
काठमाडौँ : विदेशी खेलाडी भिक्टोरको पेनाल्टी गोल मद्दतमा सरस्वती युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सिजनको तेस्रो जित हात पारेको छ। खेलको अन्त्यतिर दश खेलाडीमा झरेर खेलेको सरस्वतीले एनआरटीलाई १-० ले पराजित गरेको हो।
७४औँ मिनेटमा प्राप्त पेनाल्टीमा भिक्टोरले गोल गर्दै सरस्वतीलाई अग्रता दलाएका थिए। एनआरटीका खेलाडी डि एरियामा बल ह्याण्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो। जसमा भिक्टोरले सहजै गोल गरे।
८६औँ मिनेटमा अर्का विदेशी खेलाडी फ्रान्सिस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सरस्वती दश खेलाडीमा झरेको थियो।
सिजनको तेस्रो जितपछि ८ खेलबाट ९ अंक जोडेको सरस्वती युथ क्लब नवौँ स्थानमा यथावत छ। सर्सवती भन्दा अगाडी रहेका दुई क्लब च्यास युथ र एपीएफको समान १० अंक छ। दुवै कलबले एक खेल कम खेलेको छ।
यस सिजन अझै जित हात पार्न नसकेको एनआरटीको यो लगातार सातौँ हार हो। उद्घाटन खेलमै त्रिभुवन आर्मीसँग २-२ गोलको बराबरी खेलेको एनआरटी त्यसयता सबै खेलमा पराजित भएको छ। ८ खेलबाट १ अक मात्र रहेको एनआरटी १४ क्लब सम्मिलित लिगमा पुछारमा छ।