
काठमाडौं : प्रदर्शन मिति तय गर्दै फिल्म 'दयारानी'को पोस्टर सार्वजनिक गरिएको छ। दयाहाङ राई अभिनित फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्मको पोस्टरमा दयासँगै दीया पुन फिचर्ड छिन्।
'बीर बिक्रम'बाट दर्शकले रुचाएको यो जोडीले एकसाथ करिव चार फिल्म गरिसकेका छन्। फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा बिजय बरालको पनि अभिनय छ।
फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी छ। डेढ वर्ष अघि नै 'दयारानी'को स्क्रिप्ट पढेका दयाले हालै फिल्मको छायाँकन सकेको बताए। फिल्मको शिर्षक दया कै नामसँग मिलेको छ। फिल्मको शिर्षकबारे दयाले भने 'हाम्रो समाज भित्रको कथा छ फिल्ममा। फिल्मको टाइटल लिन अपठ्यारो लाग्छ। मेरो नामसँग जुधेको कारण। तर यो नाम गुरुङ समुदायमा स्वभावका अनुसार मानिसलाई दिइने नाम हो। जे होस् सुन्दर छ नाम।'
निर्देशक माओत्सेले फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा बोल्ने बताए। उनी पोखरामा गुरुङ भाषाको फिल्म निर्देशनमा सक्रिय छन्। फिल्मबारे भने 'पोखरमा गुरुङ भाषाको फिल्म बनाउँछु। भनौं पोखराको बेगनास तालमा पौडीरहेका मैले नेपाली फिल्मको महासागरमा पौडने प्रयास गर्दैछु।'
रोधी बस्ने समया महिलाहरुको स्वभाव अनुसार नाम राखिदिने चलन रहेको माओत्सेले जनाए। 'कोही युवती बढी शर्म मान्ने किसिमको छ भने शर्ममानी, काममा ढिलो गर्नेलाई मानरानी र राम्री युवतीलाई छ्यामारानी भन्छौं', उनले भने 'जो दयालु र मायालु छ, उनलाई दयारानी भन्छौं।'
तस्वीर - मीनु तामाङ