काठमाडौँ : दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ।
आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ। प्रतियोगितामा छ देखि आठ टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीको नामावली केहीदिनभित्रै सार्वजनिक गर्ने क्लबले जनाएको छ।
प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख र उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १५ हजार प्राप्त गर्नेछ। व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच-पाँच हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको कूल बजेट करीब २३ लाख रहेको छ।