
काठमाडौँ : पुष तेस्रो साता लन्च गर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान एलबी क्षेत्रीको संस्मराणात्मक पुरस्तको कभर आज सार्वजनिक गरिएको छ।
यसअघि ओलम्पियन शिर्षकमा सुरेन्द्र हमालकोको पुस्तक निकालिसकेको क्रियटिभ बुक्सले खेलकुद विधामै अर्को पुस्तक क्रिकेटरको प्रकाशन गर्न लागेको हो।
नेपालको पहिलो राष्ट्रिय टिमको उपकप्तान एलबी क्षेत्रीको बारेमा ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तक आउन लागेको हो। क्रिएटिभ बुक्सको यो पाँचौ प्रकाशन समेत हो।
नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा उपकप्तान रहेका क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए।
क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले ‘एलबी क्षेत्री : कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताएका छन्। पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्रिकेटर क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन्।
क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित सुरुवात, विकास र बिस्तारको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो।
नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहको बेला पुरुष टिमले पछिल्लो दुई वर्ष उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक वानडे इन्टरनेशनल स्ट्याटसको मान्यता पाएको अवस्थामा पुर्व कप्तान एवं क्यानका पुर्व सदस्य एलबी क्षेत्रीको आत्मसंस्मरण आउन लागेको हो।
‘यसले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौं’ अध्यक्ष ठकुरीले भने ‘यस पुस्तकमा एलबी क्षेत्रीले क्रिकेट करिअर सुरुवाती गर्दादेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको संघर्ष र सफलताको कथा छ।’
भारतको कोलकातामा क्रिकेट सिकेर कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका क्षेत्रीले जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिता खेले भने सक्रिय खेलजीवनपछि क्यानको केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्षको जिम्मेवारी लामो समय क्रिकेटको आधिकारिक जिम्मेवारीबाट बाहिर रहेपनि क्षेत्री अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फबाट सदस्यका हैसियतमा छन्।
कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमति, एक छोरा र छोरीका साथ बिभिन्न सामाजिक कार्यमा पनि संलग्न छन्।
क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोनल खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ बाट प्रकाशन यात्रा थालेको हो। ठकुरीले पछिल्लो समय खेलकुदसम्बन्धि पुस्तकमा बढ्ता जोड दिइएको र अझै धेरै पुरस्तक प्रकाशन गर्ने बताए। ‘नेपाली खेलकुद अभिलेखीकरणमा निकै कमजोर छ, यसलाई पुरा गर्ने अभियानमा हामी लागेका छौं। खेलसम्बन्धि दर्जन पुस्तकको तयारी अघि बढिरहेको छ, यद्यपी नेपाली साहित्यका पुस्तकको पनि काम गरिरहेका छौं।’