
काठमाडौं : डीना ख्रेइनो निर्देशित ‘फाइन लाइन्स’ प्रदर्शनपछि १६औँ संस्करणको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को समापन भएको छ।
राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा भएको पाँच दिने किम्फमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गर्ल्स लाइक मी’ले प्रथम पुरस्कार जित्यो। फिल्मले अमेरिकी डलर १ हजार ५ सय नगद पुरस्कार पायो।
त्यस्तै अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भयो र १ हजार डलर जित्यो। मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ले तेस्रो हुँदै ५ सय डलर जितेको छ।
नेपाल पानोरामा अन्तर्गत आख्यानमा अविनास विक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाईं र कमल कुमारको ‘मरिसकेको मान्छे’ ले उत्कृष्ट भए। फिल्महरुले क्रमशः नेपाली रुपैयाँ एक लाख र ७५ हजार पुरस्कार जितेको छ।
उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ र उत्कृष्ट साहसिक फिल्म प्रसुना डंगोलको ‘डोल्पा डायरी’ले घोषित भए। दुबै फिल्मले १ हजार अमेरिकी डलरको नगद पुरस्कार पाए।
छोटो फिल्म ‘सुपर मङ्क’ले सबैभन्दा बढी दर्शकहरूको रोजाइमा परि ‘अडियन्स अवार्ड’ जित्यो। फिल्मले ५० हजार रुपैयाँको नगद राशी जितेको छ।
किम्फका अध्यक्ष बसन्त थापाले महोत्सव सफल भएकोमा खुशी र सकिन लागेकोमा दु:खी भएको जनाए। भने,’अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरु लिएर आउने तयारी थाल्नेछौं। योपटक सहभागी सम्पूर्णलाई बधाई तथा धन्यवाद।’
जेनिफर पिडमको माउन्टेन फिल्म प्रदर्शनबाट सुरु भएको किम्फमा ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइएको थियो।
‘वुमन मुभ माउन्टेन्स’ नारा रहेको किम्फमा ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्ष मुनिका युवाहरुको सर्ट फिल्म प्रतियोगिता गरेको थियो जसमा सुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ ले उत्कृष्ट हुँदै २५ हजार रुपैया जितेको छ।