काठमाडौँ : गत सिजनको उपविजेता भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ।
बुधवार भएको एलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायर्समा स्थान पक्का गरेको हो। भैरहवाले अब फाइनल प्रवेशका लागि बिहीवार काठमाडौँ किंग्स ११ सँग खेल्नेछ।
सातौँ नम्वरमा ब्याटिङ गरेका युवा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
१४.२ ओभरमा ९१-६ को अवस्थामा रहेको भैरहवालाई जितसम्म पुर्याउन कुशल र रोहित कुमारले सातौँ विकेटका लागि अर्धशतकिय साझेदारी गरे। कुशलले नटआउट २७ रन रोहितले नटआउट २४ रन बनाए।
१४० रनको लक्ष्य पछ्याएको भैरहवाको सुरुवात राम्रो हुन सकेन। ओपनर मोहम्म नाभिद ४, रवी इन्दर सिंह ४ र राएन टेन डेसकाटे शुन्यमा आउट भएपछि भैरहवा ४.१ ओभरमा २०-३ को स्थितीमा पुगेको थियो। भैरहवाको इनिङ्स उकासन ओपनर प्रदिप ऐरीले कप्तान शरद भेषाकरसँग चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे। प्रदिपदे ३८ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए। २७ बल खेलेका शरदले ३ चौका प्रहार गर्दै २९ रन जोडे।
त्यसपछि आरिफ शेखलाई चितवनका कप्तान पृथु बास्कोटाचले ६ रनमा रनआउट गरेपछि भैरहवा दबाबमा परेको थियो। तर रोहित कुमार पौडेल र कुशल मल्लले सातौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै भैरहवालाई क्वालिफायर्समा पुर्याए। कुशलले १३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। १४ बल खेलेका रोहितले २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २४ रन जोडे।
बलिङमा चितवनका कमल सिंह ऐरीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले दीपेन्द्र सिंहको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो।
दिपेन्द्रले ४५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए। यस्तै ओपनर पउल स्ट्रलिङ र जोन सिम्पसनले समान १४ तथा कमल सिंह ऐरीले १३ रन जोडे।
बलिङमा भैरहवाका मोहम्मद नाभिदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। यस्तै अभिनास बोहराले ४ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए।