PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ने क पा स्थायी कमिटी बैठक : सरकारको चर्को आलोचना, दोहोरो घेराबन्दीमा ओली, प्रचण्डलाई राहत



विधुर ढकाल

ने क पा स्थायी कमिटी बैठक :  सरकारको चर्को आलोचना, दोहोरो घेराबन्दीमा ओली, प्रचण्डलाई राहत

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक आज पनि जारी छ। बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ। बैठकमा बोल्ने सदस्यहरूले सरकारको आलोचना गर्दै नेतृत्वको कार्यशैलीको विरोध गरेका छन्। 

शनिवार पार्टीका दुई अध्यक्षका तर्फबाट संयुक्त रूपमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको तर्फबाट प्रस्तुत फरक मत माथि सदस्यहरूले आफ्नो मत राखिरहेका छन्। 

सोमवार बैठकमा १० जना स्थायी कमिटीका सदस्यहरूले आफ्नो मत राखेका थिए। बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए। उनीहरूले प्रधानमन्त्री र अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले पहिलोपोस्टलाई जानकारी दिए। 

उनका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोचना भने कम भएको छ। 

‘अध्यक्ष पनि भएको, प्रधानमन्त्री पनि भएको कारण ओली कामरेडका आलोचना बढी भएको छ। प्रचण्ड प्रति नरम नै देखिनु भएको छ,’ ती सदस्यले भने, ‘सरकार र पार्टी सञ्चालनमा ओलीले एकलौटी ढङ्गले गर्ने गरेको र पार्टीमा छलफल नहुने गरेको भन्दै असन्तुष्टि व्यक्त भएका छन्।’ 

सोमवारको बैठकमा फरक मत प्रस्तुत गरेका नेता गौतमले आफ्नो मत राखेका थिए। उनी बैठकमा फरक मतमा समावेश आफ्ना कुरा राख्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली प्रति आक्रमक देखिएका थिए। 

उनले ओलीले आफ्नो चरित्र हत्या गर्ने र आफू प्रति पूर्वाग्रह राख्ने काम गरेको आरोप लगाएका थिए। उनले सरकार सञ्चानमा र पार्टी सञ्चालन एउटै व्यक्तिले गर्दा दुबैमा प्रस्तुति कमजोर देखिएको भन्दै एउटा अध्यक्ष प्रधानमन्त्री हुँदा अर्को अध्यक्षले पार्टी सञ्चालन गर्नुपर्ने बताएका थिए। उनले आफ्नो फरक मतमा समेत यही विषयलाई उठाएका छन्। 

पढ्नुस : 

ने क पाले अब के गर्ने? वामदेवको सुझाव: प्रचण्डलाई शक्तिशाली अध्यक्ष बनाउने

त्यस्तै सोमबारको बैठकमा बोल्ने घनश्याम भुसालले नेतृत्वको आलोचना गर्दै पार्टीभित्र गुटको गन्ध फैलिएको र आफ्ना नजिकका मान्छेलाई पदमा पुराइएको आरोप लगाएका थिए। 

उनले पार्टी र सरकार सञ्चालन नेतृत्वको लहडबाट भइरहेको भन्दै सबै तिर मनपरी ढङ्गले काम भइरहेको आरोप लगाएका थिए। पार्टी उकताको सात महिना बित्दा पनि पार्टी एकीकरणलाई तल्लो तहमा पुराउन नेतृत्व उदासीन भएको उनको आरोप थियो। 

कार्यक्रममा बोल्दै अर्का सदस्य गणेश साहले नेता गौतमले पेस गरेको फरक मतलाई सम्बोधन गर्दै पार्टी अध्यक्षको प्रतिवेदनलाई परिष्कृत गरिनुपर्ने बताएका थिए। उनले सरकारका काम देखि आम जनता सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै सरकारको आलोचना गरेका थिए। 

सरकारको नीति तथा कार्यक्रमकोसमेत उनले विरोध गरेको एक नेताले पहिलोपोस्टलाई बताए। नेता साहले पार्टीको विधान, नीति विपरीत सरकार र पार्टी चलिरहेकोसमेत आरोप लगाएका थिए। 

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कोही नेताहरूलाई दोहोरो पद दिइएको कसैलाई जिम्मेवारी नदिइएको आरोप लगाएका थिए। उनीहरूले प्रदेश कमिटीको घोषणासमेत मनपरी ढङ्गले गरिएको आरोप लगाएका थिए। ‘केही स्थायी कमिटीका सदस्यलाई मुख्य मन्त्री र प्रदेश इन्चार्जको जिम्मेवारी केही वेरोजगार भएर बस्नुपर्ने?’ बैठकमा पार्टी नेतृत्व र सरकारको आलोचना गर्दै नेताहरूले नेतृत्वप्रति प्रश्न उठाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell