PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

फूर्सदिला बन्दै कर्णालीका मन्त्री र सांसद् : पसल उद्घाटनदेखि सहकारीको कार्यक्रममा पुगेर कटाउँछन् दिन



पी बी खड्का

फूर्सदिला बन्दै कर्णालीका मन्त्री र सांसद् : पसल उद्घाटनदेखि सहकारीको कार्यक्रममा पुगेर कटाउँछन् दिन

सुर्खेत: कर्णाली प्रदेशका मन्त्रीहरु यत्तिबेला फूर्सदिला बनेका छन्। पछिल्लो समय विषयगत सबै मन्त्रीहरु औपचारिक कार्यक्रममा लस्कर लागेर जान्छन्। प्रदेशको राजधानीमा हुने दैनिक कार्यक्रम र अन्य जिल्लाका औपचारीक कार्यक्रमसमेत छुटाउँदैनन् अधिकांश मन्त्री।

 

लाखौँ रकम खर्चेरसमेत कार्यक्रम उद्घाटनमा निस्कन्छन् मन्त्री। मन्त्री र सांसदलाई दैनिक २/४ वटा कार्यक्रमको अतिथि बनेर भाषण गर्न भ्याई नभ्याई हुन्छ।

 

राजधानीमा हुने पसल उद्घाटन, सहकारीको साधारण सभा, सामुदायिक तथा नीजि विद्यालयको वार्षिक उत्सव, क्लबका कार्यक्रम, एनजीओ तथा आईएनजीओमार्फत आयोजित अन्तरक्रिया, छलफललगायत साना तथा ठुला औपचारीक कार्यक्रमको उद्घाटन गर्नमै तल्लिन छन् मन्त्रीहरु।

प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था हेर्ने हो पूँजीगततर्फको बजेट शुन्य छ। समृद्ध प्रदेशको परिकल्पना गरेका कर्णालीका मन्त्रीहरु बजेट र योजना कार्यान्वयनको कुनै चरणमा छैनन्।

 

प्रदेशको कानुन निर्माणको गति सुस्ताएको बेला प्रदेश हाँक्ने मन्त्री कार्यक्रममा रिबन काट्ने र पानसमा बत्ती बाल्दै ठिक्क छन्। अझ त्यत्तिमात्रै नभएर फूर्सदिला बनेका मन्त्री र सांसदहरु पसल उद्घाटनमासमेत गएर भाषण लगाउन पछि पर्दैनन्।

 

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरु कार्यक्रममा गएर रिबन काट्नुभन्दा पनि प्रदेशको समृद्धि कसरी गराउने भन्नेतर्फ लाग्नुपर्छ भन्दै सबै मन्त्रीसामु भनाई राखेका थिए। तर, मुख्यमन्त्री आफै कार्यक्रममा रिबन काट्न व्यस्त हुन्छन्।

 

पसल उद्घाटनमा मन्त्री र सांसद

सोमवारमात्रै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले वीरेन्द्रनगरमा सञ्चालनमा आएको जुत्ता चप्पल पसलको उद्घाटन गरे।

वीरेन्द्रनगरस्थित जुम्ला रोडमा सञ्चालनमा आएको रारा छाप जुत्ता चप्पल उद्योगको उद्घाटन गर्दै प्रदेशको विकास र समृद्धिमा सघाउने दावी गरे। उद्घाटनमा मन्त्री मात्रै नभएर सांसदहरुको समेत लस्कर थियो। प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गोपाल शर्मा, पूर्वसांसद नरबहादुर विष्ट लगायतको सहभागिता थियो।

 

असम्बन्धित कार्यक्रममा सहभागिता


प्रदेशमा हुने विभिन्न कार्यक्रममा विषयगत मन्त्रालयसँग सम्बन्ध नभएका कार्यक्रममासमेत मन्त्रीहरु सहभागी बन्दै आएका छन्। केही साताअघि मात्र वीरेन्द्रनगरमा आयोजित नेपाल तेक्वान्दो संघको आयोजनामा ९ औँ राष्ट्रिय रेफ्री प्रशिक्षण कार्यक्रम भयो। कार्यक्रमको उद्घाटन गर्न भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी पुगिन्।

त्यस्तै, दुई दिन अघि मात्र नेपाल राष्ट्र बैंकले अर्थसंग सम्बन्धित एउटा कार्यक्रमको आयोजना गर्‍यो। सोही कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादर खत्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको सहभागिता रह्यो। भौतिक र उद्योग मन्त्रीको आसन ग्रहण लगत्तै कार्यक्रमसँग सम्बन्धित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पुगे। अर्थ मन्त्री ज्वाला पुगेलगत्तै भौतिक र उद्योग मन्त्री आफ्नो विषयसँग सम्बन्धित नभएको भन्दै बाहिरिए।

 

एउटै कार्यक्रममा मन्त्रीको लस्कर


त्यस्तै, सोमवार नै राष्ट्रिय मानव अधिकार आयोगले प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो। ‘७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस र पेरिस सिद्धान्तको २५ औँ वर्ष गाँठ’ को अवसरमा मौलिक हकको कार्यान्वयनमा प्रादेशिक संसदको भूमिका विषय कार्यशाला गोष्ठीको आयोजना गरेको थियो।

विदेशी दाताको आयोजनामा गरिएको उक्त कार्यक्रममा मुख्यमन्त्रीदेखि पाँच मन्त्रीको उपस्थित थियो भने अधिकांश सांसदको सहभागिता थियो।

त्यस्तै, विहिवार मात्रै यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले लाइसेन्स नविकरण प्रारम्भ कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री सहभागी हुने भनिए पनि उपस्थित भएनन्। यद्यपि अन्य चार जना मन्त्रीको लस्कर लागेको थियो।

विषगगत सम्बन्धित भौतिक पूर्वाधार विकास मन्त्री जानुपर्ने कार्यक्रममा अन्य तीन मन्त्री सहभागी बने। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहित भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीसमेत सहभागी बनेका थिए।

 

लाखौँ खर्चेर पुग्छन् उद्घाटनमा

प्रदेशका मन्त्रीहरु विभिन्न जिल्लामा हुने मेला, महोत्सव र सहकारीको कार्यक्रममा समेत पुग्छन्। उनीहरु एक पटक ओहोर दोहोर गर्दा लाखौँ रकम खर्चिदैँ आएका छन्। गाउँघरमा हुने सहकारीका कार्यक्रम, विद्यालयका कार्यक्रम लगाएतमा सहभागी हुन मुख्यमन्त्री र मन्त्री नै विभिन्न जिल्लामा हुने मेला महोत्सवको उद्घाटन गर्न पुग्ने गर्छन्।

केही महिना अघि मात्रै कालिकोटमा भएको एक महोत्सवमा हेलिकोप्टर चार्टर गरेर मन्त्रीको लावालस्कर लागेर मुख्यमन्त्रीको गृह जिल्ला पुगेका थिए। असोज १ गते कालिकोटको नरहरीनाथ गाउँपालिकाको मेला उद्घाटन गर्न करिव ६ लाख रुपैँयामा हेलिकोप्टर चार्टर गरेर आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसहित मुख्यमन्त्री पुगेका थिए।

सरकारकै बजेट खर्चेर अधिकांश मन्त्री आफ्नो गृहजिल्लाका कार्यक्रम र सांसदका गृहजिल्ला कार्यक्रममा मन्त्रीहरु सहभागी हुने गरेका छन्।

 

सहकारीमा  र विद्यालयमा व्यस्त मन्त्री

सहकारीका कार्यक्रममा अत्यन्तै व्यस्त मन्त्री हुन् भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी। सहकारीका साधारण सभा कार्यक्रम प्रायजसो मन्त्री केसी छुटाउँदिनन्। उनी प्रदेशस्थित सुर्खेत र गृहजिल्ला रुकुमका अधिकांश सबै सहकारीका कार्यक्रममा सहभागी बन्छिन्।

त्यस्तै, सामाजिक विकास मन्त्री दल रावल पनि राजधानीमा हुने अधिकांश विद्यालयका कार्यक्रममा सहभागी बन्दै आएका छन्। राजधानीमा हुने अधिकांश सामुदायिक विद्यालय र नीजि विद्यालयको कार्यक्रम उनी छुटाउँदैनन्। सम्बन्धित मन्त्रालयगत पर्ने हुँदा यी मन्त्रीहरु बढी व्यस्त छन्।

 

पालिकाका जनप्रतिनिधि ओझेलमा

प्रदेश सरकारका पदाधिकारीले स्थानीय तहका जनप्रतिनिधि ओझेलमा परेका छन्। निर्वाचित भएर आएको समयमा निकै लोकप्रिय बनेका जनप्रतिनिधि यतिबेला यदाकदा औपचारिक कार्यक्रममा देखिन्छन्।

जिल्ला समन्वय समितिका संयोजक, सह–संयोजक, नगरका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष अधिकांश कार्यक्रममा प्रमुख अतिथिको सिट आशन ग्रहण गर्नै पाउँदैनन्। स्थानीय तहमा हुने कार्यक्रममा समेत प्रदेशका मन्त्री र सांसदको लर्कोले उनीहरु ओझेलमा परेका छन्। 

 

बाध्यताले जानुपर्छ : मन्त्री केसी

यता, प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आफुहरु कार्यक्रममा जान बाध्य भएको बताइन्। ‘कार्यक्रममा अनिवार्य उपस्थितीका लागि बोलाउनु हुन्छ। नजाने हो आयोजकले गुनासो गर्नुहुन्छ। ठुलो बन्यो भन्ने हुन्छ,’ उनले भनिन्,‘जाने हो यता आलोचाना खेप्नु पर्छ। हामीले पनि के गर्ने बाध्यता हुन्छ।’ 

कार्यक्रममै गएर सरकारको कामलाई कुनै असर नपारेको उनले दावी गरिन्। मन्त्री नभएरै सेवाग्राहीको काम नरोक्न समेत कार्यालयमा कर्मचारीलाई निर्देशन गरेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell