PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फिफा क्लब विश्वकप : गारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फाइनलमा, उपाधिका लागि युएईको अल अइनसँग खेल्ने



पहिलोपोस्ट

फिफा क्लब विश्वकप : गारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फाइनलमा, उपाधिका लागि युएईको अल अइनसँग खेल्ने

गारेथ बेलले ह्याट्रिक गरेपछि जे लिग क्लब कसिमा एन्टलर्सलाई ३-१ ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग विजेता स्पानिस क्लब रियल मड्रिड युएईमा भइरहेको फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

कसिम एन्टलर्स एसियन च्याम्पियनको हैसियतमा प्रतियोगिता खेलेको थियो। दुई वर्षअघि फाइनलमा एन्टलर्सले रियललाई कडा टक्कर दिएपनि उपाधि जित्न सकेको थिएन।

क्लब विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका बेलले ४४औँ, ५३औँ र ५५औँ मिनेटमा गोल गरे। कसिमाका लागि ७८औँ मिनेटमा शोमा दोइले एक गोल फर्काए।

रियलले अब उपाधिका लागि युएईको अल अइनसँग खेल्नेछ। आयोजक राष्ट्र युएईको च्याम्पियनको हैसियतमा क्लब विश्वकप खेलिरहेको अल अइनले सेमिफाइनलमा कोपा लिबरटाडोरसको च्याम्पियन रिभर प्लेटलाई पेनाल्टीसुटआउटमा स्तब्ध बनाएको थियो।

युएईको जायद स्पोर्ट्स सिटी स्टेडियममा शनिवार हुने फाइनलमा रियल लगातार तेस्रो पटक उपाधि जित्ने दाउमा छ।

उता पहिलो चरणमा ओसियन च्याम्पियन टिम वेलिङगटनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको अल अइनले दोस्रो चरणमा अफ्रिकन च्याम्पियन स्पेरान्से डे टुनिसलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। रिभर प्लेटलाई पनि पेनाल्टीसुटआउटमा हराएपछि अल अइन अर्को अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell