PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

नुवाकोटमा मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सामूहिक अन्तिम संस्कार हुने



रासस

नुवाकोटमा मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सामूहिक अन्तिम संस्कार हुने

बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाइएको छ। 

दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आज आफन्तलाई जिम्मा लगाइएको हो। 

दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा मृत्यु भएकाले शव ल्याउन बाँकी छ। दुर्घटनामा शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको शनिबार नै अन्तिम संस्कार गरे पनि बाँकी १९ जनाको बौद्धधर्म परम्परानुसार आइतबार सामूहिक अन्तिम संस्कार गर्न लागिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। 

दुर्घटनामा सुने लामाको एकै परिवारका पाँच जना परेका छन्। उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचाररत् छन् । यसैगरी, टक्ले तामाङ, उनकी बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडौँमा उपचाररत् छिन् । 

दुर्घटनामा घाइते भएका १५ जना घाइतेको काठमाडौँको शिक्षण अस्पताल, बिपी स्मृति अस्पताललगायतमा उपचार भइरहेको छ । 

दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नंं. को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो। सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी साँझ ५ बजे घ्याङडाँडाको मोहडामा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको घाइते कर्मा तामाङले बताए। 

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनापश्चात पाँचसय मिटरभन्दा तल तादी खोलामा पुगेको थियो। दुर्घटनापश्चात गाडीका धनीसमेत रहेका चालक नुवाकोट महाकालीका रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ। 

उपचारमा आर्थिक अभाव 

मिनीट्रक दुर्घटनापश्चात घाइतेको उपचारमा आर्थिक अभाव भएको छ । मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आवद्ध नहुँदा घाइतेलाई उपचारमा आर्थिक अभाव भएकाले नेपाल सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले आज गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँ र प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पत्र लेख्दै घाइते भएकाहरु भौगोलिक विकट स्थानका गरीब समुदायका भएकाले उनीहरुका लागि निःशुल्क उपचारको व्यबस्था मिलाउन आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell