PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्थायी कमिटीमा मातृका यादवको गुनासोः यो ९ महिनामा मातृका नै भ्रष्टाचारी हो भनेजस्तै भयो, सरकारको बचाउमा रिमाल



विधुर ढकाल

स्थायी कमिटीमा मातृका यादवको गुनासोः यो ९ महिनामा मातृका नै भ्रष्टाचारी हो भनेजस्तै भयो, सरकारको बचाउमा रिमाल

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक पाँच दिनदेखि धुम्बाराहीमा जारी छ। बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेस गरेको फरक प्रस्तावमाथि आफ्नो विचार राख्ने क्रम जारी छ। आजको बैठकमा ८ जना सदस्यले आफ्नो मत राखेका छन्। 

आज मत राख्नेहरुले सरकारको केही बचाउ गरेका छन्। बैठकमा बोल्दै वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले सरकारको बचाउ गर्दै पार्टी पंक्तिवाट सरकारलाई सहयोग नभएको बताएका थिए। 

उनले स्थायी कमिटी बैठकमा आफूमाथि सार्वजनिक रुपमा भ्रष्टाचारको आरोप लागेकोप्रति पनि इंगित गर्दै बोलेका थिए। ‘यो नौ महिनामा मातृका यादव पनि भ्रष्टाचार हो भन्ने सन्देश गएको छ। यो मेरो जीवनमै पहिलो पटक भएको छ,’ उनको भनाई उदृत गर्दै एक सदस्यले भने, ‘अहिले सरकारले केही गरेको छैन जस्तो भएको छ। हुन त सरकार दुई तिहाईको हो। तर, सबैलाई २५ जना मन्त्रीको हो भन्ने मात्रै लागेको छ।’
 
उनले पार्टी पंक्तिले सरकारको बचाउ नगरेको गुनासो गरेका थिए। ‘प्रचण्ड कामरेडले मात्रै कहिलेकाही समर्थन गर्नुहुन्छ। अरु कसैले सरकारको पक्षमा बोलेको सुनिदैन। पार्टीले नै समर्थन नगरे जनताले समर्थन कसरी गर्छन्?’ 

उनले बैठकमै पार्टी अध्यक्ष प्रचण्डको प्रशंसा गर्न भ्याए। ‘अध्यक्ष (प्रचण्ड)कामरेड निकै उदार हुनुहुन्छ। आफ्ना विरोधीलाई पनि अवसर दिनुहुन्छ,’ उनले भनेका थिए। कुनै बेला प्रचण्डका कट्टर आलोचक रहेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको र पार्टी एकता गराएको प्रति उनले इंगित गरेका थिए। 

आजको बैठकमा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पनि सरकारको बचाउ गरेका थिए। उनले सरकारले राम्रो काम गर्दासमेत त्यसको उच्चारण नहुने गरेको भन्दै दुःख व्यक्त गरे। 

संक्रमणकाल हो, खराब पनि हुन सक्छन तिनलाई निकाल्न हुन्नः रिमाल

यसैबीच अर्का सदस्य विष्णु रिमालले पनि बैठकमा सरकारको बचाउ गरेका छन्। उनले संक्रमणकालको वेला नराम्रो भए पनि त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताएका थिए। ‘अहिले नेतृत्वको आलोचना गर्नु आवश्यक छैन,’ उनले भने। 

बैठकमा नेतृत्वको चर्को आलोचना भइरहँदा त्यस्तो आलोचना आवश्यक नभएको समेत बताएका थिए। रिमाल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत हुन्।
 
‘यो बेला राम्रा र योग्यहरु बाहिर हुन सक्छन्। नराम्राहरुलाई निकाल्नुपर्छ भन्ने होइन। संक्रमणकालमा यस्तो हुन्छ,’ रिजालको भनाईलाई उदृत गर्दै एक नेताले भने, ‘उहाँले सरकारको बचाउ गर्दै आलोचना गर्नेहरुको विरोध गर्नुभयो।’ 

बैठकमा रिमालले अहिलेसम्म सरकारको आलोचना गर्नेहरुको नाम किटेरै जवाफ दिएका थिए। ‘उहाँले बैठकमा पेश भएको प्रतिवेदन प्रति टिप्पर्णी गरेनन् बरु टिप्पर्णी गर्नेहरुको टिप्पर्णी गर्नुभयो,’ ती नेताले पहिलो पोस्टलाई भने।
 
‘सरकारले काम गरिरहेको छ। राम्रो काम गर्दागर्दै पनि चौतर्फी सरकार आक्रमणमा परेका बेला सरकार पार्टीका नेताहरुले नै सरकारलाई घेर्नेहरु बढी भए। यसले हामीलाई नै घाटा पर्छ,’ उनले भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell