PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ने क पाको नजरमा परेन संसद बाहिरका दल : कांग्रेसले सही दिशा ग्रहण गर्न नसक्ने, फोरम तुलनात्मक रुपमा उदार, द्विविधामा राजपा



विधुर ढकाल

ने क पाको नजरमा परेन संसद बाहिरका दल : कांग्रेसले सही दिशा ग्रहण गर्न नसक्ने, फोरम तुलनात्मक रुपमा उदार, द्विविधामा राजपा

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सही दिशा ग्रहण गर्न नसक्ने दाबी गरेको छ।

शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ।
 
‘विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली कांग्रेसमा अन्यौल व्याप्त छ। वैचारिक र राजनीतिक पुनःसंरचनाको प्रसंग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने सम्भावना देखिँदैन्,’ प्रतिवेदनमा भनिएको छ।
 
नेपाली कांग्रेसले आफ्नो असफलता ढाक्नका लागि सरकारविरुद्ध उत्रिएको आरोप समेत ने क पाले लगाएको छ।
 
‘आफ्नो असफलतालाई ढाकछोप गर्न यस पार्टीमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेपालको संसदीय इतिहासमा सर्वाधिक लामो समयसम्म सरकारको नेतृत्व गरेको र त्यसै अवधिमै मुलुकले दुर्गति बेहोर्नु परेको यथार्थलाई ढाकछोप गर्दै यतिबेला यसका कतिपय नेताहरु सरकारका विरुद्ध कहिले कथित अधिनायकवाद त कहिले असफलताको अनर्गल प्रचारमा उत्रिएका छन्।’

ने क पाले संविधान कार्यान्वयन र समृद्धिको यात्रामा कांग्रेससँग समझदारी गरेर अगाडि बढ्ने नीतिसमेत लिएको छ। ‘यसको जनविरोधी अर्थराजनीति, राष्ट्रियताका प्रश्नमा लुलो र ढुलमुलेपन, वामपन्थी विरोधी पूर्वाग्रही चिन्तन र यथास्थितिवादको आलोचना गर्ने एवं राष्ट्रिय सरोकारका प्रश्नमा समझदारी निर्माण गर्ने नीतिका साथ अगाढि बढ्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

मधेसवादी दलः फोरम तुलनात्मक रुपमा उदार, राजपा द्विविधामा 

त्यस्तै सत्ता साझेदार दल संघीय समाजवादी फोरमलाई ने क पाले उदार दलको रुपमा हेरेको छ। ‘फोरम नेपाल यतिबेला सरकारमा सामेल छ। तराई– मधेसमा क्रियाशील दलहरु मध्ये तुलनात्मक रुपमा उदार र सकरात्मक सोच राख्ने शक्तिसँग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढिकरण एवं तराई मधेसको सामाजिक आर्थिक रुपमान्तरणका लागि सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ। 

यता प्रतिवेदनले राष्ट्रिय जनता पार्टी नेपाल द्विविधामा रहेको प्रतिवेदनमा उल्लेख छ। ने क पाले द्विविधामा रहेको राजपा नेपाललाई सकरात्मक स्थानमा उभ्याउने नीति लिने बताएको छ।

‘त्यसका नेताहरुले संविधान संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिन थालेका छन्। निरन्तर संवादका माध्यमबाट लोकतन्त्र संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढिकरण एवं तराई मधेसको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई सकरात्मक स्थानमा उभ्याउने नीति लिनुपर्दछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell