
काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को नयाँ गीत सार्वजनिक भएको छ। ‘रहर छ सँगै...’ बोलको गीतमा अनमोलसँगै उपासना सिंह ठकुरी फिचर्ड छिन्। दिग्गज धौरालीको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ।
सुपर काजोल फिल्म्सको यो नवौं फिल्म हो। फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। फिल्म फागुन १७ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मले फुटबल खेलाडीको कथा बोकेको छ। फिल्ममा प्रशान्त ताम्राकार अनमोलको कोचको भुमिकामा छन्। वास्तविक कोच पूर्व रार्ष्ट्रिय फुटबल खेलाडी हरि खड्काले अनमोललाई फुटबल सिकाएका छन्। फिल्मबारे बोल्दै गर्दा अनमोलले आफूले विद्यालयमा कहिल्यै फुटबल खेल्ने अवसर नपाएको बताए। उनले भने, ‘लम्बु छ बास्केटबल खेल भन्थे।'
फिल्मका कलाकार सरोज खनालले फिल्मको भूमिका उनको फिल्म करियरकै गाह्रो रहेको बताए। निर्देशक भट्टराईले स्पोर्ट्स ड्रामामा फिल्म बनाउन कठिन रहेको बताए। फिल्मकी अर्की अभिनेत्री प्रियांका एमभीले अनमोल क्युट लागेको बताइन्।