
काठमाडौँ : संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद पछि उनले राजीनामा दिएका हुन्। उनले राजीनामा दिँदै आफ्नो विचार राष्ट्रपति ट्रम्पसँग मेल नखाएका कारण राजीनामा दिएको बताएको सीएनएनले जनाएको छ।
उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवा निवृत्त हुन लागेको घोषणा गरेका छन्।
उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन्। उनले ट्विटरमा भनेका छन्, ‘जनरल मयाटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न मलाई धेरै नै सहयोग गरे।’
आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन्।
उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको ब्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन्।
बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस अमेरिकी सेनासँग पराजित भएको भन्दै सिरियाबाट अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए। तर, उनको घोषणा लगत्तै रक्षा मन्त्री म्याटिसले राष्ट्रपतिको निर्णयको आलोचना गरेका थिए। सिरियाबाट सैनिक फर्काउने अमेरिकी कदम रणनीतिक भूल हुने उनले बताएका थिए।
म्याटिसले राष्ट्रपति ट्रम्सँग ओभल अफिसमा वान अन वान वार्ता गरेका थिए। वार्तामा उनले आफूले पद खाली गर्न लागेको भन्दै राजीनामापत्र बुझाएको समाचारमा उल्लेख छ। ‘यहाँ केही विषयमा मतभिन्नता देखिए,’ उच्च अधिकारीले भनेका छन्।
ट्रम्प प्रशासनबाट बाहिरिने म्याटिस पछिल्ला उच्च अधिकारी हुन्। यसअघि उनका महान्यायाधिवक्ता जेफ सेसनले पनि राजीनामा दिएका थिए। त्यस्तै उनका विदेश मन्त्री रेक्स ट्रिलिन्सनलाई गत मार्चमा पदबाट हटाइएको थियो भने राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर एमसी मास्टरलाई पनि परिवर्तन गरिएको थियो।