- किशोर नेपाल-
“किन? तेरो मूड त रातारात स्विङ् गर्यो? किन तेरो मूडले यति आत्मघाती निर्णय गर्यो भन त?” सुदिप्तीले प्रश्न गरी।
“मन लागेन। सँधै एउटै किसिमको कुरा। इनभेष्टिगेटिभ भने पनि, जे भने पनि, खाली गन्थन। पत्रकारिता बिग्रिन थालेको छ। अस्ति मात्रै त्यो सिन्के पत्रकार भन्दै थियो, ‘जब स्याटिस्फ्याक्सन भएन।’ हुन पनि हो। त्यस्तै छ। पत्रकारिता गरेको हो कि दलाली, छुट्याउन सकिँदैन। त्यत्रो ♯मीटू आयो। के के न होला भनेर रिपोर्टिंङमा हिँडियो। यहाँका आन्दोलनकारी महिलाका गफै ठूला। गफ सुन्यो। भरे सब्स्ट्यान्स केही हुँदैन। भाषण मात्रै। बेकारमा त्यो स्थापित भन्ने प्रदेश मन्त्रीको जागीर गयो,” कनिकाले भनी।
सुदिप्ती उदास भइ। काम गर्ने जाँगर भएका साथीले छाड्ने भएपछि सम्पादक उदास नभएर के गरोस्? अनलाइन भए पनि, प्रिन्ट भए पनि पत्रिका त निकाल्नै पर्यो। सुदिप्तीको उदास मूड देखेपछि कनिका अझ उत्साहित भएर बोल्न थाली, “हुँदा हुँदा अब त मन्त्रीले पनि कर्मचारीलाई कजाएको जस्तो पत्रकारलाई कजाउन थाले। अस्ति प्रेस ब्रिफिङमा गएको क्लास नै लिन थाले। ‘पत्रकारिता के हो, कसरी गर्ने, निष्पक्ष पत्रकारिता नभइ समाजले पत्याउँदैन। यहाँका पत्रकारहरुको तालै अर्को छ। सरकारको खेदो नखनेसम्म खाएको नपच्ने हो कि जस्तो गर्दछन्’ भन्दै थिए।”
सरकारको चाला त सुदिप्तीलाई पनि मन परेको थिएन। प्रधानमन्त्री र मन्त्रीहरुले भाषणमात्र गरुन्जेल त सरकार ठीकै चलिराखेको छ जस्तो लाग्दथ्यो। जब, सुनकाण्डमा सरकारले भकाभक चाहिने नचाहिने मानिस पक्रिन थाल्यो तब दालमा पक्कै कालो छ भन्ने लाग्यो। कन्चनपुरकी केटीलाई आततायीहरुले बलात्कार गरेर हत्या गरेपछि सरकारको असमर्थ र असहज अनुहारको दर्शन भयो। एउटा नावालिग बालिकाको हत्यारा समेत पत्ता लगाउन नसक्ने कस्तो सत्ता परेछ यो? अहिलेसम्म सरकारले लिएका एक्सन अर्थ न बर्थका थिए। सिण्डिकेट तोड्ने सरकारी निर्णय मन्त्रीले नै धोती लगाइदिए। सरकारले बजेट अनुसारको काम पनि गर्न सकेन। न स्थानीय तहको अराजक ब्यबहारमा लगाम लगाउन सक्यो, न प्रदेश सरकारलाई काम गर्न चाहिने अधिकार नै दिन सक्यो। न संघीय सरकारकै निर्णय विधिमा तिब्रता आयो। गभर्नरको पदमा अनुभव कमाएका ब्यक्तिलाई अर्थमन्त्री बनाएपछि मिल्ने कुरा त केही थिएन। कारवाही गर्नपर्ने थियो अर्थमन्त्रीलाई। त्यतातिर के हेर्नु? कनिकालाई लागेको यस्तै थियो।
सरकार त तमासे नै भएको छ अहिले। परराष्ट्र मन्त्री नेपालको समृध्दि अभियानको ब्रिफिङ गर्न नियमित संसारका राजधानी भ्रमण गर्नुपर्ने निष्कर्षमा पुगेका छन्।
कनिकाले थपी - "उता हेर न प्रतिपक्षीतिर। शशांक कोइराला त्यति सुन्दर मानिस छन्। जुनसुकै सिनेमामा खेले पनि हिट हुने खालका। उनी भन्छन्, हिन्दूधर्म चाहियो। उनका बालाई चाहिएन, काकाले खोजेनन्। उनलाई किन चाहियो? शीर्षस्थ नेता, नेता र कार्यकर्ता बीच दह्रो एकता नभएसम्म पार्टीले चुनाव जित्ने आधार छैन। पार्टीले चुनाव नजिती उनी प्रधानमन्त्री बन्न सक्दैनन्। शशांकबाबुले भनेर केही हुने भए त गएको चुनावमा हार्दै हार्दैनथ्यो नि पार्टीले। यही हालत रहने हो भने उनको आफ्नै क्षेत्रको ठेगान नहुन सक्दछ।"
सुदिप्ती र कनिकाले निकैबेर कुरा गरे। तर, कनिका टसमस भइन। उसले सुदिप्तीलाई साँचो कुरा बताइ, “म बिहे गर्न चाहन्छु। हजुर मुवाको जोड त्यसैमा छ। बाबा पनि एउटै छोरीलाई राम्ररी अन्माउन चाहनुहुन्छ। मैले त लभ मेरिज गरेर घरजम गर्ने भइन। तिमीहरु लभ मेरिज नै गर्नु। बरु बिहेपछि काम गर्न मन लागे आउँला।”
कुरा सकियो। कनिकाको कुरा सुनेपछि सुदिप्तीले पनि चित्त बुझाई। अर्को सातादेखि पत्रिकाको कोलममा कनिकाको नाम नभेटिने भो। उसलाई बडो दिक्क लाग्यो पत्रकारिताबाट कनिका अलग भएकी छ। तर, उसको हातमा केही थिएन। उ नयाँ पत्रकारको खोजीमा निस्किइ।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)