काठमाडौं : दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री सुरक्षा पन्त, वर्षा राउत फिचर्ड छन्। ट्रेलरले फिल्मको मुख्य कथा गाईपालनलाई देखाउन खोजेको छ।
फिल्ममा एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्ष कथा समेटिएको बताइएको छ।
निर्माण टिमले यसअघि फिल्मको एक गीत सार्वजनिक गरेको थियो। फिल्म माघ १८ मा प्रदर्शनमा आउनेछ।
अभिनयका पक्षबाट सुरक्षाको अहिलेसम्मकै राम्रो फिल्म 'गोपी' हुन सक्ने निर्देशक लामाको ठम्याइ छ।
फिल्म छायाँकनमा जानुअघि वर्षा सिवाकोटी र खगेन्द्र लामिछानेले फिल्म छोडेका थिए। तर सुरुदेखि नै सुरक्षाले 'गोपी' टिमलाई साथ दिइन्।पछि मात्र फिल्ममा वर्षा राउत अनुबन्धित भएकी हुन्।
निर्देशक लामाले फिल्मलाई छोट्याएर ट्रेलर बनाउन गाह्रो रहेको बताए। भने ‘२ घण्टा २० मिनेटको फिल्मबाट ३ मिनेटको ट्रेलर तयार गर्न गाह्रो हो।'
दीपेन्द्रको दाबी छ, ' एरफोन जोडेर तपाइले ट्रेलर हेर्नुभयो भने थ्री डी साउण्ड सुनिन्छ। नेपाली फिल्ममा यो पहिलोपटक हो।'
फिल्ममा दीपेन्द्रको ‘घामपानी’बाट चर्चामा आएका अंकित खड्काको मुख्य अभिनय छ। आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको 'गोपी'का कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत छ।