
काठमाडौँ : ललितपुर प्याट्रिओट्स काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा एक खेल अगावै प्लेअपमा प्रवेश गरेको छ।
बुधवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको दोस्रो खेलमा काठमाडौँ किंग्स ११ लाई १० विकेटले पराजित गर्दै ललितपुर लगातार तीन खेल जितेर प्लेअपमा पुगेको हो। उद्घाटन खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसपछि पोखरा राइनोजर चितवन टाइगर्सलाई पराजित गरेको थियो। ललितपुरले अब भैरहवा ग्लाडिएटर्ससँग खेल्न बाँकी छ।
उता पहिलो खेलमा चितवनलाई पराजित गरेको काठमाडौँको यो पहिलो हार हो।
आफ्नो चौथो खेलमा काठमाडौँले दिएको ११० रनको लक्ष्य ललितपुरले १०.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। ललितपुरको जितमा भारतीय ब्याट्सम्यानद्वय गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे। तोमारले नटआउट ८० रन बनाउँदा कोल्शावाला २७ रनमा नटआउट रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.५ बलमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नियमित कप्तान सोमपाल कामीको अनुपस्थितीमा कप्तानी सम्हालेका आइरिस खेलाडी केभिन ओ ब्रा'एनले काठमाडौँका लागि सर्वाधिक ४२ रन बनाए। यस्तै सिद्धान्त लोहनीले २१ र संसाद शेखले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। काठमाडौँका तीन खेलाडी शन्यमा आउट भएका थिए।
काठमाडौँलाई अलआउट गर्न ललितपुरका पवन सराफले ४ ओभरमा २२ रन रख्चेर ३ विकेट लिए। यस्तै राशिद खानले ३.५ ओभरमा १७ खर्चेर २ विकेट लिए। योगेन्द्रसिंह कार्कीले पनि २ विकेट लिए।