PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ए डिभिजन लिग : म्याक्सवेलले इन्जुरी टाइममा गोल गरेपछि संकटाको जित, पुलिस र हिमालयन शेर्पाले अंक बाँडे



पहिलोपोस्ट

ए डिभिजन लिग : म्याक्सवेलले इन्जुरी टाइममा गोल गरेपछि संकटाको जित, पुलिस र हिमालयन शेर्पाले अंक बाँडे

काठमाडौँ : संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ। विदेशी खेलाडी म्याक्सवेलले इन्जुरी टाइममा एक मात्र गोलगरेपछि संकटाले एनआरटीलाई १-० ले हरायो।

हलचोकस्थित एपीएपको मैदानमा शनिवार भएको दोस्रो खेलमा संकटालाई सिजनको छैटौँ जित दिलाउन म्याक्सवेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे।

जितपछि संकटाले सात खेलबाट मनाङ समान १८ अंक जोडेको छ र गोलअन्तरमा दोस्रो स्थानमा छ। मनाङले एक खेल कम खेलेको छ। एनआरटीको भने यो लगातार छैटौँ हार हो।

उद्घाटन खेलमा आर्मीसँग बराबरी खेल्दै एक अंक जोडेको एनआरटी १४ क्लब सम्मिलित लिगमा पूछारमा छ।

शनिवारै भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीलाई आजको खेल जित्दै अंक तालिकामा अगाडी बढ्ने मौका थियो। तर हलचोकमै भएको खेलमा पुलिसले पहिले अग्रता लिएर पनि कायम राख्न सकेन। पहिलो हाफमा गोल गरेको पुलिसले शेर्पासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको ३०औँ मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको शेर्पाका लागि ७०औँ मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए।

बराबरीपछि सात खेलबाट पुलिस र शेर्पाले समान ११ अंक जोडेका छन्। गोलअन्तरमा पुलिस शेर्पाभन्दा अगाडी छ। पुलिस पाँचौ र शेर्पा छैटौँ स्थानमा छ।

बराबरीपछि लिगमा आधाभन्दा बढी खेल खेलिसकेको पुलिस र शेर्पाको उपाधि होड कमजोर बनेको छ। दुवै क्लब शीर्ष स्थानको मनाङ भन्दा ७ अंकले पछि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell