काठमाडौं : काठमाडौँमा भइरहेको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगको च्याम्पियन बन्नेट टोलीले ट्रफीसँगै नगद २५ लाख पाउन भएका छन्।
आयोजकले इपीएल प्रालीले सोमवार विज्ञप्तीमार्फत इपीएलको प्राइज मनी सार्वजनिक गरेको हो। तेस्रो संस्करणको इपीएललाई द बिगेष्ट नारा दिएको आयोजकले लिग चरणको खेलपछि मात्र प्राइजमनी सार्वजनिक गरेको हो। तर नारा जस्तो बिगेष्ट भने रहेन। गत वर्ष इपीएलको विजेता बनेको विराटनगर वारियर्सले नगद २१ लाख पुरस्कार प्राप्त गरेको थियो। यस सिजन त्यसमा ४ लाख वृद्धि भएपनि अन्य दुई टी-२० लिग भन्दा बढी हुन सकेन।
यस्तै उपविजेताले नगद १० लाख हात पार्नेछ भने उत्कृष्ट खेलाडीले टिभीएस अपाचे मोटरबाइक पाउनेछ।
गत वर्ष धनगढीमा भएको धनगढी प्रिमियर लिगको विजेता टिम चौराह धनगढीले नगद २५ लाख पुरस्कार हात पारेको थियो। यस्तै केही समयअघि मात्र पोखरामा भएको पहिलो पोखरा प्रिमियर लिगको विजेता पोखरा पल्टनले २७ लाख हात पारेको थियो। त्यो नै घरेलु क्रिकेटको सर्वाधिक प्राइज मनी हो।
इपीएल २०१८ मा प्लेअफ खेल्ने चार टोलीमको टुङ्गो लागिसकेको छ। लिग चरणमा शीर्ष दुई स्थानमा रहेको ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स ११ ले पहिलो क्वालिफायर्स खेल्नेछन्। यस्तै तेस्रव स्थानमा रहेको भैरहवा र चौथो स्थानको चितवन टाइगर्सले एलिमिनेटर खेल्नेछ।
लिगको अन्तिम खेलमा काठमाडौँसँग हारेको साविक विजेता विराटनगर भने रनरेटमा चितवनसँग पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ। गत सिजन प्लेअफ पुग्न नसकेका काठमाडौँ र चितवनले यस सिजन प्लेअफमा स्थान बनाएका छन्। यस्तै गत सिजन प्लेअफ खेलेको पवदरा राइनोज यस सिजन सबै पाँच खेल हार्दै बाहिरिएको छ।