
काठमाडौँ : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ।
बुधबार त्रिभुवन आर्मी क्लब र थ्री स्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ। यसअघि उपाधि होडमा रहेको थ्री स्टारलाई उक्त बराबरीले धक्का लागेको हो। नवौँ चरणपछि थ्री स्टार भन्दा मनाङ ५ अंकले अगाडि छ।
लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ। मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क छ। लिगमा अब सबै क्लबले चार-चार खेल मात्र खेल्न बाँकी छ। अब चार मध्ये आफ्नो तीन खेल जितेमा मनाङले अन्य क्लबको जस्तो नतिजा आएपछि उपाधि जित्नेछ।
मनाङले अब दशौँ चरणमा नेपाल पुलिस, ११औँ चरणमा सङ्कटा, १२औँ चरणमा हिमालयन शेर्पा र १३औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ। सङ्कटाले १०औँ चरणमा ब्रिगेड ब्वाइज, ११औँ चरणमा मनाङ मर्स्याङ्दी, १२औँ चरणमा थ्री स्टार र १३औँ चरणमा सशस्त्र प्रहरीको एपीएफसँग खेल्नेछ।
मनाङ र संकटाबीच खेल ११औँ चरणको खेल लिग उपाधिका लागि निर्णायक बन्नेछ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिएका छन्। 'हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ।'
नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्ककासाथ थ्री स्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन्।
यसैगरी १३ अङ्कका साथ एपीएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन्।
लिगको कूल ९१ खेलमध्ये दुईतिहाई खेल सकिसकेको छ। हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन्।
मछिन्द्र र एनरआरटी अझै जितविहीन
नवौँ चरणको खेल सकिँदासम्म मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) अझै जितविहीन छन्। मछिन्द्रले नौमध्ये छ खेलमा पराजित हुँदा तीन वटा बराबरी गरेको छ भने एनआरटीले आठ खेलमामा पराजय बेहोर्दा एउटा खेलमा मात्र बराबरी गर्न सकेको छ तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ। तालिकाको अन्तिममा रहे पनि उनीहरू बि डिभिजनमा घटुवा हुने छैनन्।
गत असोज १३ गतेदेखि शुरु भएको लिग यही पुस १७ गते सकिनेछ। लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन्। यस्तै च्याम्पियनले एएफसी कप खेल्न पाउनेछ।
लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन्। फेयर प्ले टिमले एक लाख पाउने छन्।