PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ने क पाका ११ कार्यभारः एक महिनाभित्र पार्टीका सबै तहको एकतादेखि तीन रेलमार्ग, १० वर्षमा १० हजार मेगावाट विद्युत



पहिलोपोस्ट

ने क पाका ११ कार्यभारः एक महिनाभित्र पार्टीका सबै तहको एकतादेखि तीन रेलमार्ग, १० वर्षमा १० हजार मेगावाट विद्युत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (ने क पा) ले पार्टीको ६ महिनापछि शनिबार बसेको स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट संयुक्त राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छ।

प्रतिवेदनको अन्तिम खण्डमा पार्टीका कार्यभारहरु उल्लेख गरिएको छ। प्रतिवेदनमा पार्टीको वैचारिक, संगठनात्मक र राजनीतिक कामहरुको सूची लामो भएको भन्दै ती मध्ये प्राथमिक महत्त्वका कामहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा ११ वटा प्राथमिक कार्यभारहरुलाई समावेश गरिएको छ।

यी हुन् ने क पाका ११ कार्यभारः

१) पार्टीको संगठनात्मक एकीकरण

पार्टी एकता हुँदा तीन महिनाभित्र संगठनात्मक एकीकरण सक्ने भनिए पनि हालसम्म एकीकरण हुन सकेको छैन। ने क पाको राजनीतिक प्रतिवेदनमा पार्टीको प्रमुख कार्यभारको रुपमा संगठनात्मक एकीकरणलाई राखिएको छ। प्रतिवेदनमा एक महिना भित्र  सबै संगठन र निकायहरुको एकीकरण गर्ने उल्लेख छ।

जसमध्ये केन्द्रीय निकायहरु ( केन्द्र्रीय अनशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च), ३२२ वटा केन्द्रीय विभागहरु, भूगोलका ७७ जिल्ला, चार वटा विशेष जिल्ला र तिनलाई नेतृत्व प्रदान गर्ने प्रदेश सरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी र सम्पर्क मञ्चहरुरु, प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको एकीकरण, पार्टी सदस्यताको अध्यावधिक र एकीकृत अभिलेख, केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा पार्टीको चल अचल सम्पत्तीको एकीकरण र सबै तहमा पार्टी तथा जनवर्गीय संगठनहरुका कार्यालयहहरुको एकीकरणलाई राखिएको छ।

‘पार्टी एकताको औपचारिक घोषणापछि हामीले तीन महिनाभित्र पार्टी तथा जनवर्गीय संगठनहरुको सबै तह र निकायहरुको एकता–एकीकरण सम्पन्न गर्ने  निर्णय गरेका थियौँ,’ प्रतिवेदनमा भनिएको छ,‘तापनि विभिन्न कारणले गर्दा उक्त कार्ययोजना कार्यान्वयन हुन विलम्ब भएको छ। अब बिना विलम्ब (एक महिनाभित्र) बाँकी रहेका संगठन तथा निकायहरुको एकीकरण कार्य योेजनावद्ध रुपमा सम्पन्न गरिने छ।’

२) वैचारिक र भावनात्मक एकताको सुदृढिकरण

प्रतिवेदनमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएकोे भए पनि अझैै केही भिन्नता बाँकी रहेको बताएको छ। ‘निर्वाचनमा सहकार्य र पार्टी एकताको ऐतिहासिक घोषणसँगै पार्टीमा आम रुपमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएको छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, तर पनि दुई भिन्न भिन्न पृष्ठभूमि, अलग-अलग स्कूलिङ र छुट्टै कार्यशैलीका कारण अझैै पनि केही भिन्नता बाँकी नै छन्। यसलाई मेटाउन वैचारिक एकरुपता र भावनात्मक घनिष्टता कायम  गर्ने विषयमा थप प्रयत्न गर्नु जरुरी छ।’

३) विशेष अभियान

ने क पाले पार्टी एकताको सन्देश एकतासँगै तत्काल जनतामाा फैलाउन अभियान चलाउन नसकिएको भन्दै यसलाई अभियानको रुपमा लैजाने भएको छ। उसले माघ र फागुन महिनामा दुई महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

४) सबै सरकारको प्रभावकारी परिचालन

ने क पाको नेतृत्वमा केन्द्रमा ६ वटा प्रदेश तथा बहुमत स्थानीय तहमा  सरकार छन्। ती सरकारलाई प्रभावकारी परिचालन गर्ने कार्यभार रहेको प्रतिवेदनमा उल्लेख छ।

५) समृद्धिको योजना

प्रतिवेदनमा समृद्धिका योजनासमेत पेश गरिएको छ। नेकपाले सरकारको समृद्धिका योजनालाई आफ्ना योजनाका रुपमा प्रतिवेदनमा उल्लेख गरेको छ। जसमध्ये चार वटा पूर्वपश्चिम राजमार्ग, ६ वटा उत्तर दक्षिण राष्ट्रिय राजमार्र्गलगायतका योजनालाई प्रतिवेदनमा समावेz गरिएको छ।

त्यस्तै केरुङ काठमाडौं लुम्बिनी, रक्सौल काठमाडौं, पूर्व पश्चिम रेलमार्गसमेत प्रतिवेदनमा उल्लेख छ। काठमाडौं तराई द्रुतमार्ग, राजधानीमा मेट्रो रेल, उत्तर दक्षिण दुबै सीमासम्म व्यवस्थित सडक सञ्जाल निर्माण, आगामी ८ वर्षभित्र  आधाुनिक यातयात सञ्जाल निर्माण, १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन, वर्षेनी पाँच लाख रोजगारी सिर्जनालगायतका योजनासमेत राखिएको छ। १० वर्षमा बाध्यताले वैदेशिक रोजगारमा जान नपर्ने योजनालाई समेत समेटिएको छ।

६) सुशासन

राज्यका सबै अंगमा रहेको भ्रष्टाचार, अनियतिमतता र विसंगति समाप्त पार्न सरकार निर्ममतापूर्वक प्रस्तुत हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

७) संघीय संरचनाहरुको सुसञ्चालन

अन्तर प्रदेश परिषदको बैठक नियमित आयोजना गरिने, छिट्टै प्राकृतिक स्रोत तथा वित्तीय बाँडफाँट आयोग जस्ता संवैधानिक संरचनाहरुको गठन गरिने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै निरन्तरको संवादबाट संघीय संरचनाका तीन तहबीचमा समझदारी समन्वय र सहकार्य अगाडि बढाइने र संघीयतालाई सफल तुल्याइने प्रतिवेदनमा उल्लेख छ।

८) राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा

प्रतिवेदनमा राष्ट्रियताका मुख्य पहरेदार र देशभक्तिपूर्ण आन्दोलनका मुख्य सम्वाहकका हैसियतले सिंगो पार्टी पंक्तिलाई यस अभियानमा सक्रिय तुल्याइने उल्लेख छ। त्यस्तै सबैखाले बाह्य हस्तक्षप, विखण्डनकारी क्रियाकलापको प्रतिवाद गर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

९) पार्टी स्कूल

प्रतिवेदनमा पार्टी पंक्तिलाई वैचारिक र राजनीतिक रुपले प्रशिक्षित र दीक्षित गर्न केन्द्रमा नियमित स्कूल सञ्चालन गर्ने र आवश्यक पाठ्यक्रम तय गर्ने उल्लेख छ। त्यस्तै स्थानीय तहमा आवधिक पार्टी स्कुलहरु सञ्चालन गर्नेसमेत प्रतिवेदनमा भनिएको छ।

१०) प्रभावकारी प्रचार कार्य

ने क पाले विपक्षीको प्रोपोगाण्डाविरुद्ध प्रभावकारी प्रचार गर्ने भएको छ। ‘पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनावद्ध अभियान नै चलाइएको छ। साधन स्रोत सम्पन्न, अत्याधुनिक प्रविधियुक्त र विभिन्न ठाउँबाट पोषित यस्तो योजनावद्ध प्रोपोगाण्डाका तुलनामा हाम्रो प्रचार अभियान निकै कमजोर देखिएको छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘संक्रमणकालीन अवस्थामा हाम्रा आधिकारिक प्रचार संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाउन सकिएको छैन।’

विपक्षीको भ्रमपूर्ण प्रचार र प्रोपोगाण्डालाई निष्प्रभावी बनाउन नसकिएको अवस्थामा पार्टीको एउटा हिस्सा सामाजिक सञ्जालमा आफ्ना निजी असन्तुष्टि र गुनासा राख्दै हिँडको प्रतिवेदनमा उल्लेख छ। ‘पार्टी पंक्तिको एउटा हिस्सा सामाजिक सञ्जालमार्फत् आफ्ना निजी असन्तुष्टि र गुनासा व्यक्त गर्ने विभिन्न र लोकतान्त्रिक अधिकारका नाममा पार्टीको संस्थागत निर्णयको विपक्षमा राय अभिमत प्रकट गर्ने प्रवृत्ति देखा परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यी प्रवृत्ति गलत छन्। यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ। र पार्टी पंक्ति तथा सरकार पक्षमा सशक्त प्रचार अभियान सञ्चालन गर्न जरुरी छ।’

११) पार्टीलाई पंक्तिलाई उत्पादन कार्यमा आवद्ध तुल्याउने

यसैबीच ने क पाले पार्टी पंक्तिलाई उत्पादनमा जोड्ने भएको छ। उत्पादन र समृद्धिको अभियानको अगुवाई गर्ने गरी पार्टी पंक्तिलाई पुनर्दीक्षित गर्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै पार्टी पंक्तिलाई उत्पादनमा जोड्न ठोस योजना ल्याउनेसमेत प्रतिवेदनमा भनिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell