
सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय बढिरहेको धर्म परिवर्तनलाई रोक्नु पर्ने बताएका छन्। धर्म परिवर्तनले मुलुक दोस्रो बाटोमा जान थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। कर्णालीको राजधानी सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै बिहीवार यस्तो चिन्ता व्यक्त गरेका हुन्।
‘पछिल्लो सयम वनमा दन्किँदै गरेको डढेलो जस्तै धर्म परिवर्तनलाई तत्काल रोक्नुपर्छ,’ उनले भने, ‘विभिन्न बाहनाबाजीमा अहिले धर्म परिवर्तनको खेल भइरहेको छ। सबै सचेत बन्न जरुरी छ।’
त्यस्तै अहिलेको अवस्थाबाटै देश अघि बढेमा ठुलो दुर्घटनामा देश जान सक्ने बताए। विदेशीको हस्तक्षेप बढ्दै गएकाले देशलाई तत्काल निकासको बाटोतर्फ लैजान आवश्यक रहेको बताए।
‘देश अहिले अर्कैको इसारामा चलिरहेको छ। विदेशी हस्तक्षेप बढिरहेको छ,’ उनले भने, ‘यसको परिणामले मुलुकले ठूलो दुर्घटना पर्न सक्ने सम्भावना छ।’
अहिले सर्वसाधारण नागरिकलाई जबरजस्ती ढंगले थोपारिएको र लादिएको विचारलाई पुर्नविचार गर्नुपर्ने समय आएको बताए।
पार्टी भित्र अहिले एकताको प्रयास भइरहेको बताए। राप्रपा एक भए कहिल्यै नफुट्ने गरी जुट्ने प्रयास गरिरहेकाले ढिलाइ भएको बताए। सनातन हिन्दु राष्ट्र, राजा सहितको प्रजातन्त्र र गाई चुनाव चिन्ह बटमलाइन हुने स्पस्ट पारे।
अब पार्टी सत्ता केन्द्रित नभएर संगठन मजबुत बनाउँदै जनभावना अनुरुप आदर्शको राजनीति गर्ने अध्यक्ष थापाले उद्घोष गरे।