PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सरकार चौतर्फी रुपमा असफल : कमल थापा



पहिलोपोस्ट

सरकार चौतर्फी रुपमा असफल : कमल थापा

नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको विश्वासमाथि तुसारापात भएको बताएका छन्। परिवर्तनपछि देशले काँचुली फेर्छ भन्नेमा विश्वस्त रहेका जनतामा तुसारापात भएको भन्दै उनले यसमा सबै जिम्मेवार रहेको बताए। 

प्रधानमन्त्री केपी शर्माको कडा आलोचना गर्दै थापाले सरकार चौतर्फी रुपमा असफल भएको दावी गरे। नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा थापाले भने, 'हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुक्नुभयो।' 

थापाले खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा, निर्मला पन्त हत्या प्रकरण, ३३ किलो सुन प्रकरण लगायतका विषय उठाउँदै दुई तिहाइको सरकारले कुनै ठोस कदम चाल्न नसकेको बताए। 'सरकार चौतर्फी असफल भएको पुष्टि भइसकेको छ,' थापाले भने।
 
अध्यक्ष थापाले विगतका त्रुटि र कमजोरीलाई सच्याएर अघि बढ्ने उद्घोष गरे। 'राप्रपा चुप लाग्यो भने हिन्दुराष्ट्र र राजसंस्था सदाका लागि समाप्त हुने भएकोले जनताका घरदैलोमा पुगेर संगठन विस्तार गर्दै राप्रपातिर आकर्षित जनमतलाई भोटमा रुपान्तरण गर्न पार्टी दृढ भएर अगाडि बढिसकेको छ,' थापाले भने। 

उनले राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व अझ बढेर गएको दावीसमेत गरे। विगतको चुनावमा एजेण्डाको कारण पार्टीको पराजय नभएको भन्दै तत्कालीन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्य त्रुटिपूर्ण रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell