
काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार नौ खेल जित्दै उपाधि जित्ने लक्ष्यलाई बलियो बनाएको छ।
विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि मंगलवार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ३-१ ले हरायो। मनाङलाई शतप्रतिशत नतिजा दिलाउन च्यासल विरुद्ध विदेशी खेलाडीले दुई गोल गर्दा एक गोलमा सहयोग पनि विदेशीकै रह्यो।
जितपछि ९ खेलबाट २७ अंक जोडेको मनाङले दोस्रो स्थानको संकटामाथि ३ अंकको स्पष्ट अग्रता बनाएको छ।
एन्फा कम्प्लेक्समा भएको खेलको १६औँ मिनेटमा अफिन ओलावाको पासमा अडेलाजा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा हेमन गुरुङले मैदानमो मध्यभाग नजिकैबाट उपलब्ध गराएको पासलाई ओलावालेले च्यासलका तीन खेलाडीलाई छलाउँदै एकल प्रयासमा गोल गरे।
८८औँ मिनेटमा भिक्टोरले उपलब्ध गराएको पासमा वैकल्पिक खेलाडी विमल रानाले गोलकिपर बिट भइसकेको अवस्थामा मनाङका लागि तेस्रो गोल गरे। च्यासलका लागि इन्जुरी टाइममा कप्तान देवेन्द्र तामाङले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए।
सिजनको चौथो हारपछि च्यासल ९ खेलबाट १३ अंकसहित सातौँ स्थानमा यथावत छ।
लिग अन्तर्गत नवौँ चरणको अन्तिम खेलहरु बुधवार हुदैछ। बुधवार पहिलो खेलमा नेपाल पुलिसले ब्रिगेड ब्वाइजसँग खेल्नेछ भने तेस् स्थानको थ्री स्टार र चौथो स्थानको आर्मीबीच दोस्रो खेल हुनेछ।