PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रदेशका उपसभामुखहरूको साझा गुनासो: मर्यादा क्रम मिलेन



पहिलोपोस्ट

प्रदेशका उपसभामुखहरूको साझा गुनासो: मर्यादा क्रम मिलेन

काठमाडौँ : सात वटै प्रदेशका उपसभामुखहरूले मर्यादा क्रम नमिलेको भन्दै गुनासो गरेका छन्। मर्यादा क्रममा आफूहरूलाई सचिवभन्दा पनि तल राखिएको भन्दै उनीहरूको गुनासो रहेको छ।

चितवनमा आयोजित सात वटै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरूको भेला पछि काठमाडौँमा जम्मा भएका उपसभामुखहरूले मर्यादा क्रमका विषयलाई प्रधानमन्त्री र राष्ट्रपति समक्षसमेत उठाउने जनाएका छन्। 

आज सिंहदरबारमा उपसभामुखहरू र संसदीय मामिलाका पत्रकारहरुबीच भएको अन्तरक्रियामा उपसभामुखहरूले आफैले नियुक्त गर्ने विशिष्ट श्रेणीको सचिवभन्दा तल मर्यादा क्रम रहेको बताएका हुन्। 

गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले मर्यादा क्रम नमिल्दा कार्यक्रमहरूमा बस्न पनि असहज हुने गरेको बताइन्। आफूहरूलाई जिम्मेवारीसमेत नभएकोले काम गर्न असहज भएको उनको भनाइ थियो। गण्डकी प्रदेशकी उपसभामुख शर्माले आफूहरूसँग कुनै बजेट नभएको बताउँदै जिम्मेवारी पनि थप हुनु पर्ने बताइन्।

प्रदेश एककी  उपसभामुख सरस्वती पोखरेलले भनिन्,‘मर्यादा क्रममा समस्या छ। प्रदेशको मुख्य सचिवभन्दा तल छौँ। हामीले विशिष्ट श्रेणीको सचिव नियुक्त गर्दैछौं र तिनीहरू नै हामीभन्दा अगाडि हुने भए।’

उपसभामुख पोखरेलले भनिन्, 'यस विषयमा राष्ट्रपति, प्रधानमन्त्रीको पनि ध्यान जाहोस्।' 

प्रदेश १ की उपसभामुख पोखरेलले स्थानीय तहको नियमहरू प्रदेश सरकारले बनाउँदा केही विरोध पनि भइरहेको बताइन्। उनले केन्द्र सरकारसँग सम्बन्ध सुधारको प्रयास भइरहेको बताइन्।

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्माला जोशीले अहिले महिलाहरू उपसभामुखमा पुगेर ठुलो उपलब्धि भएको बताउँदै आफूहरूले सिकि रहेको बताएकी थिइन्। 

कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीले आफ्नो प्रदेशमा चार वटा संसदीय समिति बनाएको र समितिको सभापति नभएर अध्यक्ष नाम राखिएको बताइन्। उनले आफ्नो प्रदेशमा बाउ नभएका छोराछोरीहरुको समस्या रहेको सुनाउँदै भोटे महिलाहरूको समस्या समाधानका लागि पहल गर्नु पर्ने बताइन्।

प्रदेश ५ की उपसभामुख कृष्णी थारुले आफू ९ वर्षसम्म कमलरी बसेको र १५ वर्षको उमेरमा विवाह गरी १७ वर्षसम्म विना पारिश्रमिक काम गरेको सुनाएकी थिइन्। आफ्नो लागि यो पद महत्त्वपूर्ण रहेकोले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले सामाजिक चिन्तनले गर्दा महिला उपसभामुख र पुरुष पत्रकारबीच दुरी बढेको बताइन्। महिलाहरू शासित मानसिकताबाट आएकीले शासन गर्न समस्या भइरहेको समेत सुनाइन्। महिलाहरूलाई चुनावका बेला टिकट दिन पनि समस्या हुने गरेको उनले बताइन्।

प्रदेश २ की उपसभामुख उपमाकुमारी देवले आफूहरूले आफ्नो प्रदेशमा राम्रो काम गरिरहेको बताइन्।

सङ्घीय संसद् प्रतिनिधि सभाकी उपसभामुख डा.शिवमाया तुम्हाफेले उपसभामुखहरूलाई मिडियामा स्थान दिनु पर्ने बताइन्। अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले उपसभामुखहरूलाई सुसूचित रहनु पर्ने सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell