PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

न कार्यकर्ता अरिंगाल बन्न सके न मौरी, जनतामा निराशा फैलियो : वामदेवको फरक मत



विधुर ढकाल

न कार्यकर्ता अरिंगाल बन्न सके न मौरी, जनतामा निराशा फैलियो : वामदेवको फरक मत

काठमाडौं : ६ महिनापछि शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश भयो। २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको काउन्टरमा अर्का सचिवालय सदस्य वामदेव गौतमले फरक मत प्रस्तुत गरेका छन्।

‘पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा स्थायी कमिटीमा प्रस्तुत मेरो विचार’ शीर्षकमा १६ पृष्ठ लामो गौतमको फरक मतलाई पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले फरक मत नभई ‘लिखित सुझाव’ भनेका छन्। यद्यपि उनको यो प्रस्ताव फरक मत नै भएको स्थायी कमिटीका सदस्यहरुले नै बताएका छन्।

‘पार्टीभित्रको असन्तुष्टिलाई लिखित रुपमै वामदेव कामरेडले फरक मत प्रस्तुत भयो। यसलाई सुझाव मात्र भन्न मिल्दैन,’ एक स्थायी कमिटी सदस्यले पहिलोपोस्टसँग भने, ‘सुझाव हुन्थ्यो भने अध्यक्षको प्रतिवेदन अध्ययनपछि दिने हो। उहाँले अध्यक्षको प्रतिवेदनसँगै दिनुभयो। दुबै प्रस्ताव अध्ययन गरेर हामीले सुझाव दिने हो। लिखित वा मौखिक।’

बैठक सोमबार ११ बजे बस्दैछ।

सरकारप्रति वामदेवको असन्तुष्टि

गौतमले स्थायी कमिटीको बैठकमा पेश गरेको फरक मतमा सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। पार्टी एकता र निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को उदयलाई नेपाल र संसारभरीका कम्युनिष्ट क्रान्तिकारीहरुले ठूलो उत्साह, आशा र भरोसाका साथ हेरेपनि पछिल्लो समय निराशा फैलिँदै गएको उनले बताएका छन्।

‘झण्डै दुई तिहाई स्थानका साथ संघीय संसदमा ने क पाको उपस्थितिबाट ६० वर्षभन्दा लामो समयदेखि कायम राजनीतिक अस्थिरता समाप्त भएको निष्कर्षका साथ फड्को मारेर राष्ट्रमा समृद्धि कायम हुनेछ भन्ने आशा बहुसंख्यक जनताले व्यक्त गरे,’ गौतमको फरक मतमा भनिएको छ, ‘त्यही भएर ने क पाका अध्यक्ष प्रधानमन्त्री नियुक्त हुँदा जनताले ठूलो उत्साहका साथ हार्दिक स्वागत गरे। तर सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे पछि चारैतिर निराशा छाउन थाल्यो।’

उनले अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुका गतिविधिहरुले जनतामा निराशा झन् बढ्न थालेको बताएका छन्।

पार्टी एकीकरणको घोषणा भएको सात महिनामा एकीकरणको काम अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि समेत उनले व्यक्त गरेका छन्।

गौतमले पार्टीको निर्वाचन घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नभएको बताएका छन्। ‘पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्र बमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसकेको बताएका छन्। नसक्दा जनतामा निराशा उत्पन्न भयो,’ फरक मतमा अगाडि भनिएको छ, ‘पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनु भएका कमरेडहरुले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सृजना गर्ने तर्फ कुनै कदम चाल्नु भएन।’

उनले अहिलेको सरकारको कामलाई हेरेर आशा गर्न सकिने अवस्था नदेखिएको पनि बताएका छन्।

‘सरकारका ९ महिनाका गतिविधिले सरकार प्रगतिशील परिवर्तन र प्रगति पथमा अघिबढ्न नसकेको स्पष्ट भएको छ। सरकारसँग संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणको एउटा पनि कार्यक्रम छैन,’ फरक मतमा अगाडि भनिएको छ, ‘निर्वाचन घोषणापत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन अर्थात् पाँच वर्ष, दश वर्ष, र पच्चीस वर्षसम्मका लक्ष्यहरु अगाडि सारिएका छन्। आगामी पच्चीस वर्षमा विकसित देशको दाँजोमा पुग्ने घोषणा गरिएको छ। तर सरकारसँग निर्वाचन घोषणापत्रमा अघि सारिएका नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता नै देखिएन।’

सरकार गठनदेखि नै कमजोरी

नेता गौतमले सरकार गठनदेखि नै कमजोरी भएको बताएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदादेखि नै कमजोरी भएको बताएका छन्। ‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन पार्टीको संस्थागत निर्णय हुनुपर्दथ्यो। तर, हतार हतारमा संसदीय दलको नेता मनोनीत गराइयो र त्यसै दिन साँझ प्रधानमन्त्रीलाई शपथ दिलाइयो,’ गौतमको फरक मतमा अगाडि भनिएको छ, ‘त्यतिबेला पार्टी कमिटीको बैठक बोलाई विधिवत निर्णय गराउने आवश्यकता पार्टी अध्यक्षले महसुस गर्नुभएन। प्रधानमन्त्रीले शपथ गरेकै दिन २ जना मन्त्रीलाई शपथ गराइयो। तर, त्यसका निम्ति पनि पार्टीमा निर्णय गर्न आवश्यकता देखिएन।’

सरकारमा मन्त्री थप्दै जाँदा पनि तत्कालीन पार्टी (तत्कालीन नेकपा एमाले) लाई जानकारीसमेत नदिइएको आरोप उनले लगाएका छन्। गौतमले फोरमलाई सरकारमा ल्याउने विषयमा समेत पार्टीभित्र छलफल नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

त्यस्तै गौतमले सरकारको नीति तथा कार्यक्रम तय गर्दा पार्टीका अन्य कुनै नेताहरुसँग छलफल नगरेको र जानकारी नदिइएको आरोप लगाएका छन्। राष्ट्रिय सभाका तीन सदस्यको मनोनयन गर्दा पनि पार्टीका कुनै निकायसँग सल्लाह नगरिएको र हालै राजदुतमा सिफारिस गर्दासमेत सरकारले पार्टीभित्र छलफल नगरेको आरोप लगाएका छन्।

युनिफिकेशन चर्चको कार्यक्रमप्रति असन्तुष्टि

यसैबीच नेता गौतमले हालै सम्पन्न युनिफिकेशन चर्च सम्वद्ध संस्था युनिभर्सल पिस फेडेरेशनले काठमाडौंमा गरेको एसिया प्यासिफिक समिटको विषयमा समेत पार्टीभित्र कुनै छलफल नभएको आरोप लगाएका छन्। 

‘सम्मेलनमा पार्टीका उच्च पदस्थ नेताहरु, नेपाल सरकार सहित प्रदेश र स्थानीय तहाका सरकारहरुलाई पनि सामेल गराइयो तर यस किसिमको कार्यक्रममा सरकार र नेताहरुको संलग्नताका निम्ति पार्टीमा निर्णय  गर्नुपर्ने आवश्यकता नै ठानिएन्।’

उनले पार्टीभित्र विरोध भए पछि कार्यक्रमको दुई दिन अगाडि मात्र प्रधानमन्त्रीले पार्टी सचिवालयमा जानकारी गराएको बताएका छन्। 

न कार्यकर्ता अरिंगाल बन्न सके न मौरी नै

गौतमको फरक मतमा सरकारको चौतर्फि आलोचना भइरहेको तर सरकारको पक्षमा बोल्ने एउटै बौद्धिक व्यक्ति नभएको बताएका छन्।

सरकार दिनदिनै अलोकप्रिय बन्दै गइरहेको टिप्पणी उनले गरेका छन्, ‘नेपालको लोकतान्त्रिक इतिहासमा सबभन्दा शक्तिशाली संस्थाका रुपमा रहेको वर्तमान सरकार भने दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको छ,’ उनले अगाडि भनेका छन्, ‘प्रतिद्वन्द्वी पार्टीका नेताहरुले लगाएका आरोप र विरोधहरुको प्रतिवाद गर्दै सरकारको पक्षपोषण गर्ने नेकपाको कुनै बौद्धिक व्यक्तित्व देखापर्न सकेको छैन।’

उनले सरकारको लोकयिता घट्दै जाँदा सरकारको बचाउ गर्न नसकिएको टिप्पणी गरेका छन्। ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरे पनि कार्यकर्ताहरु न त अरिंगाल बन्न सकेका छन् न मौरी बनेर मह दिन सकेका छन्,’ फरक मतमा अगाडि भनिएको छ, ‘निर्वाचन र सो भन्दा पहिलेको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्था बारे कार्यकर्ताहरु चिन्ताग्रस्त देखिन्छन्। दुईतिहाई समर्थन प्राप्त सरकारको पक्षमा न संसदमा, न सडकमा, न छापामा, न भाषणमा, न बोलीमा कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण गरेको देखिँदैन। चारैतिर नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरु ऊर्जा समाप्त भएका उत्साहहीन, चिन्तित र मौनधारणको अवस्थामा छन्। यस्तो अवस्था कसरी सृजना भयो ? सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरुले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन्। सरकारका कमजोरीहरु माथि पर्दा लगाउने कोशिस भने गरिरहेका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell