PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फेरि 'सारेगमप' मै जाने तयारीमा मेनुका पौडेल

फेरि 'सारेगमप' मै जाने तयारीमा मेनुका पौडेल

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपाल आइडलको शीर्ष ११ बाट बाहिरिएकी गायिका मेनुका पौडेलको 'सारेगमप' यात्रा पनि शीर्ष ११ मै आएर टुङ्गियो। भारतको चर्चित सोबाट दर्शक अनि निर्णायकको मन जितेकी मेनुकाको यात्रा कस्तो रह्यो त? 

उनको यस्तो रहेछ अनुभव
सुरुमा त 'सारेगमप'को नेपालमा अडिसन आयो। अडिसनमा गएँ। पहिलो र दोस्रो चरण पार गरेपछि तेश्रो अडिसन राउण्डका लागि कोलकाता लगियो। त्यसपछिको स्टूडियो राउण्ड, जी टेलिभिजनमै भयो।

तर,यताबाट हेर्दा जस्तो देखिन्छ, त्यस्तो नहुँदो रहेछ। नेपालको गायन रियालिटी सो र इन्डियाकोमा धेरै अन्तर पाएँ। त्यहाँका मान्छेहरु ज्यादै प्रोफेसनल हुनुहुन्छ। यहाँ र त्यहाँ आकाश र जमिनको फरक छ।

म नेपाल आइडलमा पनि टप ११ सम्म पुगेंँ। 'सारेगमपमा' पनि टप ११ सम्मै पुगेंँ। त्यहाँ त सारेगमपको जुरी सदस्य १५ जनाले पनि अंक दिनुपर्ने हुन्छ। त्यस पछाडि तीन जना जज। उता सेटमा फूल अडियन्स। उता त सबै म्यूजिकमा अडिसन गरिन्छ। नेपाल आइडलको प्रि-अडिसनमा म्यूजिक हुँदैन। 

त्यस्तै नेपाल आइडलमा त कार्यक्रम सकेपछि बोल्ने हात मिलाउने हुन्छ। त्यता त जे हुन्छ क्यामेराअघि मात्रै। क्यामरा अघि जे जे हुन्छ यहाँहरुले बाहिर पनि त्यही हुन्छ भन्ने सोच्नु भएको भए त्यो गलत हुन्छ। कार्यक्रम सकेपछि तपाईँको आवाजको त्यहाँ प्रशंसा हुँदैन। मेरो हकमा मात्र हैन सबैको हकमा।

उता त मिडियाले नराम्रो भिडियो हाले सिधै ब्लक गराइन्छ। समयको एकदमै ख्याल राख्नुपर्ने हुन्छ। म दुई महिना बसेंँ। यताबाट जान खर्च लाग्यो। त्यहाँ बसुन्जेल जी टिभीले नै खर्च व्यहोर्‍यो।

सो मा सेलेक्ट नभए अर्कोपालि फेरि जान्छु भन्ने सोचेर गाएको थिएँ। तर, सेलेक्ट भएँ। दुवै गायन रियालिटी सो ११ मा टुङ्गिएको छ।

सिक्ने र सिकाउनेको क्रम कहिल्यै पनि सकिँदैन। प्रयास गर्न छोड्नुहुँदैन भन्ने मेरो मान्यता हो। म फेरि पनि त्यही सोमा जाने प्रयास गर्दैछु। अर्को वर्ष पनि यस्तै भयो भने म सोच्छु मलाई ११ नम्बर फाप्दैन रहेछ।

नेपालको प्रतिनिधित्व गरेर 'सारेगमपमा' म मात्रै थिएँ। एकदम खुशी छु देशलाई प्रधिनिधित्व गर्न पाउँदा। मलाई जी टेलिभिजनकै राज विश्वकर्मा, अनुप र आनन्द सरले गायन सिकाउनु हुन्थ्यो।

नेपाली भाषी भए पनि मलाई हिन्दी भाषामा खासै समस्या भएन। किनकि म बस्ने ठाउँमा हिन्दी पनि बोलिन्छ।

(रीना मोक्तानले गरेको कुराकानीमा आधारित)



ट्रेन्डिङ पोस्ट

Ncell