काठमाडौं: भारत पाकिस्तानबीचको आपसी टकरावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले गति लिन सकिरहेको छैन। पाकिस्तानमा हुने भनिएको सार्कको १९ शिखर सम्मेलन दुई वर्ष यता अन्यौलमा छ। यस्तो अवस्थामा सार्कका सदस्य मुलुकहरुले सार्क चार्टर डे मनाइरहेका छन्।
सबै सदस्य मुलुकहरुमा सार्कको स्थापना सम्बन्धी चार्टरमा हस्ताक्षर भएको दिन पारेर यो दिवस मनाइएको छ।
सन् १९८५ डिसेम्बर ८ मा सार्कका सदस्य राष्ट्रका सरकार प्रमुखहरुले बंगलादेशको ढाकामा आयोजित पहिलो समिटमा सार्क स्थापना सम्बन्धि चार्टरमा हस्ताक्षर गरेका थिए।
यसबीच सार्कका १८ वटा शिखर सम्मेलन सम्पन्न भएका छन्। पछिल्लो १८ औँ शिखर सम्मेलन २०१४ को नोभेम्बर २६–२७ मा काठमाडौंमा सम्पन्न भएको थियो। यही सम्मेलनले १९ शिखर सम्मेलन आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो।
सम्मेलनको आयोजना तथा सार्क अध्यक्षता वर्णानुक्रम अनुसार हुँदै आएको छ। १८ औँ शिखर सम्मेलन आयोजना गरेको नेपाल हाल सार्कको अध्यक्ष छ। सन् २०१४ मा सम्मेलन आयोजना पछि नेपालले अध्यक्षता लिएको थियो। नेपालले सन् २०१६ मै पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने थियो। तर पाकिस्तानमा १५–१९ नोभेम्वरमा २०१६ मा हुने भनिएको सम्मेलन भारत सम्मेलनमा सहभागी नहुने जनाएपछि अध्यक्ष राष्ट्र नेपालले स्थगित गरेको थियो। त्यसपछि दुई वर्ष बिते तर सार्कले गति पाउन सकेको छैन।
सार्क चार्टर डे मनाउने क्रममा सबै देशले सार्कलाई गति दिने बताउँदै शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क चार्टर डेको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै सदस्य मुलुकहरुलाई शुभकामना व्यक्त गरेका छन्। उनले सार्कले १९८५ पछि क्षेत्रीय साझेदारीका क्षेत्रमा प्रगति हासिल गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अति महत्वपूर्ण भएको बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत सार्कलाई गति दिने प्रतिवद्धता जारी गरेका छन्। उनले दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि आतङ्कवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै आतङ्कवादका सबै किसिमका स्वरुपको अन्त्य गर्न जोड दिएका छन्।
वडापत्र दिवसका अवसरमा उनले आज दिएको शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दै आएको भए पनि आशातित लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगको निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको उल्लेख गरेका छन्।
'सार्कको संस्थापक सदस्यको नाताले भारत क्षेत्रीय साझेदारीलाई मजबुध बढाउन प्रतिवद्ध छ,' उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ। उनले सार्क क्षेत्रको साझेदारीका लागि सार्क स्याटेलाइट लगायतको विषय उठान गरे पनि सार्क शिखर सम्मेलनमा सहभागी हुने विषयमा भने बोलेका छैनन्।
यसैगरी पाकिस्तानका राष्ट्रपति डा आरिफ आल्भीले सार्क चार्टर डेमा शुभकामना दिँदै प्रतिवद्धताहरुलाई कार्यान्यवनमा लैजाने प्रतिवद्धता जनाएका छन्।
Message from H.E. Dr. Arif Alvi President of the Islamic Republic of Pakistan on the Thirty-Fourth SAARC Charter Day.#SAARC #SAARCCharterDay pic.twitter.com/f6ZsKtjbMh
— Govt of Pakistan (@pid_gov) December 8, 2018
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गर्ने शुभकामना व्यक्त गरेका छन्।
भुटानका प्रधानमन्त्री लोते छिरिङ, बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अली, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइ र अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
On the occasion of the 34th #SAARC Charter Day, Foreign Minister Shahid and staff of @MDVforeign extend warm felicitations and sincere good wishes to the Secretary General, the staff of SAARC Secretariat and the people of South Asia. pic.twitter.com/0fUcCURnX4
— MFA Maldives (@MDVForeign) December 8, 2018
सबै देशले सार्क चार्टर डेको विषयमा शुभकामना जारी गरे पनि सार्कलाई गति दिने तथा सम्मेलन गर्ने विषयमा पाकिस्तान बाहेकले जोड दिएका छैनन्।
किन हुन सकेन सार्क पाकिस्तानमा शिखर सम्मेलन?
पाकिस्तानको इस्लामावादमा २०१६ को नोभेम्बरमा हुने भनिएको १९ औँ शिखर सम्मेलनको तयारी चलिरहेको थियो। त्यसको २ महिना अगाडि भारतको जम्मु कास्मिर राज्यको उरीमा भारतीय सुरक्षा बेस क्याम्पमा आक्रमण भयो। सेप्टेम्वर १८ मा उरीमा चार जना हतियारधारीहरुले आक्रमण गरे।
भारत पाकिस्तानको मिलिटरी कन्ट्रोल लाइन ‘लाइन अफ कन्ट्रोल (एलओसी) नजिक रहेको भारतीय सेनाको बिग्रेड हेडक्वाटरमा आक्रमण भयो। हेडक्वाटरमा एम्विस विस्पोट गराउँदै तीन मिनेटमा १७ वटा ग्रिनेट विष्पोट गराए। सो विस्पोट पछि क्याम्पमा आगो लाग्यो। १७ सैनिक मारिए ३० सैनिक घाइते भए। दोहोरो भिडन्त ६ घण्टासम्म चल्यो। आक्रमणकारीसमे मारिए। घटनामा घाइते भएका थप दुई सैनिकको उपचारका क्रममा मृत्यु भयो। २०१५ देखि नै कास्मिरमा युद्धको माहोल बन्दै गएको थियो। २०१५ को जुलाइमा हतियारधारी समूहले बस र गुरदासपुरमा रहेको प्रहरी चौकीमा आक्रमण गरे।
सन् २०१६ को सुरुवातमै पठानकोट एयर फोर्स स्टेसनमा आक्रमण भयो। २०१६ को जुलाई ८ मा कास्मिर मिलिटेन्ट ग्रुप ‘हिजबुल मुजाहिद्धिनका कमाण्डर २२ वर्षीय बुरहान मुजफ्र वानीको हत्या भयो। उनी सामाजिक सञ्चारमा भारतविरुद्ध हतियारवन्द संघर्षको उद्घोष गर्दै चर्चामा आएका थिए। प्रहरी इन्काउन्टरमा मारिएसँगै उनी त्यहाँका स्थानीय माझ हिरो सावित भए। उनको हत्यासँगै कास्मिरमा हिंसा भड्कियो। यो हिंसामा ९६ जनाले ज्यान गुमाए। १५ हजार बढी सर्वसाधारण तथा ४ हजार बढी सुरक्षाकर्मी घाइते भए। यो हिंसामा भारत सरकारविरुद्ध फैलिएको ठूलो संघर्ष थियो।
उरीमा भएको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाउँदै आएको छ।
आक्रमण पछि भारतले पाकिस्तानमा आयोजना गर्न लागिएको १९ औँ शिखर सम्मेलनमा सहभागी नहुने भन्दै नेपाललाई पत्र लेख्यो। भारतीय विदेश मन्त्रालयले नेपाललाई सीमा क्षेत्रमा आतंकावादी आक्रमण भएको र आफ्नो आन्तरिक मामिलामा सदस्यको हस्तक्षेप बढ्दै गएको अवस्थामा स्लामाबादरमा नोभेम्वरमा हुने सम्मेलन सफल हुने अवस्था छैन। यो परिस्थितीमा भारत सरकार इस्लामावादमा हुने भनिएको प्रस्तावित शिखर सम्मेलनमा सहभागी हुन असमर्थ रहने छ,’ भारतीय विदेश मन्त्रालयले पठाएको पत्रमा भनिएको थियो।
भारतले सम्मेलनमा सहभागी नहुने जनाएपछि अफगानिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र भुटानले पनि सम्मेलनमा सहभागी नहुने जनाए।
बंगलादेशी विदेश मन्त्रालयले अध्यक्ष राष्ट्र नेपाललाई पत्र लेखि बंगलादेशको आन्तरिक मामिलामा पाकिस्तानको बढ्दो हस्तक्षेपलाई कारण देखाउँदै सम्मेलनमा सहभागी नहुने जनायो।
अफगानिस्तानले आन्तरिक मामिला भएको जनाउँदै सम्मेलनमा सहभागी नहुने जनायो। अफगानिस्तानले देशमा हिंसा र आक्रमण बढेको र अफगानस्तानी सेनाको कमाण्डर इन चिफको हैसियतमा रहेका राष्ट्रपति अर्सफ घानी सम्मेलनमा सहभागी हुन नसक्ने जनायो। भुटानले यस क्षेत्रमा बढेको आतंकवादी गतिविधिले सम्मेलन सफल हुन नसक्ने भन्दै सभागिता नजनाउने बतायो। त्यस्तै श्रीलंकाले पनि सार्क क्षेत्रको तत्कालिन परिस्थितले सम्मेलनलाई सफल हुन नदिने भन्दै सम्मेलन स्थगित गर्न प्रस्ताव गर्यो।
सुरुमा सम्मेलन आयोजना गर्ने वातावरण निर्माण गर्न जोड दिएको मालदिभ्सले पनि सम्मेलनमा सहभागी नहुने बतायो।
अध्यक्ष राष्ट्रको हैसियतले नेपालले ‘सम्मेलनको लागि उपयुक्त वातावरण छिट्टै निर्माण गरी सबै सदस्य राष्ट्रलाई सहभागी हुने वातावरण बनाउन आग्रह गरेको थियो।’ लगत्तै ३० सेप्टेम्वरमा पाकिस्तानमा हुने भनिएको सम्मेलन अर्को मितिमा हुने घोषण भयो।
सम्मेलन आयोजनाको प्रयासमा पाकिस्तान, सहभागी नहुने अडानमा भारत
यसैबीच पाकिस्तानले सम्मेलन आयोजना गर्ने प्रयासलाई निरन्तरता दिएको छ। यद्यपि भारतले पाकिस्तानमा अहिलेकै अवस्थामा सम्मेलनमा सहभागी नहुने अडान कायम गरिरहेको छ।
पछिल्लो पटक पाकिस्तानमा इमरान खानको सरकार बनेपछि पाकिस्तानले दुई देशबीचको सम्बन्ध सुधारको प्रयास गरेको थियो। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले छिट्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क शिखर सम्मेलनमा सहभागिताको निम्तो पठाइने दुई साता अगाडि बताएका थिए।
‘नयाँ सरकार सत्तामा आएसँगै तत्काल भारतसँगको सम्बन्ध सुधारको प्रयास गरेको छ। नकरात्मक संकेतका बाबजुद पनि पाकिस्तानले शान्तिपूर्ण कदम र प्रयासहरु जारी राखेको छ,’ उनले गत नोभेम्बर २७ मा कास्मिरमा आयोजित सम्मेलनमा भनेका थिए, ‘ हामी भारतसँग असल सम्बन्ध स्थापना गर्न चाहन्छौँ, प्रधानमन्त्री इमरान खानले शान्तिका लागि भारतले एक कदम अगाडि बढाए पाकिस्तानले दुई कदम अगाडि बढाउने बताइसक्नु भएको छ।’ उनले मोदीलाई सम्मेलनका लागि निम्ता गरिने बताए पनि उनले मितिको विषयमा भने बोलेनन्।
सार्क चार्टर डेको अवसरमा पाकिस्तानले सार्क शिखर सम्मेलन आयोजना गर्ने प्रतिवद्धतालाई दोहोर्याएको छ। शुक्रवार को इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानको विदेश मन्त्रालयकी सचिव तेहमिना जान्जुआले पाकिस्ता सार्क सम्मेलन आयोजना गर्न तयार रहेको बताएकी हुन्।
पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताको यस्तो भनाई आएको भोलीपल्ट नै भारतले यसलाई अस्वीकार गरिदियो। भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री मोदी पाकिस्तान नजाने स्पष्ट पारिन्।
उनले सीमा क्षेत्रमा पाकिस्तानले आतंकवादी गतिविधि नियन्त्रण नगर्दासम्म पाकिस्तानसँग सम्वाद नहुने भन्दै भनेका थिइन्, ‘प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा सहभागी हुन पाकिस्तान जाने छैनन्। धेरै वर्षदेखि भारत सरकारले करतारपुर कोरिडोरको विषयमा कुरा गरिरहेको थियो। अहिले बल्ल पाकिस्तानले सकरात्मक संकेत दिएको छ। यसको मतलब यो होइन की द्वीपक्षीय सम्बाद सुरु भयो। आतंक र संवाद एकैपटक हुनै सक्दैन।’
नेपालको सार्थक प्रयास आवश्यक
सार्कको अध्यक्ष नेपाल छ। नेपालले अध्यक्षको हैसियतले बिम्स्टेकको सम्मेलन सफल रुपमा आयोजना गरि अध्यक्षता श्रीलंकालाई हस्तान्तर गरिसकेको छ। तर पछिल्लो समय सार्कलाई गतिशील बनाउने नेपालले सार्थक प्रयास गर्न सकेको छैन।
सार्कमा महासचिव अम्जद हुसेन बी सियालले सार्क सम्मेलन आयोजनाका लागि नेपाल सरकारसँग पहल गरिरहेका छन्। उनी पाकिस्तानी हुन्। पटक पटक नेपालले सार्कलाई गति दिने कुरा गर्दै आएको पनि छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सार्कलाई गति दिने बताउँदै आएका छन्।
गत सातामा मात्र काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटमा प्रधानमन्त्री ओलीले सार्कलाई गति दिन भूमिका खेल्ने बताएका थिए। उनले पाकिस्तानमा हुने सम्मेलन सफल बनाउन नेपालको तर्फबाट सार्थक पहल हुने प्रतिवद्धतासमेत जनाएका थिए।
परराष्ट्रमन्त्रीले सार्कलाई विकल्प नभएको बताउँदै आएका छन्। तर सार्क यो दुई वर्षमा गतिहिन बन्दै गएको छ। यसबीच दुई पटक न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा सार्कका परराष्ट्रमन्त्रीहरुको भेट भएको छ। तर त्यो भेटले कुनै निर्णय लिन सकेको देखिँदैन।
सार्कलाई गति दिन नेपालले अधिकतम पहल गर्नुपर्ने परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्। ‘नेपाल सार्कको अध्यक्ष हो। नेपालले नै अधिक पहल गर्नुपर्छ,’ उनले भने, ‘सार्क कसैको पनि विकल्प हुन सक्दैन। यसलाई अगाडि बढाउनुपर्छ। सम्मेलन आयोजनाको पहल गर्नुपर्छ।’
सार्कलाई गतिदिन सम्मेलन पाकिस्तानमा हुन नसके नेपाल बाहेक अन्य देशमा गर्न सकिने उनले बताए। ‘पाकिस्तानमा सम्पन्न हुन नसके अर्को देशमा भए पनि गर्नुपर्छ। सबै देशहरुको सहमतिमा साझा स्थान खोज्न सकिन्छ। त्यो नेपाल पनि हुन सक्छ। श्रीलंका पनि हुन सक्छ। पाकिस्तानमा अर्को सम्मेलन गर्दा हुन्छ,’ उनले भने, ‘सबै देशलाई स्वीकार्य हुने अवस्थामा ल्याउन नेपालको भूमिका महत्त्वपूर्ण हुन्छ।’