाइनल प्रवेशका लागि भारतकै कुशल धर्मामेरसँग क्वाटरफाइनलमा खेल्नेछन्।
घरेलु खेलाडी विकास श्रेष्ठ र विजित थापा मगर भने अन्तिम १६ मै पराजित भए। विकास भियतनामा काओ कुअन फामसँग अष्ट्रेलियाका एन्टोनी जोएसँग समान २-० ले पराजित भए।
यसैगरी पहिलो चरणका खेल जितेका दिपेश धामी, प्रफुल महर्जन, प्रिन्स दाहाल र नवीन श्रेष्ठ अन्तिम ३२ मा पराजित भए।
यस्तै वुमन्स सिंगल्सतर्फ नेपालका चार खेलाडी अन्तिम १६ मा पराजित भए। नङसल तामाङ, जेसिका गुरुङ, अनुमाया राई र सिता राई अन्तिम १६ बाट अगाडी बढ्न सकेनन्।
डबल्सतर्फ भने नेपालको प्रदर्शन बुधवार मिश्रित रह्यो। मेन्स डबल्समा नेपालका रत्नजित र दिपेश धामीको जोडी क्वाटरफाइनल पुगेका छन्। प्रफुल महर्जन र रुकेश महर्जन तथा दिपक बोहरा र गौतम कठायतको जोडी अन्तिम १६ मा पराजित भए।
मिक्स डबल्सतर्फ भने नङगश र रत्नजितको दिदीभाई जोडी अन्तिम १६ मै पराजित भए। दिपेश धामी र शोभा गौचन, विजित थापा मगर पुजा श्रेष्ठको जोडी तथा विकास श्रेष्ठ र सिता राईको जोडी भने क्वाटरफाइनल पुगेका छन्।
यस्तै वुमन्स सिंगल्सतर्फ जेसिका गुरुङ र सुनायना मुखिया तथा अमिता गिरी र रसिला महर्जनको जोडी क्वाटरफाइनलमा पुगेका छन्। नङगशल तामाङ र पुजा श्रेष्ठ, अनुमाया राई र सिता राई तथा शोभा गौचन र पुनम गुरुङको जोडी अन्तिम १६ मै पराजित भए।