काठमाडौं : गत भदौ २१ गते स्वयम्भूस्थित पार्किङमा राखिएको कारमा शव भेटियो, कुहिँदै गरेको अवस्थामा।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै खुल्यो –मृत्यु त केही दिन अघि नै भइसकेको रहेछ। प्रहरीले अनुसन्धानबाट पत्ता लगायो मृतक नैकापका श्याम श्रेष्ठ रहेछन्। र, त्यहाँ लामो समयदेखि अडिरहेको गाडी उनकै रहेछ। अझ थप अनुसन्धान गर्दै जाँदा खुल्यो उनले आत्महत्या गरेका रहेछन्। त्यसको कारण के थियो त? प्रहरी अनुसन्धानले देखायो – सेयर कारोबारको दोस्रो बजारमा गरेको लगानी।
सेयरको सूचकांक लगातार ओरालो लाग्न थालेपछि चर्को ब्याजमा लिएको ऋणको भार थेग्न उनले सकेनन् र आत्महत्याको बाटो रोजे। दोस्रो बजारमा लगानी गरेर नराम्ररी फसेकाहरुका लागि उनको मृत्युको खबर कहालीलाग्दो थियो। उनको मृत्युले सेयर बजारमा कुनै असर गरेन त्यो लगातार तलतिर झरिरह्यो। र, त्यसले धेरैलाई मनोरोगी बनाउनेक्रम बढेको छ।
पहिले पहिले हाउजिङमा लगानी गर्नेहरु मनोविश्लेषक गोपाल ढकालकहाँ धाउँथे – चरम आर्थिक पीडाको समयमा मनलाई बसमा कसरी राख्ने? भन्दै। घर तथा जग्गामा गरेको लगानीका कारण उनीहरु मानसिक रुपमा विक्षिप्त हुने अवस्था आउनुअघि र आएपछि ढकालकहाँ काउन्सिलिङका लागि पुग्थे।
ठीक यतिखेर उनीकहाँ हाउजिङमा लगानी गर्नेहरु कमै पुग्छन् तर भिड चाहिँ घटेको छैन। अहिले दोस्रो बजारमा लगानी गर्नेहरु पुग्छन्। पछिल्लो डेढ वर्षमा सेयर बजारले ७ खर्ब रुपैयाँ गुमाएको छ। डेढ वर्षअघि महँगोमा सेयर किनेकाहरु बजार झरेर झन्डै ११ सयतिर झरिरहँदा अन्यौलग्रस्त छन्। जसरी सेयर बजार बियरिस ट्रेन्डमा ओरालो लाग्यो त्यसरी नै गुमेको रकमले उनीहरुमा मानसिक तनाव बुलिस ट्रेन्डमा उक्लिरह्यो।
मनोविश्लेषक ढकाल भन्छन्, 'शेयरमा घाटा लागेकाहरु अहिले धेरै डिप्रेसनमा छन्। उनीहरुको छटपटाहट काउन्सिलिङ गर्दा पनि कम गर्न नसकिने अवस्थाको छ।'
ढकालका अनुसार शेयर बजारमा घाटा खाएकाहरु निराशाबाट गुज्रिरहेकाले जोखिममा छन्। लगानीको मूल्य घट्नु र ब्याजदर बढिरहँदा धेरैजसो लगानीकर्ता डिप्रेशनमा छन् जसले उनीहरु निदाउन सक्दैनन्। बैंक तथा परिवारको दबाब पनि उनीहरुमाथि नै भए अवस्था थप नाजुक हुने ढकाल बताउँछन्। 'शेयर बजारमा करोड डुबाउनेहरु धेरैले आत्महत्या गरिसके, समाचार नआएको मात्र हो,' पीडितहरुलाई लामो समयदेखि काउन्सिलिङ गर्दै आएका ढकालले दावी गरे।
***
बुधवार काठमाडौँको कमलादीस्थित एउटा ब्रोकर कार्यालय। चौथो तल्लामा भिडभाड बाक्लो छ। सबैको ध्यान भित्तामा झुण्ड्याइएको 'नेप्से डिस्प्ले' बोर्डतिरै छ।
डिस्प्ले बोर्ड राताम्मे छ। केही अंक तलमाथि गरिरहेको छ। रातो अंकको बदलाबले उनीहरुको अनुहार पनि कागती निचोरे झै बनाइदिएको छ। अधिकांश तनावमा देखिन्छन्।
'यो अर्थमन्त्री त कामै नलाग्ने। राष्ट्र बैंक के हेरर बसेको छ हँ?' भिडबाट एकजनाको बोली सुनिन्छ, 'के हुनु क्रान्तिकारी भएका नि! हामी इन्भेस्टरलाई चुसेर खान पल्केका। जुकाहरु।'
आक्रोशले भरिएका अभिव्यक्ति पटक पटक दोहोरिरहन्छ त्यहाँ। त्यही भिडमा भेटिए नरेश सापकोटा (उनकै अनुरोधमा नाम परिवर्तन)। एक दशक नाघिसक्यो उनले शेयर कारोबार थालेको। करोडभन्दा माथि लगानी छ। भन्छ्न्, 'करोडको लगानी लाखमा झरेको छ। अरु देशमा भए सरकार यसरी नै चुप बस्थ्यो त?'
सापकोटाका अनुसार करोडभन्दा माथि लगानी गर्ने मात्रै बजारमा टिकेका छन् अहिले। लाख लगानी गर्नेहरु टिक्न सक्ने अवस्था छैन। उनीहरु शेयर मार्केटमा फेरि फर्कनै नसक्ने गरी डुबेको बताउँछन्। भन्छन्, 'लाख लगानी गर्नेहरु त पैसा डुबाएर डिप्रेसनमा छन्। यहाँ देखिएका हामी त करोडवाला मात्र हौं, अहिलेसम्म टिक्न सकेका छौँ। कतिन्जेल सक्ने हो थाहा छैन।'
सेयरकै कारण साथीको आत्महत्या
सापकोटाकै एक साथी विगत केही वर्षदेखि सेयर कारोबार गर्दथे। उनले बैंकमा ऋण लिएर कारोबार गरिरहेका थिए। ६०/७० लाख लगानी थियो। डेढ वर्षदेखि शेयर बजार ओरालो लाग्यो। ऋण तिर्न सकेनन्। बैंकको दबाब थेग्न नसकेर दुई साताअघि आत्महत्या गरे। आक्रोशित हुँदै सापकोटा भन्छन्, 'सरकारकै कारण उनले आत्महत्याको बाटो रोजे। परिवारको बिजोग छ।'सापकोटाको कुरामा सहमत छन् राजकुमार कार्की (नाम परिवर्तन) पनि। भन्छन्, 'आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशत पुगिसक्यो। अब १८ प्रतिशत पनि पुग्ला। यता बजार ओरालो लागेको लाग्यै छ। आत्महत्या नगरेर के गर्नु?'
उनले भने झै बैंकहरुमा संचयकर्ता भित्र्याउन ब्याज बढाबढ सुरु भइसकेको छ। बैंकर्स संघले चाहेर पनि त्यसलाई आफ्नो काबुमा राख्न सकेको छैन। बचतमा नै ब्याजदर बढ्नुको अर्थ हो ऋणीको ब्याजदर थप उकालो लाग्नु। यसले अवस्था अझै डरलाग्दो बनाएको छ।
राजकुमार शेयर बजारमा प्रवेश गरेको ५ वर्ष भयो। यो बाहेक अर्को काम छैन उनको। हरेक दिन बिहान ११ बजेतिर यहीँ आउँछन्। बेलुका कारोबार सकिँदा निराश भएर फर्किन्छन्। आफ्नो पीडा परिवारलाई सुनाउन सक्दैनन्। त्यसैले पनि घरबाट दिनहुँ कचकच सुन्नुपर्छ, 'पहिला त पैसा कमाउँथिस्, अहिले सुक्को आउँदैन। यो पाराले कसरी घर चल्छ हँ?' नाजवाफ हुन्छन् राजकुमार। उनी सेयर कारोवारी भएको परिवारलाई थाहै छैन।
दुई वर्षअघि शेयर कारोबार गर्दा सन्तुष्ट थिए उनी। ऋण गरेको पैसा डुबेको थिएन। घरमा खर्च पनि दिन सक्थे। तर, अहिले ठीक उल्टो भइसक्यो। छटपटिएका छन्। शेयर मार्केटमा बसिरहन मन छैन। चटक्कै छोडेर निस्कन पनि सक्दैनन्। भन्छन्, 'लाख कारोबार गर्ने त शेयर बजारमा कहिल्यै नफर्किने गरी फर्के, हामी करोड लगानी गर्नेहरु कसरी पैसा माया मारेर फर्कनु?'
राजकुमार जस्तै पीडामा छन् सन्तोष ढकाल(नाम परिवर्तन) पनि। सेयरकै कारण प्रेसर बढेको बताउँछन्। औषधि खाइरहेका छन्। कुन दिन के हुने हो डर छ तर कारोबार छोड्न सक्ने अवस्था छैन।
'दुई चार लाखको कुरा भए पो छोड्नु। करोडको कुरो छ, कसरी चटक्कै छोड्नु? कसरी तनाव नलिन?,' आक्रोशित हुँदै उनले भने, ' भूकम्पको बेला घटेन। तराईमा बाढी आएको बेला नि घटेन। तराईमा गोली चल्दा नि घटेन। अहिले देशमा गृहयुद्ध भइरहेको छ र? नत्र किन यस्तो?'
'अर्थमन्त्रीका कारण। राष्ट्र बैंककका कारण, ' गोपालको कुरा बीचमै काटेर राजकुमार भन्छन्, 'अर्थमन्त्रीको बोलीको कारण कति अर्ब पैसा मान्छेले गुमाए। त्यो थाहा नभएको हो र? त्यही पनि अर्थमन्त्री किन यसरी बोल्दै हिड्छन्?'
ब्रोकर हाउसमा भेटिएका अधिकांश निराश देखिए। सरकारकै कारण शेयर बजार बजार ओरालो लागेको आरोप थियो उनीहरुको। आँखामा अनिद्रा प्रस्टै देखिन्थ्यो। कुरा गर्दा गर्दै झोक्किन्थे पनि। बसेकै ठाँउबाट जुरुक्क उठेर सरकारलाई निरन्तर गाली पनि गरिरहन्थे। उनीहरुको एक्सप्रेसन 'फ्रस्टेटेड' थियो नै व्यवहार झन 'डिप्रेस्ड।'
***
कमलादीकै अर्को ब्रोकर कार्यालय। त्यहाँ पनि उस्तै भिड जम्मा भएको छ। नजर सबैको भित्तामा झुण्ड्याइएको शेयर डिस्प्ले बोर्डतिर मात्रै।
शेयर बजार घट्नुको व्याख्या विश्लेषण हुँदै थियो त्यहाँ। ठूल्ठूलो स्वरमा कराइरहेका थिए। कोही जुरुक्क उठेर बोल्थे त कोही उफ्रँदै कराउँथे। सरकारलाई गाली गरेर भडाँस निकालिरहेका थिए। आक्रोश हेर्दा लाग्थ्यो – अर्बपति बन्ने सपनाबाट सडकमा झर्ने क्रममा छन् उनीहरु।
त्यहाँ भेटिए दिवश श्रेष्ठ (नाम परिवर्तन)। शेयर बजारमा लागेको २० वर्ष। उनलाई अर्थमन्त्री, राष्ट्रबैंक र मिडियासँग झोक चलेको छ।
मिडियाको नाम लिनेबित्तिकै बोलिहाले, 'अर्थमन्त्री, राष्ट्र बैंक मात्र होइन, मिडियामा आएको समाचारले पनि हो यस्तो भएको। जहिले पनि पहिरो गयो भनेर मात्र समाचार लेखेसी नघटेर बढ्छ त?'
उनी आक्रोशित हुँदै बोल्दै गए। सम्हाल्न हम्मेहम्मे नै पर्यो उनका साथीलाई। उनले भने, 'यो अवस्थामा पनि अर्थ मन्त्रालय हेरेरै बस्ने हो? हामी इन्भेस्टरहरुले नि ट्याक्स तिरेका छौं त। लुकेर त काम गरेका छैनौँ नि!'
'शेयर चाहीँ अनुत्पादक क्षेत्र रे। यो सडकमा गुड्ने करोडका गाडी चाहिँ उत्पादक हो?' त्यही भिडबाट अर्को मानिसले प्रश्न गरे, 'कालोबजारी गर्नेहरुलाई हान्न छोडेर राज्यले किन हाम्लाई हानिरा'छ? '
'१० खर्ब खोइ? हाइड भएको छ शेयर घटेर। यसरी व्यक्तिगत पैसा हराउँदा मान्छे बौलाउँदैन? अनि सुसाइड नगरेर के गर्छ त?, ' त्यही भिडबाट अर्का व्यक्ति बोले, 'यही ताल हो भने अझै कति घट्ने हो। राज्यले सोच्नु पर्दैन?'
दुइटै ब्रोकर कार्यालयमा भेटिएका अधिकांश तनावमा नै थिए। बैंकको ऋण, घरको कलह र प्रेसरको औषधि उनीहरुको कथा उस्तै थियो।
***
मनोविश्लेषक ढकालका अनुसार शेयर कारोबारमा घाटा खानेहरु मात्र होइन केही आशा गरेको कुराबाट प्रतिफल नपाएका सबैलाई डिप्रेसन हुन्छ। अझ करौडौँ लगानी गुमेको अवस्थामा उनीहरुले दोहोरो सोच्नै सक्दैनन्। ऋण, बैंक र परिवारको दबाबमा परेकाहरु त झन् फोनको रिंगटोन बज्दा समेत तर्सन्छन्। ढकाल भन्छन्, 'मेरोमा काउन्सिलिङ गर्न आउनेहरु त समाचार पढ्ता/हेर्दा नै तर्सन्छन्।'
करौडौँ ऋण गरेको पैसा डुब्दा डिप्रेसन हुनुलाई सामान्य मान्छन् ढकाल। करौँडौँ डुब्दा पनि कुनै निरासा छाएन भने झन् ठूलो मानसिक रोग लाग्न सक्ने उनको तर्क छ।
'पैसा डुबाएर पलायन हुने मान्छे झनै जिन्दगीभर डिप्रेसनमा फस्न सक्छ। अहिले लगानी डुबाएको मानिसले १० वर्षपछि आत्महत्या गर्यो भने अचम्म मान्नु पर्दैन्,' ढकाल भन्छन्, ' ऋणमा डुबेकाहरुलाई समाज परिवार, साथीभाइको टर्चरले जिन्दगीभर पिन्च गरिरहन्छ। उनीहरु जुनसुकै बेला जुनसुकै कदम चाल्न बाध्य हुन्छन्।'