PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एण्टी क्लाइमेक्समा निर्मलाको बलात्कारपछि हत्या



किशोर नेपाल

एण्टी क्लाइमेक्समा निर्मलाको बलात्कारपछि हत्या

  • किशोर नेपाल -
कान्तिपुर शहरको चिसोले टोक्न थालेको थियो कनिकालाई। उ हजुरमुवाको कुरा सम्झिन्छे, कान्तिपुर शहरमा माछापनि कठांग्रिने जाडो हुन्छ। कान्तिपुरको जाडो पोहोरसम्म नोभाको इनरले ढाक्थ्यो जाडो। यो वर्ष त मंसिरमा नै जाडो बढ्यो। संसारमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तन र चर्को प्रदुषण शहरमा जाडो र गर्मीको प्रमुख कारक हो। जलवायु बिगार्न त संसारका सबै देश लागेका छन्। तर, प्रदुषण? शहरमा बस्‍नेहरु चाहेर पनि सफा सुघ्घर बस्‍न पाउँदैनन्। सफा बस्‍नका लागि चाहिने पूर्वाधार नै छैन शहरमा। एक छेउमा खाने र अर्को छेउमा मिल्काउनुपर्ने शहरसफा हुने कसरी? त्यसमा पनि कान्तिपुर शहरका मेयर साहेब भन्दछन् – मैले काम नगरेको भए पार्टीले चुनाव कसरी जित्थ्यो। मेयर पार्टीलाई चुनाव जिताउन काम गर्ने, अनि शहरवासी सफाइको गुनासो गर्ने?

कनिकालाई मण्डला जानु थियो। कन्चनपुर जिल्लाको भीमदत्त नगरसँगै जोडिएको एउटा सानो गाउँमा बस्ने केटी निर्मलालाई आततायीहरुले बलात्कार गरेर मारेपछि तातेको वातावरण शान्त भएको छैन। सबैभन्दा आश्चर्यजनक कुरा, सामान्य पुलिसदेखि आइजीपीसम्म, सबै तहका सुरक्षा अधिकारीहरु सक्रिय हुँदा पनि अपराधी फेला पार्न नसक्नु आश्चर्यजनक कुरा थियो। त्यसैको विरोधमा यो साता शहरमा मोटर साइकिल जुलुस निकाल्ने कार्यक्रम थियो। जुलुसले शहर परिक्रमापछि मण्डलामा सभा गर्ने सूचना दिइएको थियो। अचानक त्यो जुलुशमा पुलिसले हस्तक्षेप गर्‍यो। एउटा ठिटोले हावा उडाइ दियो, विप्लवका कार्यकर्ताको घूसपैठको आशंकाले पुलिस सक्रिय भएको थियो।

निर्मला काण्डमा जनताको चासो घट्न नदिन गैह्र सरकारी संस्थाका कार्यकर्ताहरु सक्रिय थिए। निर्मलाका नाममा सरकारी र गैह्र सरकारी, दुवै तहबाट, देशभरि जागरण अभियान चलाइएको थियो। कनिकालाई भने यो मन परेको थिएन। संघीय सरकार निरपेक्ष रहने, सरकार प्रमुख निर्मला हत्याकाण्डको नामै सुन्न नचाहने, अनि देशभरि चेतना अभियान चलाइने। यो कस्तो पाखण्ड हो? कनिकाले बुझ्‍न सकेकी थिइन। कान्तिपुर बाहिर रिपोर्टिङमा निस्किन सँधै रमाउने कनिका यो पटक निस्किन चाहिन। सम्पादक सुदिप्ती आफैं गई स्थलगत रिपोर्टिङका लागि। निर्मला सिरिजमा उसले लेखेका स्थलगत रिपोर्टिङ अहिले लेख्‍ने पढ्नेका बीच सुपरहिट भएका छन्।

कनिका दिक्क छे। यो मंसीरमा बिहे गर्ने सोचेकी थिइ उसले। कामको चटारोले सकिन। केटाहरु त फेला पारेकी थिइ। तर, सबै केटाहरु अमेरिका नै जान चाहने। त्यो साले सुवास उता बोस्टनमा गर्लफ्रेण्ड राखेर यता कनिकासँग मस्ती मार्न चाहने। ‘सबलाई मी टूमा तान्नुपर्ने’ उ मनमनै हाँसी। उसलाई यहाँका केटा देखेर अचम्म लाग्छ। सबैलाई केटी साथी चाहिने। जिस्किन मस्किन पर्ने। अनि, नारी अधिकारका बारे भएका डिबेटमा नारीको पक्षमा भाग लिएर नाम कमाउन पनि पर्ने। पाएसम्म दाम कमाउन पनि नछाड्ने। कनिका बिस्तारै नेपाली समाजको चरित्र बुझ्दै थिइ। पूरै नेपालको भन्दा पनि कान्तिपुर उपत्यकाको। उसलाई धेरै पटक यो समाजका ठूलाबडाको मुकुण्डोभित्र लुकेको घीनलाग्दो अनुहार उघारी दिन मन लागेको हो। तर, यसका लागि कसैमा पनि चाहिने जति जोश र जाँगर देखिन उसले।

एक प्रकारको डिप्रेसनले गाँज्न थालेको थियो कनिकालाई। यसको कारण पारिवारिक र भावनात्मक थिएन। सरकार, प्रतिपक्ष भनिनेहरु सबै झेलको खेलमा लागेको समाजमा कनिका र उ जस्ता युवावर्गका सदस्यहरु कता जाने? मनमा देश बनाउने संकल्प छ। तर, त्यो संकल्प कतै के ले र कतै के ले रोकेको छ। मनमा कुरा खेलाउँदै अफिस फर्किइ कनिका। विचारको तरंगहरुमा फँस्दा झण्डै उसको सानो कारलाई टिपरले ठक्कर दिएन। शहरभित्र दिउँसो टिपर चलाउन नदिने नियम बनेको सुनेकी थिइ उसले। उता बालुवाटार दरवारमा सामान पुर्याउनु परेकोले विशेष पास जारी भएको रहेछ टिपरका लागि। धन्य हो विकास, धन्य हो समृध्दि।

अचानक मोबाइल बज्यो कनिकाको। उताबाट कनिकाको पछिल्लो ‘साथी’ ऋषि जानकारी दिँदै थियो, ‘बुझिस कनि। त्यो निर्मलाको हत्यारा पक्डियो नि पुलिसले। त्यो प्रदीप रावल भन्ने ट्यापेको बयान आइजीले लिएका रहेछन्। उनीसँग त्यो केटाले भनेछ: निर्मलाको हत्या मैले गरेको हो।’

कनिकाले समाचार सुदिप्तीलाई टेक्स्ट गरी र अफिसतिर मोडिइ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell