PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ए डिभिजन लिग : आठौँ चरणसम्म मनाङ अपराजित, उपाधि होडमा ३ टिम, मछिन्द्र गोलकै खोजीमा



पहिलोपोस्ट

ए डिभिजन लिग : आठौँ चरणसम्म मनाङ अपराजित, उपाधि होडमा ३ टिम, मछिन्द्र गोलकै खोजीमा

काठमाडौँ : गत असोज १३ गतेदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा आठौँ चरणसम्मको खेल भइसकेको छ। कूल ९१ मध्ये ५६ खेल भइसकेको छन्। पहिलो पटक भइरहेको  ननरेलिगेशन लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरेहका छन्।

च्याम्पियन बन्नेले नगद ५० लाख पाउने लिगमा अन्तिमको दुई टोलीले अर्को सिजनका लागि अंक गुमाउनेछन् भने तयारी खर्चमा समेत कटौती हुनेछ।

लिगमा आधा भन्दा बढी खेल सकिएको छ। तर उपाधि कसले जित्छ भन्ने अनुमान यसअघि नै सुरु भइसकेको थियो। अहिले उपाधि होडमा मुख्यगरी ३ क्लब अगाडी देखिएका छन्।

आठौँ चरणसम्म अपराजित, शतप्रतिशत नतिजा हात पार्न सफल मनाङ मर्स्याङ्दी क्लब स्वभाविक रुपमा उपाधिको ठूलो दाबेदारको रुपमा अगाडी आएको छ। यस्तै ललितपुरको थ्री स्टार र काठमाडौँको संकटा क्लब पनि उपाधि होडमा छन्।

लिग सुरु हुनु अगाडी देखि नै उपाधिको दाबेदार मानिएको विभागीय क्लब त्रिभुवन आर्मी भने मनाङसँग हारेपछि यस होडबाट टाढिएको छ। अब आर्मीको लक्ष्य टप थ्री भएको प्रशिक्षक नवीन न्यौपानेले बताइसकेको छन्। यसैगरी उपाधि जित्ने दाबी गरेका क्लबहरु नेपाल पुलिस, च्यासल र हिमालयन शेर्पा पनि यस होडबाट बाहिरिसकेका छन्।

आठौँ चरणमा आर्मीको अपराजित यात्रालाई ब्रेक लगाएको मनाङले लगातार आठ खेल जित्दै शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता कायम राखेको छ। मनाङले अब च्यासल, नेपाल पुलिस र संकटासँग खेल्नेछ। मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आर्मीलाई हराएपछि उपाधि जित्ने ७५ प्रशिशत पक्का भएको बताएका छन्।

मनाङले विशाल राईको एक मात्र गोलको मद्दतमा आर्मीलाई पराजित गर्दै आठौँ जित हात पारेको हो। यस्तै थ्री स्टारले पनि रन्जित धिमालको पेनाल्टी गोलको सहयोगमा मछिन्द्रलाई १-० ले नै पराजित गर्दै मनाङमाथि दबाब कायम राखेको छ।

संकटाले आठौँ चरणमा हिमालयन शेर्पालाई २-० ले हराउँदै सातौँ जित हात पारेको हो। संकटाका प्रशिक्षक सल्यान खड्गीले लिगको सुरुवात देखि नै संकटाकालाई उपाधि दाबेदार टिम कहिल्यै भनेनन् तर क्लबले प्रदर्शन हेर्ने हो भने अहिले उपाधि होडमा छ।

संकटाले अब मनाङ र थ्री स्टारसँग खेल्न बाँकी रहेकाले त्यो दुई खेलपछि नै पोजिसन कहाँ हुने भन्ने निर्धारण हुनेछ।

आठौँ चरणको अन्य खेलमा नेपाल पुलिसले फ्रेण्ड्समाथि ५-० को शानदार जित हात पार्‍यो। पुलिसको यो सिजनको चौथो जित हो।

यस्तै च्यासलले पनि ब्रिगेड ब्वाइजलाई पराजित गर्दै सिजनको चौथो जित हात पारेको छ।

मछिन्द्र र एनआरटी लिगमा अझै जितविहिन छन्। विपक्षीलाई कडा टक्कर दिँदै आएपनि यी दुई टोलीले अझै एक खेल पनि जित्न सकेका छैनन्। आठौँ चरणमा मछिन्द्र थ्री स्टारसँग र एनआरटी सरस्वती युथ क्लबसँग समान १-० को स्कोरमा पराजित भयो।

मछिन्द्रले त यस सिजन एक गोल समेत गर्न सकेको छैन। ८ खेल खेलिसक्का ती खेलमा गोलरहित बराबरी खेलेको मछिन्द्रले ३ अंक जोडेपनि अझै गोल र जितको खोजीमा छ।

पहिलो खेलमा आर्मीसंग अंक बाँडेको एनआरटीले त्यसयता लगातार सातौँ हार बेहोरिसकेको छ। अंक तालिकामा मछिन्द्र पूछारबाट दोस्रो र एनआरटी पूछारमा छ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार नवौँ चरणको खेलहरु भोलीबाट सुरु हुनेछन्।

नवौँ चरणमा शीर्ष स्थानको मनाङले च्यासल युथ क्लबसँग र दोस्रो स्थानको थ्री स्टारले चौथो स्थानको आर्मीसँग खेल्नेछ। यी दुई खेल हेर्नलायक खेलका रुपमा रहनेछन्।

अघिल्लो खेलमा मनाङसँग हारेको आर्मीका लागि टप थ्री को होड कायम राख्न पनि थ्री स्टार विरुद्धको खेलमा अंङ्क जोड्नुपर्ने बाध्यता रहेको छ। त्यसैगरी थ्री स्टारलाई पनि उपाधि होडमा रहिरहन आर्मी विरुद्धको खेल जित्नुपर्ने अवस्था छ।

यस्तै तेस्रो स्थानको संकटाले भोली नै फ्रेण्ड्ससँग खेल्नेछ।  

अंकतालिका:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell