PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

बैठक नै नबसी बित्ने भयो संयोजकको कार्यकाल



बीपी साह

बैठक नै नबसी बित्ने भयो संयोजकको कार्यकाल

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको भोलि एक महिना बित्दैछ। संयोजक परितर्वन भएपछि अहिलेसम्म एक पटकसमेत बैठक बस्न सकेको छैन।

मंसिर ४ गते बसेको राजपाको अध्यक्ष मण्डलेको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक चयन गरेको थियो। पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएको पदाधिकारी पछिको सम्पूर्ण नियुक्ति खारेज गरिएको थियो।

पार्टीको विधानमा व्यवस्था भए बमोजिम दुई–दुई महिना कार्यकाल हुने गरी अध्यक्ष मण्डलको संयोजक महतोलाई चयन गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताएका थिए।

संयोजक परिवर्तन भएपछि राजपामा विवाद देखिएको थियो। तर, राजपा संसदीय दलका नेतासमेत रहेका महन्थ ठाकुरले संयोजक परिवर्तन हुँदा कुनै विवाद नभएको दाबी गर्दै आएका छन्। पार्टीभित्र मिडियाले विवाद गराउन खोजेको आरोप ठाकुरको थियो। तर, ठाकुर पक्षका नेताहरुले छुट्टै भेलासमेत गरेका थिए।

संयोजक परिवर्तनपछि राजपा अध्यक्ष मण्डलको एउटा पनि बैठक बस्न नसकेकोमा महासचिव मनिष सुमनले गुनासो पोखे
राजपा स्रोतका अनुसार बैठकका लागि बारम्बार मिति तय गरिए पनि बैठकमा बस्न नेताहरुले आनाकानी गरेका छन्। 

संयोजक परितर्वनपछि बोलाइएको बैठकमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव विरामी भएको भन्दै बैठक बस्न सकेको थिएन। त्यसपछिको अनिल झा सहभागी नहुँदा बैठक बस्न सकेन।

बैठकबारे चर्चा हुन लाग्दा नेताहरुले विरामीको बहाना गर्दै आएका छन्।

त्यसपछि बोलाइएको बैठकमा ठाकुरले आफू दिल्ली जान लागेको बताएका थिए। अन्य एक जना अध्यक्ष सहभागी नहुँदा त्यो दिन पनि बैठक बस्न सकेन। ठाकुर सबै अध्यक्षहरुले छलफल गरी राख्नुस् र आफू दिल्लीबाट फर्केपछि निर्णय गर्ने बताउँदै दिल्लीतिर लागेका थिए।
ठाकुर दिल्लीबाट फर्केको एक साताभन्दा बढी हुन लागेको छ तर बैठकका लागि अध्यक्षहरु तयार भएका छैनन्।

राजपा स्रोतका अनुसार संयोजक महतोले बैठक बस्न बारम्बार आह्वान गरे पनि बैठकका लागि अनिल झा र ठाकुर तयार भएका छैनन्।
महतोलाई असफल बनाउन राजपा अध्यक्ष मण्डलका केही अध्यक्षहरु लागि परेको महतो पक्षको आरोप रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell