PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

विद्युतीय शवदाह गृहमा पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि



रासस

विद्युतीय शवदाह गृहमा पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। 

डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिइन्। “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, गिरीले भनिन्। 

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ। उनको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए। 

विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बनेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उनका परिवारले मानेको थिएन। मङ्गलबार बिहान ९३ वर्षको उमेरमा गिरीको निधन भएको हो। महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए। नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय भएका थिए। 

विद्युतीयमा नौ हजार शव जलाइए 
विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिनुभएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको थियो। विद्युतीय शवदाह गृहमा हालसम्म नौ हजार २५१ को शव जलाइएको कोषका प्रशासकीय अधिकृत कुमार थापा मगरले जानकारी दिए। 

विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आएको हो। तीन वटा चेम्बर भए पनि हाल दुई वटामात्र चलिरहेको कोषले जनाएको छ। दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ। अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया शुरु भएको छ। 

विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको छ। विद्युतीय यन्त्रबाट एक घण्टामै दाह संस्कार सकिन्छ। दाउराबाट संस्कार गर्दा चार घण्टा लाग्छ। विद्युतीय शवदाह गृह वातावरणमैत्री हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell