PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

निर्जिव ख्वा:पामा 'एक्सप्रेसन' भर्दै सुरज : तामा र पित्तलमा कसरी आउँछ मानवीय संवेदना?

निर्जिव ख्वा:पामा 'एक्सप्रेसन' भर्दै सुरज : तामा र पित्तलमा कसरी आउँछ मानवीय संवेदना?

सहयोग रञ्जित/पहिलोपोस्ट


पाटनका ६१ वर्षे पूर्णरत्न शाक्यले आफ्नो जीवनभर हस्तकला क्षेत्रमा लगाए। भैरव र सिंगिनीको ख्वा:पा  (मुकुन्डो) बनाए, आफ्नै डिजाइनमा। तर, उनले गरेको काम केही व्यक्तिमा सीमित रह्यो। छिमेकीले पूर्णरत्नलाई राम्रो कलाकार भनेर त चिन्थे तर उनले के बनाउँछन् भन्नेबारे कमैलाई मात्र थाहा थियो। पाटनकै मानिसहरुबीच उनी गुमनाम थिए। 
  
तर, चार पुस्तादेखि शाक्य परिवारले बनाउँदै आएको ख्वा:पा कलालाई नेपथ्यमा सीमित गर्न पूर्णमानका ३८ वर्षे छोरा सुरज शाक्यलाई मान्य भएन। उनले आफ्नो बाजे, बुबाको नामलाई चिनाउने अठोट लिए।
 
पूर्णमान रिपोसे कलामा दक्ष थिए। सुरजले बुबाबाट त्यो कला सिके।

ख्वा:पा वा कुनै मूर्ति बनाउन सुरुमा तामा वा पित्तल पातामा वस्तुको स्केच बनाएर पाताको पछाडिबाट हथौडा लगायतका औजारले हिर्काएर आकृति तयार गरिन्छ। त्यसलाई नेपाल भाषामा 'थ्व:ज्या' भनिन्छ। 

आकृति बनिसकेपछि विभिन्न टुक्रा जोड्ने काम हुन्छ त्यसलाई 'मा:ज्या' भनिन्छ। 'थ्व:ज्या र मा:ज्या'लाई नै रिपोसे कला भनेर चिनिन्छ। 

बुबाले बनाउँदै आएको ख्वा:पाको डिजाइन नबिग्रने गरी सुरजले त्यसमा बहुमूल्य पत्थर, सुन, चाँदी, क्रिस्टल र हड्डी राखेर सजाउने कला प्रयोगमा ल्याए। त्यसरी पत्थर लगायतका सामाग्री सजाउने कार्यलाई 'फिलिगिरि' (ब्व:ज्या) कला भनिन्छ।

आफ्नो बुबाले बनाएको भैरव र सिंगिनीको ख्वा:पाको मौलिक डिजाइन नबिग्रने गरी त्यसलाई आफ्नो शैलीमा बनाउन थालेको बताउँछन्, सुरज। भन्छन्, 'तामा र पित्तललाई ठोकेर तयार परिएको ख्वा:पामाथि नयाँ प्रयोग सुर गरेँ। त्यसमा गाइनेड, टर्कोइज, ल्यापिस र कोरल पत्थर प्रयोग गरी नयाँ किसिमको ख्वा:पा बनाउन सुरु गरे। ख्वा:पामा क्रिस्टल, सुनको जलपबाट आँखा र सिङ, रागाँको हड्डी र शंखका भागबाट दाँतहरु बनाएर ख्वा:पालाई मोर्डन टच दिए।'

उनले ख्वा:पालाई दिएको 'मोर्डन टच'लाई पूर्णरत्नले तारिफ गरे। सुरजको हौसला बढ्यो। सुरज भन्छन्, 'पहिला रियल स्टोन राखिँदैन थियो। मैले रियल स्टोन राखेर बनाउन सुरु गरे।' 

उनले ख्वा:पा बनाउने कलामा मात्रै आफूलाई सीमित राखेनन्। मण्डला, स्वयम्भू स्तूप, भैरवको अर्धकदको मुर्ति, उल्लु, टिबेटियन मास्क, म्यानुस्क्रिप्ट, जरो:ज्या सिंह समेत बनाए। 

सुरजले बनाएका सिंगीनी, स्वेत भैरव, काल भैरव, बाराही, गरुड, गणेशको ख्वा:पाहरु अष्टमातृकासँग सम्बन्धित छन्। ख्वा:पाको आकृतिलाई 'रियलास्टिक' बनाउन उनले अनुसन्धान गेर। जात्रामा गए, देवगणहरुको 'एक्सप्रेसन'लाई नियाले। त्यसलाई बुझेर निर्जिव ख्वा:पामा सुरजले 'एक्सप्रेसन' ल्याउन प्रयास गरे।
 
पाटनको लुकुसीका सुरजलाई एउटा ख्वा:पा बनाउनका लागि दुई महिनादेखि ८ महिनासम्म लाग्छ। करिब १८ इन्चको सबैभन्दा ठूलो बाराहीको ख्वा:पा बनाउन उनलाई ८ महिना लाग्यो। ६ इन्चका ख्वा:पा बनाउन भने दुई-तीन महिनामा सकाए। ख्वा:पा बनाउँदा पाता फुट्ने, चर्कने समस्या हुने भएकोले संवेदनशील भएर विस्तारै काम गर्ने गरेको बताउँछन् उनी। 

हस्तकला सिक्दै गर्दा आफ्नै बहिनीका लागि नेवार समुदायमा विवाहका क्रममा लगाइने 'ताया:' (एक प्रकारको गहना) बनाउन समेत भ्याए उनले।  भन्छन्, 'त्यो बनाएको मलाई नै चित्त बुझेन। पहिलो प्रयास थियो।' 
***
सुरजले आफूले गरेको नयाँ प्रयोगलाई केही व्यक्तिमा मात्रै सीमित राख्न चाहेनन्। आफ्नो पुर्खाको कलालाई विश्वमाझ चिनाउन चाहे। नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा ललितपुरको नागबहालमा भएको हस्तकला प्रदर्शनीमा पहिलोपटक आफूले बनाएका ख्वा:पा प्रदर्शनीमा राखे। बुबा पूर्णरत्नको नाममा स्टल लिए। पहिलो पुस्कार पनि पाए। 

बुबाको नामलाई चिनाउन पाउँदा गौरव महसुस गर्दै घरमा बनाएर केही मान्छेबीच बेचिने ख्वा:पालाई बाहिर ल्याउन सके त्यसले राम्रो बजार पाउने कुरा बुझे। त्यसपछि सुरजले प्रण गरे - 'यही फिल्डमा काम गर्ने, बाजेबुबाको नाम स्थापित गराउने।' 

हस्तकलाबाट 'रिटायरमेन्ट' लिइसकेका बुबाको प्रेरणामा करिब १७ वर्षदेखि बनाएका ख्वा:पाहरुलाई प्रदर्शनीमा राख्ने निधो गरे। सुरज भन्छन्, 'तर बेच्न होइन। अरुलाई देखाउन, चिनाउन।' 

सुरजले पहिलो पटक एकल हस्तकला प्रदर्शनी आयोजना गरे पाटन दरबार संग्रहालयमा। प्रदर्शनीको नाम राखे 'ख्वा:पा (द मास्क) : ए पिन्च फर्म माइ हेरिटेज एन्ड ट्रेडिसन।' पूर्णमानले पेशागत रुपमा सुरु गरेको ख्वा:पा कलालाई सुरजले सांस्कृतिक रुपमा संरक्षण गर्ने प्रयत्न गरे। 

हजार जनाभन्दा बढीले सुरजको हस्तकला हेरे। तारिफ गरे। विदेशी पर्यटकहरुले रुचाए। नेपालीहरुले नौलो स्वाद पाए उनको ख्वा:पाहरुमा। भन्छन्, 'यस्तो फिलिगिरि गरेका ख्वा:पाहरु अरु ठाउँमा छैन। यो यहाँ आउने सबैका लागि नौलो हो। पर्यटकहरुले विदेशमा पनि यसको प्रदर्शनी गर्न सुझाव दिएका छन्।'

मंसिर १४ गतेदेखि २४ गतेसम्म भएको प्रदर्शनीबाट उर्जा मिलेको बताउँदै सुरजले भने, 'बाले पाटनमा आफ्नो पूरा जीवन ख्वा:पा बनाएर बिताउनु भयो। पाटनमा प्रदर्शनी हेर्न आउने धेरै स्थानीयहरुलाई भने बाले यस्तो बनाउँछन् भन्ने थाहा रहेनछ।'

प्रदर्शनीबाट अहिले भए पनि आफ्नो पुर्खालाई चिनाउन सफल भएकोमा खुशी छन्, उनी।   

'मेलामा स्टल लियो, अनि बेच्यो। यसमा मात्रै हाम्रा काम र कलाहरु सीमित भए। स्टलमा राखिएको टेबलभन्दा बाहिर हामी कहिल्यै जान सकेनौं,' भन्दै सुरजले साथीभाइ, घर परिवारबाट एकल प्रदर्शनी गर्न हौसला मिलेको बताए।

आफ्नो हजुरबुबा कृष्णमान शाक्यको तारिफ गर्दा उनले बनाएको हस्तकला हेर्न पाए हुन्थ्यो जस्तो लाग्यो उनलाई। बुबाले बनाएको ख्वा:पा भएको भए प्रदर्शनीको महत्व अझै बढ्ने बुझे। तर, उनीहरुले बनाएका कुनै कलाकृति शाक्य परिवारसँग थिएन।
 
'तिम्रो बाजेले कस्तो राम्रो मुर्ति बनाउँथ्यो भन्छन्। बाको प्रशंसा गर्छन्। तर, बुबा बाजेले बनाएको कलाकृति अहिले हामीसँग छैन। त्यो हेर्न पाए हुन्थ्यो जस्तो लाग्छ,' सुरज भावुक हुँदै प्रश्न गर्छन्, 'हाम्रो काम बनाएर बेच्नेमात्र हो? भावी पुस्ताका लागि के देखाउने? त्यो प्रदर्शन मैले बनाएको ख्वा:पा बेच्न पक्कै थिएन। मानिसहरुले हामी र हाम्रो कामलाई चिनोस् भनेर हो।'

हाल उनका बुबा पूर्णरत्न हस्तकलामा सक्रिय छैनन्। तर, सुरज भने बुबासँग अझै आफ्ना कलाका बारेमा जिज्ञासा राख्छन्। पूर्णरत्न पनि आफ्नो छोराको कृति देखेर खुशी छन्। ख्वा:पा बनाउँदा केही नमिलेको जस्तो लागे सुझाव दिन्छन्। सुरज भन्छन्, 'बुबालाई मप्रति गौरव छ र मलाई मेरो पुर्खाप्रति। उहाँहरुको वंशजका रुपमा जन्मँदा म आफूलाई भाग्यमानी ठान्छु।'
***
सुरजलाई परिवारबाट 'कल्चलर फ्रिडम' ( सांस्कृतिक स्वतन्त्रता) मिल्यो। अत: उनी आफ्नो पुर्खादेखि चलिएको पेशातर्फ आकर्षित भए। उनलाई  परिवारले हस्तकलालाई व्यवसायिक बनाउनुपर्छ भनेर कर कहिल्यै गरेन। बुबाको मिहिनेत देखेर आफै त्यसमा लागे। 
तर, १३ वर्ष हुँदा नै आफ्नो बुबाबाट ख्वा:पा बनाउने कला सिकेका सुरजलाई बुबा जस्तै 'पर्फेक्ट' हुन केही समय लाग्यो, जीवनमा नयाँ मोडहरुको सामना गर्नुपर्यो। सुरजले हस्तकला त्यागे।

'प्लस टु-ब्याचलर पढ्दै गर्दा हस्तकला गरेर केही हुन्न जस्तो लाग्यो,' मुस्कुराउँदै सुनाए, 'हस्तकलाबाट ब्रेक लिएर जागिर गरेँ।' 

तर, जागिरमा 'स्याटिस्फाइड' भएनन्। साथीभाइले काष्ठकलामा राम्रो गरेको देखे। आफ्नै पुर्खाले गरिआएको कामलाई नै निरन्तरता दिएर स्थापित गर्न सकिन्छ भन्ने मनन् गरे। जागिर छाडे। अनि सुरु गरे हस्तकलालार्इ जीवन्त बनाउने काम। 

यद्यपी, ख्वा:पा बनाउँदै सुरजले बिजनेस स्टडिजमा मास्टर्स गर्न भ्याए। 

अहिले हस्तकलालाई आफ्नो बिजनेस बनाएका सुरज भन्छन्, 'मभन्दा धेरै राम्रो हस्तकला गर्ने मानिसहरु छन्। उनी आफ्नै खर्चमा मुर्ति बनाउँछन्। तर, बिक्री भएन भने त घाटा भयो नि। सबैले अघि आएर आफ्नो कला प्रदर्शन गर्नु पर्छ।' 

तर, सबैले एकल प्रदर्शनी गर्न सहज नहुने भन्दै सबै मिलेर हस्तकला क्षेत्रको संरक्षण गर्न सक्ने उनको मत छ। हस्तकलाको डिमान्ड क्रिएट गर्न कलाकारहरुले बनाउने सामाग्रीको प्रचारप्रसार गरेमात्रै तिनीहरुको 'डिमान्ड क्रिएट' गर्न सकिने सुरज बताउँछन्। 
 
पाटन विश्वकै ३५ औं कला नगरीमा परेको भन्दै उनी भन्छन्, 'हस्तकला, काष्ठकला पेशा धरासायी हुनसक्ने अवस्थामा छ। पाटनलाई चिनाएको नै यहाँको त्यस्तै कलात्मक र सांस्कृतिक धरोहरले हो। कन्क्रिटका बिल्डिङ त जहाँतही छन्। यहाँका कलाकारहरुले बनाएका सामानहरु प्रवर्द्धन गर्ने उद्देश्यले सानो संग्रहलय बनाउन सकेमात्र पनि भविष्यका लागि त्यो मौलिक संस्कृतिको जगेर्ना हुन्थ्यो।' 

नेवार समुदायमा ख्वा:पाको विशेष महत्व छ। विभिन्न जात्रा वा चाडपर्वमा प्रयोग गरिने ख्वा:पाको आफ्नै इतिहास र मौलिकता रहेको छ। कुनै ख्वा:पा दैव्यशक्तिको प्रतीकका रुपमा रहेको हुन्छ भने कुनैले दानवत्वको व्याख्या गरेको हुन्छ। ख्वा:पा बनाउने पेशा सुरु गर्नु पछाडिको स्रोत यस्तै ऐतिहासिक संस्कार र परम्परा हुन्। तिनीहरुको संरक्षण र सम्बर्द्धन गर्न सके मात्रै भावी पुस्ताका लागि ख्वा:पाहरुको अस्तित्व रहन सक्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell