
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी-२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गर्दैछन्।
बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीप काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा सुरुको दुई खेल खेलेर आइतबार अष्ट्रेलिया लागेका हुन्। सन्दीप आइतबार राति ९:५५ सिल्क एअरबाट अष्ट्रलिया प्रस्थान गरेका हुन्।
सन्दीपले ललितपुर प्याट्रिओट्सको लागि दुई खेल खेले। शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध २ तथा आइतबार चितवन टाइगर्स विरुद्ध ३ विकेट लिए। चितवनविरुद्धको जितमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिप म्यान अफ दि म्याच बने। उनले अब इपीएलको बाँकी खेल गुमाएका छन्।
सन्दीपलाई बीबीएलमा मेलवर्न स्टार्स विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो। नेपाली खेलाडीको लागि यो ठूलो अवसर र चुनौती पनि हो। पहिलो पटक बीबीएलमा छनोट भएका सन्दीप अष्ट्रेलियामा खेल्न उत्साहित छन्। सन्दीपको टिम मेलवर्न स्टार्सले यस सिजनको पहिलो खेल डिसेम्वर २१ मा सिड्नी थण्डरसँग खेल्दैछ।
सन्दीपले दुई जना मात्र विदेशी खेलाडी रहेकाले पहिलो रोजाईमा खेल्न पाउने आश रहेको बताएका छन्।
उनले यसअघि वानडे वर्ल्डकप विनिङ कप्तान माइकल क्लार्कको सहयोगमा अष्ट्रेलियन ग्रेड क्रिकेट खेलेका थिए भने क्लार्क एकेडेमीमा प्रशिक्षण समेत गरेका थिए।
बीबीएस सिजन-८ यही डिसेम्वर १९ देखि सुरु हुँदैछ। टिमसँग घुलमिल हुनका साथै प्राक्टिस र ट्रेनिङ गर्न सन्दीप केही दिन अगाडी नै अष्ट्रेलिया जान लागेका हुन्। बीबीएल भन्दा अगाडी नै बंगलादेश प्रिमियर लिग बीपीएलमा अनुबन्ध भइसकेका सन्दीपले बीबीएलको केही खेले खेलेर बीपीएल खेल्ने बंगलादेश जाने बताएका छन्।
बीपीएलमा सन्दीपलाई सिलेट सिक्सर्सले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो।
गत सिजन इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी-२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी-२० लिग खेलिसकेका छन्। बीबीएल खेलेपछि सन्दीपको त्यो छैटौँ फ्रेन्चाइज लिग हुनेछ भने बीपीएल सातौँ। यस्तै सन्दीप पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि अनुबन्ध भइसकेका छन्। सन्दीपलाई एबी डे भिलियर्स रहेको टिम लाहोर कलन्दर्सले अनुबन्ध गरेको छ।
सन्दीपले यसबीचमा क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट ग्राउण्डमा भएको च्यारिटी म्याचमा आइसीसी वर्ल्ड ११ को प्रतिनिधित्व गर्दै टी-२० इन्टरनेशनलमा समेत डेब्यु गरिसकेका छन्। यस्तै गत अगष्टमा नेदरल्याण्ड्ससँग भएको नेपालको पहिलो ओडिआई सिरिजमा सन्दीपले नेदरल्याण्ड्स विरुद्ध दुवै खेल खेले।
सन्दीपले नेपालमा इपीएल र पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग समेत खेलिसकेका छन्।