
काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आइसिसीले पत्र पठाई दासलाई महिला टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो। दासकै प्रशिक्षणमा नेपाली टोलीले थाइल्याण्डमा हुने टी-२० प्रतियोगिता र महिला विश्वकपको एशिया छनोट खेल्नेछ।
अगामी पुस २८ देखि माघ ४ गतेसम्म थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता र आगामी आगामी फागुन ६ देखि १५ गतेसम्म हुने महिला विश्वकपको एशिया छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण गर्ने भएको छ। महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट खेलको खेलतालिका सार्वजनिक गरेसँगै नेपालले बन्द प्रशिक्षण शुरु गर्न लागेको प्रशिक्षक दासले जानकारी दिए।
प्रशिक्षणमा ५० बढी खेलाडीलाई समावेश गरी अन्तिम टोली छनोट गनिनेछ। नेपालले थाइल्याण्डमा टी–२० प्रतियोगिता खेल्नेछ। बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। नेपालले २०२० मा हुने महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट प्रतियोगिता खेल्नेछ। छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन्।