PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वाइडबडी छानविन : गभर्नर र अर्थ सचिवसँग छलफल पछिमात्र कारबाहीका लागि सिफारिस गरिने



बीपी साह

वाइडबडी छानविन : गभर्नर र अर्थ सचिवसँग छलफल पछिमात्र कारबाहीका लागि सिफारिस गरिने

काठमाडौं: नेपाल वायु सेवा निगमको वाइड बडी खरिद प्रकरण बारे छानविन गरिरहेको सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गर्ने भएको छ।

छानविनका लागि लेखा समितिले गठन गरेको उपसमितिले भोलिबाट प्रतिवेदन लेखन कार्य थाल्दैछ।

छानविनका क्रममा सरोकारवालाहरुसँग छलफल गरेको उपसमितिले भोलि राष्ट्र बैंकका गर्भनर डा चिरिञ्जिवि नेपाल र अर्थ सचिव डा राजन खनालसँगको छलफलपछि प्रतिवेदन लेखन कार्य सुरु गर्नेछ।

‘भोलि गभर्नर र अर्थ सचिवसँग अन्तिम छलफल हुनेछ। त्यसपछि प्रतिवेदन लेखनको कार्य सुरु हुनेछ,' उपसमितिका संयोजक राजन केसीले पहिलोपोस्टसँग भने, 'सरोकारवाला विभिन्नि निकायसँग छलफल भइसकेको छ।’

महालेखाको प्रतिवेदनकै आधारमा छानविन अगाडि बढेको बताउँदै संयोजक केसीले भने,‘बदमासी भएकै हो। अब के–कस्तो कारवाही गर्ने भन्ने विषयमा हामी अन्तिम निर्णयमा पुगेर निर्देशन गर्ने छौं।’

समितिका एक सदस्यका अनुसार वाइड बडी भ्रष्टाचारमा संलग्नहरुलाई सरकारले नै जोगाउन खोजेकोले समितिले प्रमाणसहित कारवाहीका लागि निर्देशन दिने तयारी गर्दैछ।

‘हामीले निर्देशन दिँदा प्रमाणसहित एक चरणको कार्य सम्पन्न गरेर दिन्छौं। ताकी सरकार पछि हट्न नपरोस्। होइन भने वाइड बडी खरिदमा दोषीलाई कारवाही गर्नबाट सरकार पछि हट्न सक्छ,’ उनले भने।

उपसमितिकी सदस्य चन्दा चौधरीले शुक्रवार गभर्नर र अर्थ सचिवसँग रकम हतान्तरणका विषयमा छलफल हुने बताइन्। सम्झौता भएको कम्पनीलाई पैसा नदिएर अर्को कम्पनीलाई पैसा दिइएको विषय शंकास्पद रहेको बताउँदै उनले यस विषयमा छलफल हुने उल्लेख गरिन्।

सांसद चौधरीले छानविन लगभग पुरा भइसकेको बताइन्।

मंसिर २६ गतेको सार्वजनिक लेखा समितिको बैठकले वाइड बडी छानविनका लागि उपसमिति गठन गरेको थियो। १५ दिनको म्याद पाएको उपसमितिको समय ११ गते बुधवार सकिदैछ। कांग्रेस सांसद राजन केसी संयोजक रहेको उपसमितिमा प्रेम आले, मीना घर्ती, धर्मशीला चापागाईं, कृष्णलाल महर्जन, प्रदीप यादव र चन्दा चौधरी सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell