
काठमाडौँ : ढोरपाटन महिला डबल लिग भलिबलको १४औँ संस्करण आगामी माघ पहिलो साताबाट सुरु हुने भएको छ। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रवार पत्रकार सम्मेलनको गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो।
नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा एपीएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स हाई स्कूल, श्री गाउँ स्पोर्ट्स विकास कमिटी, चितवन टाइगर्स, पारामाउन्ट हाई स्कूल, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन्।
चितवन टाइगर्स, सेब स्कुल र थाहा नगरपालिकाले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउने भएका हुन्।
च्याम्पियनसिपको विजेताले तीन लाख ५० हजार, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख पाउने छन्। यस्तै चौथँ हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार र सातौँ हुने टोलीलाई रु २० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशि बढाइएको छ।
प्रतियोगितामा उकृष्ट खेलाडी, उदयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्नेले सुजुकी स्कुटर पाउनेछन्। त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन्। व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट प्रशिक्षकले ६-६ हजार पुरस्कार पाउने छन्।
यस्तै आयोजकले भिजी अटोमोबाइल्ससँग तीन वर्षको लागि सहप्रायोजन गरेको छ। सम्झौतामा सुजुकी स्कुटीका मार्केटिङ म्यानेजर नवराज कोइराला र ढोरपाटन क्लबका अध्यक्ष मनबिर छन्त्यालले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार सुजुकीले ढोरपाटन क्लबलाई ५० हजार छुटमा पाँच स्कुटी उपलब्ध गराउनेछ।