PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ने क पाको स्थायी कमिटी २ घन्टा ४० मिनेट चल्यो, युनिफिकेसन चर्चको विषयमा 'शिर निहुरिएको' चर्चा



विधुर ढकाल

ने क पाको स्थायी कमिटी २ घन्टा ४० मिनेट चल्यो, युनिफिकेसन चर्चको विषयमा 'शिर निहुरिएको' चर्चा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक आज २ घण्टा ४० मिनेट बसेर पुनः स्थगित भएको छ। बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८:३० बजे सुरु भएको बैठक ११:१० बजे स्थगित भएको हो। 

आजको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’, पृथ्वीसुब्बा गुरुङले अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमका तर्फबाट प्रस्तुत फरक मतका सम्बन्धमा आफ्नो धारणा राखेका थिए। 

बैठकमा मंगलबार बोल्ने अधिकांश नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन्। बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्व एमालेमा रहेको गुटगट पूर्वाग्रहका कारण एकीकरणमा ढिलाइ भइरहेको बताए।
 
उनले यही पूर्वाग्रहका कारण पार्टी नेतृत्व र सरकारको गलत कामको विरोध गर्नेलाई सिद्धाउन लागि परेकोसमेत उनले आरोप लगाएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले पहिलोपोस्टलाई जानकारी दिए। 

उनले नेता गौतमले ल्याएको फरक मतमा राम्रा कुराहरु रहेको भन्दै त्यसलाई समेट्नुपर्ने बताए। यद्यपि, उनले यो फरक मत अध्यक्षसँग रिसाएकै आधारमा ल्याइएको भए गलत हुने बताएका थिए। 

युनिफिकेशन चर्चको कार्यक्रमको विरोधमा रावल
यसैबीच बैठकमा नेता भीम रावलले काठमाडौंमा भएको युनिफिकेशन चर्चको कार्यक्रमको विषयलाई लिएर सरकार र पार्टी नेतृत्वको आलोचना गरे। उनले सरकारकै सहभागितामा कुनै धार्मिक संस्थाको कार्यक्रम सम्पन्न हुनुले आफूहरुको शिर निहुरिएको बताएका थिए। 

उनले यस विषयलाई पनि स्थायी कमिटीमा छलफल गर्नुपर्ने माग गरेका थिए। ‘हाम्रो शिर निहुरिएको छ। एउटा कम्युनिस्ट विरोधी धार्मिक संस्थाको कार्यक्रममा सरकार, पार्टी सहभागी भयो। यस विषयमा छलफलसमेत गरिएन्,’ उनको भनाई उदृत गर्दै बैठकमा सहभागी एक अर्का नेताले पहिलोपोस्टसँग भने। 

बैठक भोलि बिहान ८ बजेदेखि बस्ने गरी स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell