
काठमाडौँ : जर्ज प्रिन्स कार्कीले इन्जुरी टाइममा गोल गरेपछि त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारसँग अंक खोस्न सफल भएको छ।
लिग अन्तर्गत बुधवार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारसँग १-१ को बराबरी खेल्दै एक अंक जोड्न सफल भएको हो।
एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निर्धारित समयमा थ्री स्टारले १-० को अग्रता लिएको थियो। तर थप गरिएको इन्जुरी टाइमको अन्तिममा आर्मीले फ्रिकिक पायो र त्यसमा जर्ज प्रिन्सले गोल गर्दै खेल बराबरी गरे।
त्यसअघि निराजन खड्काले अजयी मार्टिन्सको पासमा ७०औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए।
आर्मीसँग अंक बाँड्नु परेपछि थ्री स्टारले दोस्रो शीर्ष स्थानको मनाङसँग अंकदूरी कम पार्ने अवसर गुमाएको छ। यस्तै थ्री स्टार दोस्रो स्थानको संकटा भन्दा पनि २ अंकले पछि छ। समान ९ खेल खेलेपछि मनाङ शतप्रतिशत नतिजासहित २७ अंकका साथ शीर्ष स्थानमा छ भने २४ अंक जोडेको संकटा दोस्रो स्थानमा छ।
सिजनको पहिलो बराबरीपछि ९ खेलबाट २२ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमै यथावत छ। यस्तै यस सिजन तेस्रो बराबरी खेलेको आर्मी १८ अंकसहित चौथो स्थानमा छ।