काठमाडौँ : उद्घाटन खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुर प्याट्रिओट्सले आइतवार चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। ललितपुरले अन्तिम ओभरमा २० रन जोडेको थियो।
ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रन बनाए। यस्तै गौरव तोमारले ३०, जयकिसन कोल्सावालाले २० र सन्नी पटेलले १९ रन बनाए। सातौँ नम्वरमा ब्याटिङ गरेका सन्दिप जोराले ८ बल खेल्दै नटआउट २५ रन जोडे। उनले अन्तिम ओभरमा ६ छक्कासहित १९ रन प्रहार गरेका थिए। जोराले एक चौका र तीन छक्का प्रहार गरे। चितवनका जर्ज स्कटले २ विकेट लिए।
१४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। यस सिजन पहिलो खेल खेलेको चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ र कप्तान पृथु बास्कोटाले २६ रन बनाए। यी दुईले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए। अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा चितवन जितसम्म पुग्न सकेन।
बलिङमा ललितपुरका सन्नीप लामिछाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिए।
सन्दिप खेलको म्यान अफ दि म्याच घोषित भए।
ललितपुरको लागि सुरुवाती दुई खेल खेलिसकेका सन्दिपले अब इपीएलमा यस सिजनको बाँकी खेल खेल्ने छैनन्। अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल) खेल्न सन्दिप आज बेलुका अष्ट्रेलिया जाँदैछन्।
पहिलो जितपछि राहत महसुस गरेका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले क्वालिफायरमा पुग्न जित्नैपर्ने खेल रहेकोले त्यही अनुसार खेलेको बताए। 'हाम्रो लागि मोस्ट विन म्याच थियो। हामीसँग लएउटामात्र मिडियम पेसर हुँदा पनि हाम्रो स्पिन अट्याकले राम्रो प्रदर्शन गरे।' मल्लले भने।
उनले ब्याटिङमा सोनु तामाङ र सन्दिप जोराको प्रदर्शनको तारिफ गरे। 'सोनु र जोराले राम्रो पिनिसिङ गरे। त्यसले गर्दा नै हामी विनिङ पोजिसनमा पुग्न सक्यौँ। दुवैले उत्कृष्ट खेले।'
उता पराजित चितवनका कप्तान पृथु बास्कोटचाले पनि जोराले अन्तिम ओभरमा धेरै रन बनाउँदा खेलमा गाह्रो भएको प्रतिक्रिया दिए।
'समग्रमा हामीले राम्रो खेल्यौँ। बलिङमा पनि राम्रो सुरुवात गरेका थियौँ। तर अन्तिम ओभरमा धेरै रन गयो। बास्कोटाले भने। १४४ रन चेजेबल नै थियो। तर ब्याटिङमा सुरुमै विकेट जाँहा हामीलाई चेस गर्न गाह्रो भयो।'