PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इपीएलमा आजबाट प्लेअफ खेल : ललितपुर र काठमाडौँ फाइनल प्रवेशका लागि क्वालिफायर्स खेल्दै



पहिलोपोस्ट

इपीएलमा आजबाट प्लेअफ खेल : ललितपुर र काठमाडौँ फाइनल प्रवेशका लागि क्वालिफायर्स खेल्दै

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा आज देखि प्लेअफ राउण्डको खेल सुरु हुँदैछ। ८ टोली सहभागी टी-२० लिगमा लिग राउण्डको १५ खेलपछि शीर्ष चार स्थानमा रहँदै चार टोली प्लेअफका लागि छनोट भइसकेका छन्।

लिगमा पहिलो स्थानमा रहेको ललितपुर प्याट्रिओट्स र दोस्रो स्थानमा रहेको काठमाडौँ किंग्स ११ बीच आज पहिलो क्वालिफायर्स खेल हुँदैछ। शीर्ष दुई स्थानमा रहेका यी दुई टोली फाइनल प्रवेशका लागि भिड्दैछन्।

दुवै टोलीले लिगमा ५ मध्ये ४ खेल जित्दै समान ८ अंङ्क जोडेका थिए। तर रनरेटमा ललितपुर अगाडी रहेको हो। यसैगरी ५ मध्ये ३ खेल जितेको भैरहवा तेस्रो र २ खेल जितेको चितवन चौथो हुँदै एलिमिनेटरको लागि छनोट भएको छ। विराटनगरसँग समान अंकभएपनि चितवन रनरेटमा अघि रहँदै शीर्ष चारमा रहेर प्लेअफमा छनोट हुन सफल भएको हो।

लिग चरणको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसपछि लगातार चार खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको थियो। उता काठमाडौँले लिगमा ललितपुरसँग मात्र हार बेहोरेको थियो। लिगको अन्तिम खेलमा साविक विजेता विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायर्समा छनोट भएको हो। उक्त हारपछि विराटनगर भने लिग राउण्डबाटै बाहिरियो।

आजको खेलमा काठमाडौँलाई लिग चरणमा ललितपुरसँग बेहोरेको हारको बदला लिने अवसर समेत छ। लिग राउण्डकै एकपक्षिय बनेको खेलमा ललितपुरले काठमाडौँलाई १० विकेटले पारजित गरेको थियो। जुन यस सिजनकको सबैभन्दा फराकिलो जित अन्तर समेत हो।

भारतीय खेलाडीयद्वय जयकसिन कोल्सावाला र गौरव तोमरले ललितपुरको ब्याटिङ लाइन सम्हालिरहेका छन् भने अर्का भारतीय खेलाडी सन्नी पटेलले अलराउण्ड प्रदर्शन गरिरहेका छन्। सुरुको दुई खेलमा नेपालका स्टार सन्दीप लामिछानले ललितपुरका लागि उत्कृष्ट बलिङ गरेका थिए। त्यसपछि उनी बिग बास खेल्न अष्ट्रेलिया गए। सन्दीप गएपछि ललितपुरको बलिङ सन्नी पटेलसँगै रासिद खान, ललित राजवंशी, पवन सराफ र योगेन्द्र सिंह कार्कीले सम्हालिरहेका छन्।

उता लिगको पहिलो खेलमा चितवन विरुद्ध जित हात पार्दा काठमाडौँका नियमित कप्तान तथा मार्की खेलाडी सोमपाल कामीको एङ्कलमा चोट लागेपछि उनले ललितपुर विरुद्धको दोस्रो खेल खेल्न पाएनन्। उक्त खेलमा काठमाडौँको कप्तानी आइरिस खेलाडी केभन ओ'ब्रायनले गरेका थिए। तर टिमलाई जितसम्म पुर्‍याउन सकेनन्। त्यसपछि अर्का विदेशी खेलाडी रोहन मुस्ताफाको आगमनपछि काठमाडौँको कप्तानी मुस्ताफाले गरे भने केभिनले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। केभिनले पोखरा र विराटनगर विरुद्धको खेलमा म्यान अफ दि म्याच प्रदर्शन गरे। काठमाडौँका लागि ब्याटिङ र बलिङमा यी दुवै विदेशी खेलाडीले राम्रो गरिरहेका छन्। यस्तै भारतीय खेलाडी प्रदिप शाहु र सुब्रमन्यम आनन्दले पनि गतिलो साथ दिइरहेका छन्।

काठमाडौँका नेपाली खेलाडीले गतिलो प्रदर्शन गर्न नसकेपनि ब्याट्म्यान अमित श्रेष्ठले एक अर्धशतक प्रहार गरेका छन् भने बलिङमा विक्रम भुषाल र जितेन्द्र मुखियाको प्रदर्शन मिश्रित रहेको छ।

 

लिग राउण्डमा ललितपुर र काठमाडौँको नतिजा

ललितपुर भर्सेस विराटनगर : ललितपुर ३ विकेटले पराजित

ललितपुर भर्सेस चितवन : ललितपुर ११ रनले विजयी

ललितपुर भर्सेस पोखरा : ललितपुर ८ विकेटले विजयी

ललितपुर भर्सेस काठमाडौँ : ललितपुर १० विकेटले विजयी

ललितपुर भर्सेस भैरहवा : ललितपुर ६ विकेटले विजयी

 

काठमाडौँ भर्सेस चितवन :  काठमाडौँ ६ विकेटले विजयी

काठमाडौँ भर्सेस ललितपुर : काठमाडौँ १० विकेटले पराजित

काठमाडौँ भर्सेस पोखरा :  काठमाडौँ ५ विकेटले विजयी

काठमाडौँ भर्सेस भैरहवा : काठमाडौँ ७ विकेटले विजयी

काठमाडौँ भर्सेस विराटनगर : काठमाडौँ ५ विकेटले विजयी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell